मंगलबार, असार २४, २०८२

प्रधानमन्त्री कपमा आर्मी र एपिएफको लगातार दोस्रो जित

नेपालखोज २०८० असार २४ गते २२:०५

काठमाडौं । त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौं प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० मा लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा समान ६-६ अंकका साथ शीर्ष स्थानमा रहन सफल भएका छन् ।

आर्मीले दोस्रो दिन दोस्रो जित निकाल्ने क्रममा दावाँली मिलन क्लबलाई २-१९, २५-११, २५-२० अंकले पराजित गर्दै थप ३ अंक जोड्न सफल भएको छ । पहिलो दिनको खेलमा आर्मीले सैलुङ्ग बाघढुङ्गलाई पराजित गरेर ३ अंक जोडेको थियो ।

यस्तै एपिएफले पनि आज भएको आफ्नो दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई ३-१ ले पराजित गर्दै थप ३ अंक जोडेको हो । पहिलो सेट २१-२५ ले गुमाएको एपिएफ खेलमा फर्कदै लगातार बाँकी तीन सेट २५-२१, २५-२३, २५-१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो । हिजोको पहिलो खेलमा एपिएफले दावाली मिलन क्लबलाई पराजित गरेको थियो ।

प्रतियोगिताको दावेदार टिम टिपटप हेल्प नेपालले पनि आज आफ्नो पहिलो खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् कलब, रामेछापलाई ३(० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो । ३ पाकिस्तानी खेलाडी सहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङ्गलाई २५-१२, २५-१५, २५-१९ ले पराजित गरेको हो ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिगको महिला तर्फको खेलमा एपिएफले आर्मीलाई ३-२ सेटले पराजित गर्दै अंक बाँढ्न बाध्य भयो । संघर्षपूर्ण खेलमा पहिलो र दोस्रो सेट ३०-२८, २५-२३ ले जितेको एपिएफले तेश्रो र चौथो सेट गुमाउन पुग्यो । आर्मीले तेस्रो सेट २०-२५ र चौथो सेट १९-२५ ले जित्यो । निर्णायक तथा पाँचौ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५-६ ले जित हात पार्दै जितलाई आत्मसाथ गरेता पनि आर्मी संग अंक बाँढ्न पुग्यो । आजको जितबाट एपिएफको २ अंक र हारका बावजुद पनि आर्मीको १ अंक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३-० सेटले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्यो । डायमन्डले गण्डकीलाइ २५-१७, २५-१६, २५-१५ ले पराजित गरेको हो ।

प्रतिक्रिया