आइतबार, वैशाख २३, २०८१

वैदेशिक रोजगारीले फेरियो म्याग्दीको पुरन्य गाउँ

नेपालखोज २०८० असार ७ गते ८:२७

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ५ पुरन्यको बस्तीमा एक सय तीन घर रहेको दलित बस्तीमा एउटा मात्र पानीको कुवा थियो । टाढा–टाढाका गाउँमा पुगेर दैनिक ज्याला मजदुरी गरी ल्याएको अन्नले बिहानबेलुकीको छाक टार्नुपर्दथ्यो ।

गरिबीको मारमा पिल्सिएका त्यहाँका दलित दैनिक ज्याला मजदुरीका लागि टाढाटाढाका गाउँमा जानुपर्ने बाध्यता थियो । गरिबीबाट वाक्कदिक्क भएर २०६७ सालमा पुरन्यका डिलबहादुर, रिजन, यामबहादुर लगायतका कैयौँ युवा खाडी मुलुक पसे । कतार,साउदी,युएई पसेका ती युवाको मेहनतले सार्थकता पाउन थाल्यो ।

उनीहरुले पैसा कमाएर घरमा रहेका आफन्तलाई पठाउन थाले । अनि फेरियो पुरन्य गाउँको मुहार । घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैँसी र बैंकमा पैसा, अनि सहरमा घर घडेरी केही वर्ष अगाडिसम्म पुरुन्नेका दलित समुदायलाई सपना जस्तै लाग्ने यो अवस्था अहिले उनीहरुले नै भोग्न पाएका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका पुरुन्नेका दलितको दैनिकीमा अहिले पत्याउनै नसकिने किसीमले परिवर्तन आएको छ ।

गाउँबाट धमाधम वैदेशिक रोजगारमा जानेको लर्को लाग्न थालेपछि पुरुन्नेवासीको हातमा मोबाइल, घरमा महँगो टिभी, श्रीमती र सुनको सिक्री, औँठी र सहर बजारमा घरघडेरी समेत छन् । पुरन्यका यामबहादुर दर्जीले दिएको जानकारी अनुसार १०३ घरपरिवार रहेको पुरन्यको दलित बस्तीबाट अहिले एकाध बाहेक सबै घरका युवा विदेशमा गएका छन् ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि छिमेकीको घरमा भाडा, दैनिक मजदुरी गरेर गाँस जुटाउने गरेका यहाँका दलित परिवार घरका उमेर पुगेका भाइ छोरालाई ऋण खोजेर विदेश पठाएको केही वर्षमै गाउँमा आफ्नै घरसहित आधुनिक सुविधा उपभोग गरिरहेका छन् ।

गाउँघरमा ज्याला मजदुरी गरेर दिन बिताउने गरेका यहाँका युवा विदेश गएर धमाधम ‘रेमिट्यान्स’मार्फत पैसा पठाउन थालेपछि पुरुन्नेमा व्यक्तिगत आर्थिक जीवनस्तरका साथै सरसफाइ, जीवनशैली, जनचेतना र अन्य व्यवहारमा समेत परिवर्तन आएको गाउँका अगुवा यामबहादुर दर्जीले बताए ।

पुरुन्नेका अधिकांश घरबाट खाडीमूलुक कतार, साउदी अरब, बराइन, मलेसिया, भारतलगायतका देशमा गएपछि गाउँको रुप फेरिएको छ । आर्थिकस्तरमा परिवर्तन भएसँगै सरसफाइसहित जनचेतनामूलक कार्यमासमेत गाउँले सक्रिय रहेका छन्। पुरुन्नेमा मासिक ३० लाख बढी रेमिट्यान्स बापतको रकम भित्रिने गरेको स्थानीयवासीले बताएका छन् ।

आर्थिकस्तरमा परिवर्तन भएपछि सरसफाइ, नयाँ प्रविधिको प्रयोग, शिक्षादिक्षामासमेत सहज भएको छ । बालबालिकाले समेत निजी तथा गाउँकै सामुदायिक विद्यालयमा समेत उत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् ।

महिलाले गाउँमा फेन्सी, सिलाइकटाइ, खुद्रा पसलसहित विभिन्न स्वरोजगारमूलक काम गरिरहेका छन् । त्यसैगरी केही युवाले वैदेशिक रोजगारबाट कमाएको पैसाले पोखरामा घडेरी किनेर घर समेत बनाएका छन् । तीमध्येका एक युवा हुन् रिजन दर्जी । ४३ वर्षीय दर्जी विगत १३ वर्षदेखि युएईमा कार्यरत हुनुहुन्छ ।

उनले यो अवधिमा दुई छोरी, एक छोरा र श्रीमतीले चाहेको पर्याइदिनुका साथै पोखरामा घडेरी किनेर घर समेत बनाएको बताए ।

प्रतिक्रिया