सोमबार, असार २३, २०८२

वेस्ट ब्याङ्कस्थित प्यालेस्टिनी जेनिन शिविरमा इजरेलको आक्रमण

नेपालखोज २०८० असार १८ गते १०:५८

काठमाडौं । इजरेली सेनाले अधीनस्थ उत्तरी वेस्ट ब्याङ्कको जेनिन शिविरमा ठूलो सैन्य कारबाही सुरु गरेको छ ।

विभिन्न हवाई आक्रमणसँगै उक्त कारबाही सुरु भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा त्यहाँका आवासीय भवनहरूबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार एउटा इजरेली विमानले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य धेरै मानिस गम्भीर घाइते भएका छन्।

इजरेल डिफेन्स फोर्स (आईडीएफ)ले जारी गरेको विज्ञप्तिमा उनीहरूले जेनिन क्षेत्रमा आतङ्कवादीहरुसँग सम्बन्धित पूर्वाधारमा आक्रमण गरिरहेको जनाइएको छ।

‘आतङ्कवादीहरूले जेनिन शिविरलाई लुक्ने स्थानको रूपमा प्रयोग गरेर आम नागरिकहरूलाई नोक्सानी पुर्‍याइरहँदा हामी चुप रहने छैनौँ,’ आईडीएफले भन्यो। त्यो शिविरलाई उसले आतङ्कवादीको गढको संज्ञा दिएको छ।

प्यालेस्टिनी फताह, हमास र इस्लामिक जिहाद समूहका सशस्त्र व्यक्तिहरू समावेश रहेका सैन्य टुकुडी जेनिनले भन्यो: ‘हामी उक्त क्षेत्र कब्जा गर्ने बलहरू विरुद्ध अन्तिम सास र गोली रहेसम्म लड्नेछौँ। हामी सबै समूहहरू र सैन्य संरचनाहरूबाट एकजुट भएर काम गर्नेछौँ।’

दर्जनौँ सशस्त्र, नकाब लगाएका प्यालेस्टिनीहरू उक्त शिविरका गल्लीहरूमा तैनाथ गरिएका थिए।

शिविरका एक जना बासिन्दा अहमद जाकीले भने, ‘धेरै वटा सडक हुँदै इजरेली सेनाका गाडीहरूको लस्कर शिविरको बाहिरी भागमा प्रवेश गरेको थियो।’

युद्ध अन्त्यबारे निराश युवा पिँढी

गत महिना जेनिन शिविरमा छापा मार्ने क्रममा इजरेली सेनाले कम्तीमा छ जना प्यालेस्टिनीहरूको हत्या गरेको थियो। पछिल्ला केही वर्षयता वेस्ट ब्याङ्कमा भएको आक्रमणमा पहिलो पटक हेलिकप्टर प्रयोग गरिएको थियो।

त्यतिबेला प्यालेस्टिनी बन्दुकधारीहरूसँगको झडपमा सात इजरेली सैनिक मारिएका थिए भने सीमा प्रहरी अधिकारी घाइते भएका थिए।

पूर्वी जेरूसलेम, गाजा र वेस्ट ब्याङ्कमा बस्दै आएका प्यालेस्टिनी र इजरेलबीच पटक पटक तनाव भइरहन्छ।

यसअघि गत एप्रिलमा अधीनस्थ पूर्वी जेरूसलेमस्थित अल-अक्सा मस्जिदमा हिंसा भएको थियो। प्यालेस्टिनी युवाहरूको एउटा समूहलाई मस्जिदभित्रै धर्ना बस्न नदिन इजरेली प्रहरीहरू त्यहाँभित्र पसेका थिए।

इजरेलको उक्त कदमले वेस्ट ब्याङ्क, गाजा र बाँकी मुस्लिम समुदायलाई क्रुद्ध बनाएको थियो।

इजरेली-प्यालेस्टिनी द्वन्द्व अन्त्यका लागि हाल ‘दुई राज्य समाधान’ नीतिलाई अगाडि सार्दै आइएको छ। यद्यपि यसबारे सर्वसाधारण सकारात्मक देखिँदैनन्।

बीबीसीसँग साझा गरिएका तथ्याङ्क अनुसार प्यालेस्टिनी युवाहरूले यस नीतिलाई अस्वीकार गर्ने क्रम बढ्दो छ।

‘वास्तविक स्थिति नै नहेरी पश्चिमाले ल्याएको ‘दुई राज्य समाधान’ को कुरा बारम्बार गरिन्छ। तर सीमाहरू कता छन्?,’ १७ वर्षीया जाना तमिमीले यसअघि युसेफ एल्दीनसँग विमति जनाउँदै भनेकी थिइन्।

इरजेल र प्यालेस्टाइनबीचको १०० वर्ष पुरानो मुद्दा

प्रथम विश्व युद्धमा मध्य पूर्वमा शासन गरिरहेको ओटोमन साम्राज्य पराजित भएसँगै ब्रिटेनले प्यालेस्टाइन नाम गरेको क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो।

