शनिबार, वैशाख १३, २०८२

शब्दरुपी ब्रह्म शब्दब्रह्म

नेपालखोज २०८० असार १६ गते १५:०५

शब्द हो ब्रह्म शब्द नै ज्ञान
सधैँ सत्य बोलौँ, बनौँ महान्
शत्रु–मित्रु सब मुखकै कारण,
मन्त्र वा श्राप बन्छ उच्चारण ।
सोचौँ, सम्झौँ, शब्द केलाऔँ,
अपशब्दहरुमा लगाम लगाऔँ ।

काठमाडौं । आफ्नो कविता सङ्ग्रह शब्दब्रह्ममा कवि डा. भानुभक्त आचार्यले यसरी प्रस्तुत गरेका छन् शब्दको महत्व र शक्ति । शब्द ज्ञान र ब्रह्म हो भनेर आफ्नो कविता सङ्ग्रहको पहिलो कविता प्रस्तुत गरेका कवि डा. आचार्यले शब्दको प्रयोग गर्दा सोचेर, सम्झेर र केलाएर मात्र प्रयोग गर्न भनेका छन् ।

उक्त कविताले शान्ति त छँदैछ छ क्रान्ति पनि शब्दमय छ भनेका छन् भने मुखलाई रोकेर हृदय चलाउन र मधुर वचनले मात्र सभ्य संसार बन्ने सन्देश दिन खोजिएको छ ।

आफ्नो कविता सङ्ग्रहको नाम शब्दब्रह्म राखेकामा कवि डा. भानुभक्त आचार्यले पुस्तकको भूमिकामा पनि अथ्र्याएका छन् ।

उनी लेख्छन्, ‘हाम्रा धर्मशास्त्रमा वर्णित विभिन्न पात्रले वरदान दिन होस् वा श्राप दिन वा साधना गर्न होस् वा सृष्टि गर्न शब्दहरुको रणनीतिक प्रयोग गरेका छन् । सनातन हिन्दू धर्म परम्परामा ओमलाई सबैभन्दा शक्तिशाली र महत्वपूर्ण वर्ण वा शब्द मानिन्छ । यो आफैँमा ब्रह्ममय छ । शब्दहरुले वेदका ऋचा बनेका छन् । गायत्री मन्त्रलगायत हरेक शक्ति, साधना र उपासनाका मन्त्रहरु शब्दमय छन् । त्यसैलाई मैले शब्दब्रह्म शीर्षक कवितामा भनेको छु, शब्दमै सृष्टि, स्थिति र लय छ ।’

त्यसो त शब्दको प्रयोग नहुने ठाउँ नै छैन । शब्दब्रह्म कविता सङ्ग्रहमार्फत कविका रुपमा उदाएका डा. आचार्य पत्रकार र यसै विषयमा प्राध्यापन गर्छन् । पत्रकारिता शब्दहरुकै पेसा हो, शब्दपर पनि त्यहाँ सञ्चार त छ तर त्यसले पनि असङ्ख्य शब्द बोकेको हुन्छ भन्छन् ।

शब्दब्रह्मकै शक्ति र आफ्नो पुस्तकको नामकै बचाउमा उनी लेख्छन्, ‘पौराणिक वा दार्शनिक विश्लेषणबाट अहिलेको वस्तुस्थितिमा फर्कने हो भने पनि शब्द ब्रह्ममय छ । आमसञ्चार र पत्रकारिता पेसामा मात्र होइन कूटनीति, राजनीति, अर्थनीति, संस्कृति आदि सबै पेसा व्यवसायमा शब्दहरुको प्रयोग, सदुपयोग र पुनःप्रयोग गरिन्छ । अर्थात् हामी जेसुकै पेसा वा व्यवसायमा संलग्न भए पनि शब्दहरुको कारखानामा जोडिएकै छौँ । सुशब्दले हाम्रो मर्यादा र इज्जत बढाएको छ, कुशब्दले हामीलाई दुःख दिएको छ, तड्पाएको छ । त्यसैले त ‘मन्त्र वा श्राप बन्छ उच्चारण’ भनिएको हो ।’

आवरण प्रकाशनले बजारमा ल्याएको शब्दब्रह्म कविता सङ्ग्रहको सार्वजनिकीकरण समारोहमा शुक्रबार उपस्थित विशिष्ठ व्यक्तित्वहरुले यो तथ्यकै वरपर रहेर विवेचना गरे । धार्मिक आध्यात्मिक चिन्तक एलपी भानु शर्माले शब्दको शक्तिलाई कुनै वस्तु या चिन्तनसँग मापन गर्न नसकिने बताउँदै यो कविता सङ्ग्रहमा प्रयोग भएका शब्दहरु ब्रह्मास्वरुप रहेका चर्चा गरे ।

पूर्वीय दर्शनका अध्येता एवं जीवन विज्ञानका संस्थापकसमेत रहेका शर्माले शब्दको गरिराइमा पुग्यौँ भने शब्दब्रह्म भन्ने कुरा थाहा हुने भन्दै आस्तिक होस या नास्तिक, शब्द बुझ्यो भने उ तत्काल आध्यात्मिक हुने बताए । शब्दले शान्ति र क्रान्ति दुवै खडा गर्नसक्ने भन्दै उनले शब्दमै सृष्टि, स्थिति र लय हुने भएकाले शब्दब्रह्म कृति अमर रहेको बताए ।

शब्दब्रह्म कविता सङ्ग्रहमा शब्दब्रह्म, रजस्वला, आमा कि ईश्वर, गुरुदक्षिणा, म पुस्तक, हामी बालक, भाषाको धर्म, सहिद र स्यालुट, नेपाली, छोरी, जिन्दगी, मृत्युको गोलाप्रथालगायतका ५४ कविता सङ्ग्रहित छन् ।

प्रतिक्रिया