शनिबार, जेठ ५, २०८१

बालबालिकाले कसरी सिक्छन्  ?

नेपालखोज २०८० असार २३ गते १०:३४

बालबालिकाले विभिन्न कुराहरू अवलोकन गरेर, सुनेर, खोज तथा अनुसन्धान र प्रश्न गरेर सिक्छन् । यी सिकाइलाई बालबालिकाले निम्न प्रक्रियाबाट दिगो सिकाइका रूपमा परिणत गर्दै जान्छन्:

प्रयास र गल्तीबाट (Trial and Error): बालबालिकाले प्रयास र गल्ती गर्दै सिकिरहेकका हुन्छन्, उनीहरूले गरेका गल्तीलाई गलत हो भन्ने बुझेपछि यसलाई सुधार गर्दै जान्छन् ।

अरू जान्ने व्यक्तिबाट (More Knowledgeable Others): बालबालिकाले आफूभन्दा जान्ने साथी वा वयस्कहरूसँग आफूले देखेका र गरेका कार्यबाट नयाँ अनुभव बटुल्दै सिक्ने गर्दछन् । 

समाजबाट (Social Learning): बालबालिकाले घरपरिवार र समाजको क्रियाकलापहरूलाई नक्कल गरेर आफ्नो दैनिक क्रियाकलापमा लागु गर्छन् ।

अभ्यास गरेर वा दोहोर्याएर (Conditioning): बालबालिकाले सिकेका सिपहरू दैनिक जीवनमा दोहो¥याएर, उनीहरू त्यसमा पोख्त हुन सिक्छन् ।

प्रतिक्रिया (Feedback): बालबालिकाले सानै देखि विभिन्न क्रियाकलापहरू गर्दा पाउने प्रतिव्रिmयाबाट सिक्छन् ।

बहुल प्रतिभा (Multiple Intelligence) 

बालबालिकाको विभिन्न क्षमता हुने तथ्यलाई खोज गर्दै गार्डनरले (Howard Gardner 1983)  बहुल प्रतिभा सिद्धान्त प्रस्तुत गरेका छन् । यी सबै प्रतिभा विकास गर्ने क्षमता बालबालिकामा जन्मजात हुने गर्छ तर हुर्केको वातावरणअनुसार सबैमा सबै प्रतिभा पूर्ण रूपमा विकास हुँदैन । प्रारम्भिक उमेको अवसर, खेल, सिकाइ, खोज अनुसन्धान, अन्तरक्रियाबाट बालबालिकाको बहुल प्रतिभाको विकासमा प्रोत्साहन मिल्छ । गार्डनरकाअनुसार बालबालिकामा ९ किसिमको प्रतिभा हुन्छ । 

१. गणितीय क्षमता (Logical-mathematical intelligence): गणितमा सिपालु, समस्या समाधान गर्न सक्ने, वैज्ञानिक खोज गर्ने क्षमता

२. शाब्दिक क्षमता (Linguistic-verbal intelligence) विभिन्न प्रकारका शब्द लेखन र बोलीचालीमा प्रयोग गर्न सक्ने, भाषण रुचाउने, विभिन्न भाषा चाँडै सिक्न सक्ने क्षमता

३. अरूको भावना बुझ्ने (Interpersonal intelligence): अरूको भावना तथा विचार बुझ्ने, अरूसँग सजिलै अन्तरक्रिया गर्ने क्षमता

४. सचेतना क्षमता (Intrapersonal intelligence): आफ्ना भावनामा सचेत हुने क्षमता

५.साङ्गीतिक क्षमता (Musical intelligence): साङ्गीतिक ताल, ढाँचा सजिलै बुझ्न सक्ने क्षमता 

६. दृश्यात्मक क्षमता (Visual-spatial intelligence): चित्र हेरेर सिक्ने, चित्र बनाउने, विभिन्न ढाँचा सजिलै बुझ्न सक्ने क्षमता

७.शारीरिक क्षमता (Bodily-kinesthetic intelligence): शरीर चलाउन मन पर्ने, नृत्य गर्न मन पर्र्ने हेरेरभन्दा छोएर विभिन्न कुरा राम्ररी गर्न सक्ने क्षमता

८. प्रकृति प्रेमी (Naturalistic intelligence): प्रकृति अवलोकन गर्न रुचाउने, प्रकृतिबाट सिक्ने क्षमता 