उक्त स्थानमा अल्पसङ्ख्यक यहूदी र बहुसङ्ख्यक अरबीहरू बसोबास गर्थे।

यहूदीहरूका लागि प्यालेस्टाइनमा न्याशनल होम स्थापना गर्नका लागि ब्रिटेनलाई अन्तर्राष्ट्रिय समुदायले भनेसँगै त्यहाँका समुदायबीच तनाव बढ्न थाल्यो।

यहूदीहरूका लागि त्यो पुर्ख्यौली घर थियो। तर प्यालेस्टिनी अरबीहरूले पनि उक्त भूमिमा आफ्नो दाबी राखे र उक्त कदमको विरोध गरे।

सन् १९२० को दशकदेखि १९४० सम्म त्यहाँ आइपुग्ने यहूदीहरूको सङ्ख्या बढ्यो।

दोस्रो विश्व युद्धपछि युरोपमा उत्पीडनबाट बच्नका लागि भागेका यहूदीहरू प्यालेस्टाइन पुगे र आफ्नो स्थानको खोजी गर्न थाले।

त्यसपछि यहूदी र अरबीहरूबीच अनि ब्रिटिश शासन विरुद्ध हिंसा बढ्न थाल्यो।

सन् १९४७मा संयुक्त राष्ट्र सङ्घमा प्यालेस्टाइनलाई विभाजन गरी यहूदी र अरब राज्यका रूपमा स्थापित गर्ने र जेरूसलेमलाई अन्तर्राष्ट्रिय सहर बनाउने विषयको पक्षमा मतदान भयो।

त्यो योजनालाई यहूदी नेताहरूले स्वीकार गरे तर अरब पक्षले भने त्यसलाई अस्वीकार गर्‍यो र कहिल्यै पनि कार्यान्वयन गरेन।

इजरेलको स्थापना र ‘सङ्कट’

समस्या समाधान गर्न नसकेपछि ब्रिटिश शासकहरू सन् १९४८मा बाहिरिए। त्यसपछि यहूदी नेताहरूले इजरेल स्थापनाको घोषणा गरे।

त्यसको कैयौँ प्यालेस्टिनीहरूले विरोध गरे र पछि युद्ध पनि भयो । छिमेकी अरब राष्ट्रका सेनाले आक्रमण गरे।

लाखौँ प्यालेस्टिनीहरू भागे वा भाग्न बाध्य पारिए जसलाई उनीहरूले ‘सङ्कट’ भन्ने गरेका छन्।

त्यसपछिको वर्षमा युद्ध विराम हुँदै गर्दा अधिकांश क्षेत्र इजरेलले नियन्त्रणमा लिन सफल भयो।

जोर्डनको क्षेत्र वेस्ट ब्याङ्कका रूपमा परिचित भयो भने इजिप्टको कब्जामा रहेको गाजा पनि इजरेलले कब्जा जमायो।

जेरूसलेमको पनि विभाजन भयो जसमा पश्चिमी भाग इजरेली सेनाको नियन्त्रणमा रह्यो भने पूर्वी भाग जोर्डनको सेनाको नियन्त्रणमा।

हालको नक्सा

सन् १९६७को अर्को युद्धमा इजरेलले पूर्वी जेरूसलेम, वेस्ट ब्याङ्क अनि सीरियाको गोलन हाइट्सको अधिकांश क्षेत्र, गाजा र इजिप्टको सिनाइ प्रायद्वीप आफ्नो नियन्त्रणमा लियो।

अधिकांश प्यालेस्टीनी शरणार्थी र उनीहरूका सन्तान गाजा, वेस्ट ब्याङ्क र छिमेकी जोर्डन, सिरिया अनि लेबननमा बस्छन्।

ती शरणार्थी र उनीहरूका सन्तानलाई इजरेलले आफ्नो घर फर्कन दिएको छैन।

इजरेलले त्यस्तो गर्नाले देशमा समस्या बढ्ने र यहूदी राज्यका रूपमा आफूहरूको अस्तित्व समेत खतरामा पर्ने बताउँदै आएको छ।

वेस्ट ब्याङ्क अझै पनि इजरेलको नियन्त्रणमा छ। र ऊ गाजाबाट बाहिरिइसकेको भए पनि संयुक्त राष्ट्र सङ्घले भने त्यो भूमिलाई अझै पनि नियन्त्रणमा रहेको क्षेत्रका रूपमा मान्छ।

इजरेलले जेरूसलेमको पूर्ण भागलाई आफ्नो राजधानी मान्छ।

तर प्यालेस्टिनीहरूले भविष्यमा बन्ने राज्यको राजधानीका रूपमा पूर्वी जेरूसलेममा दाबी गरेका छन्।

जेरूसलेममा इजरेलको पूर्ण दाबीलाई मान्यता दिने केही राष्ट्रहरूमा अमेरिका पर्छ।

पछिल्लो ५० वर्षमा इजरेलले यो स्थानमा आवासीय क्षेत्र विकास गरेको छ जहाँ ६ लाख भन्दा बढी यहूदीहरू बसोबास गर्छन्।

अन्तर्राष्ट्रिय कानुन अनुसार यो गैर कानुनी रहेको र शान्तिका लागि बाधक रहेको प्यालेस्टिनीहरूले बताउने गरेका छन् तर इजरेलले भने त्यसलाई खण्डन गर्दै आएको छ। –BBC

प्रतिक्रिया