बिहीबार, वैशाख २७, २०८१

बागमतीमा सत्तापक्ष र प्रतिपक्षबिच टकराब बढ्दै

नेपालखोज २०८० असार १५ गते १०:०४

मनहरि । बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन् ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारको आगामी आवको बजेट असन्तुलित र पक्षपाती भएको भन्दै बजेटप्रति असन्तुष्टि व्यक्त गरे ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भए पनि प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि बागमती प्रदेशसभाको बैठक पुनः स्थगन गरिएको छ ।

मङ्गलबारको बैठकमा एमाले र राप्रपाको अवरोधपछि सूचना टाँस गरेर स्थगन गरिएको बैठक बुधबार बिहान ११ः०० बजेका लागि बोलाइएको थियो । द

लहरूबीच सहमति नजुटेपछि विशेष कारणवश भन्दै दिउँसो १ः३० बजे बैठक बस्ने गरी समय निर्धारण गरिएकामा सो समयमा पनि बैठक बस्न सकेन ।

दिउँसो ३ः३० बजे बैठक बस्ने समय निर्धारण गरिए पनि सो समयमा पनि बैठक नबसेपछि पुनः साँझ ५ः०० बजे बैठक बोलाइएकामा करिब आधा घन्टा ढिला गरी बैठक सुरु भएको थियो ।

बैठक सुरु भएलगत्तै प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभा सदस्यलाई समय दिने जानकारी गराएलगत्तै प्रदेशसभा सदस्यहरूले उठेर बैठक अवरोध गरेपछि बैठक अघि बढ्न सकेन ।

एमाले र राप्रपाले प्रदेशसभाको बैठकमा आफ्ना माग सत्तापक्षले सम्बोधन नगरेसम्म बैठक चल्न नदिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको बैठक यही असार १७ गते आइतबार दिउँसो २ः०० बजेसम्मका लागि स्थगन गरिएको जानकारी दिए ।

अहिले बागमती प्रदेशमा सत्तापक्ष र प्रतिपक्षको टकराब बढ्दै गएको छ । आगामी आर्थिक वर्षको बजेट सम्बोधनमा प्रतिपक्षी दललाई पूरै निषेध गरिएको भन्दै सत्तापक्ष र प्रतिपक्षि दलका बीचमा टकराब बढ्दै गएको हो ।

बजेट पुनःलेखन नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

बजेटमा सरकारले आफूखुसी गरेको भन्दै निरन्तररूपमा विरोध गर्दै आएको एमालेले बागमती प्रदेशसभा चल्न दिएको छैन । बागमती प्रदेशसभाको बैठक एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि पुनः स्थगन गरिएको हो ।

सरकारले ल्याएको बजेट जस्ताको तस्तै सके सहमतिमा नसके बहुमतका आधारमा पारित गरिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

प्रतिक्रिया