शनिबार, जेठ ५, २०८१

एसईई : गणितमा धेरैजसोको कम नम्बर किन आयो ?

नेपालखोज २०८० असार २३ गते १०:४८

काठमाडौं । यो वर्षको एसईई परीक्षाको परिणाम सार्वजनिक भएसँगै शिक्षणशैली, विद्यार्थीको सिकाइ क्षमता र त्यसको मापनमा कैयौँ प्रश्न उब्जिएको शिक्षाविद् र सरोकारवालाहरूले बताएका छन्।

यसका लागि आधारभूत तहबाटै शिक्षण सिकाइमा सुधार ल्याउनुपर्ने उनीहरूको सुझाव छ।

नयाँ पाठ्यक्रम परिवर्तन हुनुभन्दा अघिको कक्षा १० को अन्तिम परीक्षामा अधिकांश विद्यार्थीहरूले प्रयोगात्मक र आन्तरिक मूल्याङ्कन नभएका विषयमा कम जीपीए पाएका छन्।

उदाहरणका लागि ४ लाख ८५ हजार विद्यार्थीमध्ये १०० पूर्णाङ्ककै अन्तिम परीक्षा दिनुपर्ने गणित विषयमा १ लाख ५५ हजार विद्यार्थीले ‘ई’ ग्रेड ल्याएका छन्।

एसईईको परीक्षा लिने राष्ट्रिय परीक्षा बोर्डले उत्तर पुस्तिका मापनमा प्रयोग गर्दै आएको लेटर ग्रेडिङ प्रणाली अनुसार २० भन्दा कम अङ्क ल्याउने विद्यार्थीहरूलाई ई ग्रेड दिइन्छ।

बोर्डका अध्यक्ष महाश्रम शर्मा गणितमा ई ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या “निकै ठूलो” देखिएको बताउँछन्।

गणितजस्तै सबैभन्दा कम जीपीए ल्याउने धेरै विद्यार्थीहरूको सङ्ख्या आन्तरिक मूल्याङ्कन वा प्रयोगात्मक नहुने अर्को विषय अर्थशास्त्रमा पनि देखिएको छ।

किन आयो गणितमा कम अङ्क

विगत २९ वर्षदेखि विद्यालय तहमा गणित पढाउँदै आएका हरेराम ठाकुर अन्तिम परीक्षामा १०० पूर्णाङ्ककै परीक्षा दिनुपर्ने र आन्तरिक मूल्याङ्कन नहुने प्रणालीकै कारण गणितमा धेरै विद्यार्थीहरूले कम अङ्क पाएको बताउँछन्।

उनका अनुसार बाँकी धेरै विषयहरूमा प्रयोगात्मक वा आन्तरिक मूल्याङ्कनमा २५ अङ्क छुट्ट्याइएको हुन्छ। जस कारण विद्यार्थीहरूले सैद्धान्तिक परीक्षामा कम अङ्क पाए पनि समग्रमा उनीहरूले पाउने जीपीए धेरै हुन्छ।

राजधानीको एक निजी विद्यालयमा गणित विभागको प्रमुख रहेका ठाकुरका अनुसार प्रश्नपत्रको ढाँचाका कारण पनि गणित विषयको परीक्षामा विद्यार्थीहरूले कम प्राप्ताङ्क पाएका हुन सक्छन्।

‘अब मानवीय त्रुटिका कारण पनि गणितमा विद्यार्थीले प्रश्न बिगार्न सक्छन्। तर गणित भनेको यस्तो विषय हो त्यहाँ प्रश्न नै गल्ती पढेर उत्तर लेखे पनि समस्या हुन्छ। त्यस्तो भयो भने उत्तर दिए पनि शून्य अङ्क आउँछ,’ उनले भने।

हालै नतिजा आएको एसईईको प्रश्न पत्रमा एउटै प्रश्नको पाँच अङ्क पूर्णाङ्क हुने व्यवस्था थियो। ठाकुरका अनुसार त्यस्तो अवस्थामा एउटा प्रश्नको उत्तर बिग्रिँदा विद्यार्थीहरूले पाँच नै अङ्क गुमाउने अवस्था हुन्छ।

लामो समय विज्ञान विषयमा शिक्षणको अनुभव भएकी टेकुस्थित सरस्वती निकेतन विद्यालयकी प्रधानाध्यापक रविना महर्जन प्रयोगात्मक विषयहरूको शिक्षण पनि अधिकांश विद्यालयहरूमा स्रोत साधनको अभावमा पुस्तकमै आधारित हुने गरेको बताउँछिन्।

‘हाम्रो शिक्षण सिकाइ क्षमता बढाउने, प्रश्नोत्तर गर्ने खालको गरिहालेको अवस्था छैन। तर प्रश्नपत्र चाहिँ त्यो आधारमा बनिसक्यो। त्यस कारण पनि नतिजा चाहिँ कमजोर आएको हुनसक्छ,’ उनी भन्छिन्।

उनका अनुसार विज्ञान जस्ता विषयलाई अप्ठ्यारो पढाइ मानेर सिक्ने र सिकाउने दुवै पक्ष यसबाट पन्छन खोज्ने प्रवृत्ति पनि छ।

यसलाई हाम्रो दैनिकीसँग वरपरको वातावरणसँग जोडेर सहज र सरल रूपमा बुझाउन सकियो भने रुचिको विषय पनि हो,’ उनले भनिन्।

कम अङ्क आउँदाको असर

अहिले कक्षा १२ मा विज्ञान पढ्नका लागि गणितमा न्यूनतम सी प्लस ग्रेड अर्थात् कम्तीमा ५० प्रतिशत नम्बर ल्याएको हुनुपर्ने अनिवार्य गरिएको छ। जस कारण यो वर्ष पनि गणितको परीक्षामा राम्रो नतिजा नल्याएका कारण धेरै विद्यार्थीहरूले आफूले रोजेको विषय अध्ययन गर्न नपाउने अवस्था छ।

कक्षा ११ मा भर्नाका लागि मात्रै नभएर विश्वविद्यालयमा भर्नाका लागि पनि निश्चित विषयहरूमा निश्चित ग्रेड ल्याउनुपर्ने नियम छ।

ठाकुर यस्तो नियम गलत भएको बताउँछन्।

‘भोलि विद्यार्थी जीवविज्ञान पढ्न गयो भने उसलाई गणितको आवश्यकता नै पर्दैन त्यस कारण यस्तो नियम बनाउनु उचित होइन,’ उनी भन्छन्।

यसपालि नतिजा कस्तो ?

३.६ देखि ४ जीपीए ल्याउने २२,४७५ (४.६३ प्रतिशत)

३.२ देखि ३.६ जीपीए ल्याउने ५५,०६९ (११.३६ प्रतिशत)

२.८ देखि ३.२ जीपीए ल्याउने ७२,३६२ (१४.९२ प्रतिशत)

२.४ देखि २.८ जीपीए ल्याउने ८९,३३१ (१८.४२ प्रतिशत)

२ देखि २.४ जीपीए ल्याउने १,०२,२९३ (२१.०९ प्रतिशत)

१.६ देखि २ जीपीए ल्याउने ८८,४८७ (१८.२४ प्रतिशत)

१.२ देखि १.६ जीपीए ल्याउने ३८,७७० (७.९९ प्रतिशत)

०.८ देखि १.२ जीपीए ल्याउने २,२०० (०.४५ प्रतिशत)

-BBC

प्रतिक्रिया