शनिबार, वैशाख २२, २०८१

मंगल ग्रहको खाल्डोको नाम लाङटाङ

नेपालखोज २०८० असार ७ गते ११:०३

काठमाडौं । वैज्ञानिकहरुले मंगल ग्रहको एक खाल्डोको नाम लाङटाङ राखेका छन् ।

गत वर्षको भूकम्पका कारण लाङटाङ क्षेत्रमा हिमपहिरो गएपछि विदेशी पदयात्रीहरुसहित २०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

अन्तर्राष्ट्रिय खगोलशास्त्र संघ (आइएयु) ले मंगल ग्रहको ९.८ किलोमिटर चौडा एक खाल्डोको नाम लाङटाङ राखेको हो ।

एकजना अनुसन्धानकर्ता जालिङ दे हासले भने, ‘उक्त नेपाली गाउँको स्मृतिमा सो नामाकरण गरिएको हो ।’

अध्ययन

दि नेदरल्याण्ड्सको उल्त्रेख्त विश्वविद्यालयमा मंगलग्रहको भौतिक भूगोलबारे अध्ययन गरिरहेका डा. हासले उनका एकजना साथीले लाङटाङ क्षेत्रमा हिमनदीहरुको अध्ययन गरेकाले आफुले सो खाल्डोको नाम लाङटाङ राखेको बताए ।

‘मेरो साथीले त्यहाँ निकै लामो समय बिताएको थियो। त्यसैले उक्त खाल्डोको नाम लाङटाङ राख्‍नु उपयुक्त हुने हामीलाई लाग्यो,’ उनले भने ।

डा. हासले उक्त खाल्डोको माथिल्लो भागमा देखिएका चिन्हहरु संभवत: पानीको बहावको संकेत हुनसक्ने पनि बताए । उनले मंगल ग्रहकै अर्को खाल्डोको नाम बुन्निक राखेका छन् । बुन्निक उल्त्रेख्त नजीकैको उनको गृहनगर पनि हो ।

अन्तर्राष्ट्रिय खगोलशास्त्र संघको ग्रह प्रणाली नामाकरण संबन्धी कार्यटोलीले ती दुबै नामहरुलाई अनुमोदन गरेको थियो । -BBC

प्रतिक्रिया