९. अस्तित्ववादी क्षमता (Existential intelligence): हामी कहाँ थियौ, कसरी आयौँ, हाम्रो जिम्मेवारी के हो, आत्मा के हो जस्ता विषयका तर्क वितर्क, खोज अनुसन्धान गर्ने क्षमता  

सानै उमेरदेखि बालबालिकामा हुने बहुल प्रतिभाको पहिचान गरी यसका आधारमा बालबालिकालाई सिकाउने हो भने सिकाइ प्रभावकारी हुन्छ । बालबालिकामा भएका प्रतिभाको पनि विकास हुँदै जान्छ । Fleming and Mills (1992) काअनुसार विभिन्न बालबालिकाको सिक्न तरिका फरक फरक हुन्छ ।

दृष्यात्मक सिकारु (visual learner) चित्र, फोटो, वास्तविक वस्तुको अवलोकन गरेर सिक्ने  श्रव्यात्मक सिकारु (auditory learner) सुन्न मन पराउने वा सुनेर छिटो सिक्ने  पढ्न लेख्न रुचाउने सिकारु (reading and writing learner) पढाइलाई जोड दिने, पढेर लेखेर छिटो सिक्ने 

क्रियात्मक सिकारु (kinesthetic learner) छोएर, आफैँ अनुभव गरेर सिक्ने हरेक बालबालिका फरक हुन्छन् । सबैले एउटै तरिकाबाट सिक्छन् भन्ने हुँदैन ।

त्यसैले बालबालिकाले सजिलै रूपमा सिक्ने तरिका अभिभावक तथा शिक्षकले आफ्नो अवलोकनबाट पत्ता लगाई बालबालिकालाई सिकाउँदा सिकाइ प्रभावकारी र दिगो हुन्छ ।  

बालबालिकाको सिकाइमा कठिनाइ हुने केही मुख्य अवस्था   

• कुपोषण तथा हिंसा र दुर्व्यवहार

• बालबालिकामा कुनै प्रकारको कार्यगत सीमितता वा अपाङ्गता भएमा 

• घरमा उत्प्रेरणात्मक वातावरण तथा प्रोत्साहनको अभाव

• प्रारम्भिक बाल्यावस्थामा विभिन्न आधारभूत अवधारणामा अस्पष्टता 

• उमेर तथा विकासात्मक अवस्था अनुरुपका सिकाइ क्रियाकलाप गर्न नपाउँदा 

अभिभावकको मुख्य दायित्व   

प्रारम्भिक बाल सिकाइका लागि उचित वातावरण तयार गर्नु अभिभावकको जिम्मवारी हो । यसका लागि केही मुख्य दायित्व निम्नानुसार छन्ः

• बालबालिकालाई उचित पोषण तथा हिंसा र दुर्व्यवहारमुक्त वातावरण प्रदान गर्नुपर्दछ । विभिन्न रोग तथा दुर्घटनाबाट बचाउनुपर्छ । 

• प्रारम्भिक बाल्यवस्थामा शिशु/बालबालिकाले अनुभव गरेर, वास्तविक वस्तुको मद्दतले सिक्दछन् । घरमा भएका विभिन्न वस्तुहरू पहेंला फल, हरिया तरकारी, अन्न गेडागुडी आदि हेर्न, छाम्न, सुँघ्न, सुन्न, खान हुने वस्तुको स्वाद लिन प्रोत्साहन दिनुपर्दछ । 

• बालबालिकाले साथी तथा ठुला व्यक्तिसँग सिक्ने हुनाले समूहमा खेल्न दिनुपर्छ । आफूले नमुना व्यवहार गरेर देखाउने र घरपरिवार तथा समुदायका विभिन्न क्रियाकलापमा सहभागी गराउनुपर्दछ ।

• कथा सुनाउने, भन्न लाउने र कुराकानी गरेर भाषा, सञ्चार जस्तै प्रश्न सोध्न प्रोत्साहन गर्ने र उनीहरूले प्रश्न गर्दा धैर्यताका साथ जवाफ दिने गर्नुपर्छ ।

• बालबालिकाले आफ्नै परिवेशमा उमेर, क्षमताअनुरुप जे कुरा पनि विभिन्न तरिकाबाट सिकिरहेका हुन्छन् । त्यसैले घरमा गरिने विभिन्न क्रियाकलाप (तरकारी केलाउने, सरसफाइ गर्ने, लुगा धुने आदि) लाई सिकाइमा जोडेर लैजानुपर्छ । साथै आफ्नो र घरका काममा उनीहरूलाई जिम्मेवार बनाउँदै लैजानुपर्छ । स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया