आइतबार, वैशाख २३, २०८१

माता सीताको जन्मभूमि : भारत नेपाल बिचको नयाँ विवाद

नेपालखोज २०८० असार ५ गते १३:१०

काठमाडौं । रामायणमा आधारित चलचित्र ‘आदिपुरुष’ रिलिज भए पछि भारत र नेपालबिच एउटा नयाँ विवाद खडा भएको छ । यो चलचित्रको संवादलाई लिएर भारतमा हङ्गामा मच्चिएको छ भने नेपालमा अन्य कारणले नै आक्रोश छ । चलचित्रमा माता सीतालाई भारतकी छोरीका रूपमा चित्रण गरी नेपाली भावनामा चोट पुर्‍याइएको आरोप छ ।

काठमाडौंका मेयर बलेन शाह सहितले यो विषय उठाएका छन् । काठमाडौं महानगरपालिकाले माता सीताजीको जन्मस्थलको सत्य तथ्य नसच्याए सम्म कुनै पनि भारतीय चलचित्र हलमा प्रदर्शन गर्न नदिने निर्णय गर्‍यो भने राष्ट्रवादी देखिन अरूले पनि यो भुग्रोमा आआफ्नो रोटी सेक्ने प्रयास गरिरहेका छन् । यद्यपि यो मामिलामा जनकपुर नगर भने मौन देखियो ।

चलचित्र आदिपुरुषमा माता सीतालाई भारतकी छोरीका रूपमा वर्णन गरिएको छ । यद्यपि माता सीताको जन्मस्थललाई लिएर विभिन्न मान्यताहरू छन्। नेपालले अघि देखिनै माता सीताको जन्मभूमि जनकपुर भएको दाबी गर्दै आएको छ । भारतीय सीमानजिकै रहेको मधेस प्रदेशको राजधानी जनकपुर माता सीताको जन्मस्थल भएको नेपालीहरूको विश्वास छ । वाल्मीकि रामायणमा जनकपुरलाई माता सीताको जन्मस्थल र विवाह स्थलका रूपमा उल्लेख गरिएको छ।

माता सीतालाई नेपालमा नेपालकी छोरी भनिन्छ । योसँगै मानिसहरू अर्को तर्क पनि दिन्छन् । राजा जनक मिथिलाका राजा भएकाले सीताजीलाई मैथिली पनि भनिन्छ । जनकपुरमा मैथिली भाषा बोल्नेहरूको बाहुल्यता रहेको हुनाले सीता यस ठाउँकी छोरी हुन् भन्ने सङ्केत हो । जनकपुरमा माता सीताको नाममा जानकी मन्दिर छ । राजा जनकको सहर भएकाले यहाँ माता सीताको जन्म भएको जनविश्वास छ ।

उता भारतमा सीताको जन्मस्थललाई लिएर फरक-फरक मान्यता छ । त्यहाँ बिहारको सीतामढीलाई  माता सीताको जन्मस्थल मानिन्छ । राजा जनकले सीतामढीको पुनौरा गाउँमा जमिन जोत्दा माता सीतालाई फेला पारेका थिए भन्ने मान्यता छ । हलोको फल जमिनमा गाडिएको बाकससँग ठोक्किए पछि त्यसबाट एउटि नवजात बालिका निस्किइन । हलोको फललाई स्थानीय भाषामा सीता पनि भनिन्छ, त्यसैले ती बालिकाको नाम सीता राखियो ।

वृहद विष्णु पुराण अनुसार माता सीताको जन्म जनकपुरबाट करिब तीन योजन ( ४० किलोमिटर टाढा ) ​​टाठा भएको थियो । नेपालस्थित सीता माताको जन्मस्थल र भारतको कथित जन्मस्थल बिचको दूरी पनि यही हो । यही कारणले भारतले माता सीताको जन्म भारतमा भएको दाबी गर्दै आएको छ । सीतामढीमा जानकी मन्दिर पनि छ । भारतीय दाबी अनुसार जहाँ माता सीता खेतमा भेटिएकी थिइन्, त्यही ठाउँमा उक्त मन्दिर छ ।

फरक फरक मान्यता वाल्मीकि रामायण, थाई रामायण तथा लोककथाहरूमा माता सीताको जन्मस्थलका बारेमा फरक – फरक तथ्य उल्लेख छ। यद्यपि माता सीता राजा जनकले छोरी बनाएर दरबारमा हुर्काइएकी राजकुमारी थिइन र राजा जनकको राज्यको राजधानी जनकपुर थियो भने उनको तत्कालीन राज्यको कतिपय भाग अहिले नेपाल र भारतीय भूभागमा पर्छ ।

नेपाल र भारत दुवै देशमा माता सीता र भगवान् रामप्रति गहिरो आस्था रहँदै आएको छ र यी दुवै देशका मानिसहरू एक अर्का ठाउँमा ठुलो श्रद्धाका साथ तीर्थयात्रा गर्न आउने-जाने गर्दै आएका छन् । रामायण सर्किट यही आस्था र विश्वासका कारण रामायण सर्किटको निर्माण योजनाको चरणमा छ ।

नेपाल र भारतबिचको सांस्कृतिक एवं आध्यात्मिक सम्बन्धलाई मध्यनजर गर्दै अयोध्यालाई नेपालको जनकपुरसँग सीधा जोड्ने रामायण सर्किटको योजना छ । रामायण सर्किटले अयोध्या र जनकपुर बाहेक ती सबै ठाउँलाई समावेश गर्नेछ जहाँ भगवान् राम आफ्नो वनवासका क्रममा पुगेका थिए। यो विषयमा चितवनको ठोरी पनि विवादमा तानिएको थियो जसलाई एकताका तत्कालीन प्रधानमन्त्री केपी ओलीले निकै उचालेका थिए ।

प्रतिक्रिया