शनिबार, जेठ ५, २०८१

‘हिउँभन्दा चिसो’ असार ८ देखि मञ्चन हुने

नेपालखोज २०८० असार ८ गते ९:२६

काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा बनेको ‘हिउँभन्दा चिसो’ असार ८ देखि १४ गतेसम्म मञ्चन हुँदै छ । सोमनाथ खनालको निर्देशन रहने यस नाटकमा कलाकार भोलाराज सापकोटालाई नाटकमा देख्न पाइनेछ । 

नाटक ‘हिउँभन्दा चिसो’ मा भोलासँगै रेणु योगी, र गोविन्द सुनारको लगायतको अभिनय रहनेछ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा पाँच वर्षपछि सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘हिउँभन्दा चिसो’ मार्फत रङ्गमञ्चमा प्रस्तुत हुँदै छन् ।

‘चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत हुँदैछु । आज र भोलि भन्दै पाँच वर्ष बितिसकेछ । समय मिलाएर नै यसपटक अभिनय गर्दैछु’, अभिनेता सापकोटाले भने ।

थिएटरबाट नै अभिनयको सुरुआत गरेर भारतीय चलचित्र ‘बर्फी’ मा अभिनय गरिसक्नुभएका अभिनेता सापकोटाले रङ्गमञ्च आफ्नो लागि अभिनयको ऐना रहेको बताए । ‘यहाँ काम गर्दा आफूलाई चिन्न र बुझ्न पाइन्छ । व्यावसायिक दबाबभन्दा पर रहेर काम गर्दाको आनन्द छुट्टै छ’, उनले भने ।

निर्देशक खनालले तीन पात्रको भेट भएपछिको कथा नाटकमा प्रस्तुत गरिएको जानकारी दिए । ‘तीन पात्र मात्र नाटकमा छन् । उनीहरूकै यात्रा र त्यहाँ निम्तिने घटना क्रममा यो आधारित छ’, उनले भने ।

असार ८ देखि साउन १४ गतेसम्म मञ्चन हुने नाटकमा अभिनेता सापकोटासँगै रेणु योगी र गोविन्द सुनारले अभिनय गर्नेछन् ।

प्रतिक्रिया