सरकारलाई गोकुल बास्कोटाको चेतावनी : मैले कालो झण्डा लिएर उभिनु नपरोस्

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कालो झण्डा लिएर उभिनु नपरोस् भन्दै सरकारलाई चेतावनी दिएका छन् ।
शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमाले सांसद बास्कोटाले चेतावनीको भाषामा विनम्रतापूर्वक सो कुरा बताएका हुन् ।
बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप पनि लगाएका छन् । आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको उदाहरण पेश गर्दै उनले भने, ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन् । १३ नम्बर वडा कहाँ पर्छ ? १४ नम्बर वडा कहाँ पर्छ ? १५ नम्बर वडा कहाँ पर्छ ?’
कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर दिएअनुसार अर्थ मन्त्रालयले बजेट राख्दा यस्तो भएको उनले बताए । ‘कसले दियो त्यो चिर्कटो ?’ अर्थमन्त्री डा. प्रकाशशरण महत र शहरी विकासमन्त्री सीता गुरुङलाई उनले भने, ‘प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?
‘मैले ब्रिफकेस फुटाएको देखेको थिएँ यही सदनमा’, बास्कोटाले भने, ‘म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस् ।’
प्रतिक्रिया