शनिबार, वैशाख १३, २०८२

देशका सात अस्पतालमा २०२८ शय्या बेड निःशुल्क, कहाँ कति छन् ?

नेपालखोज २०८० असार २५ गते ७:५८

स्वास्थ्यमा गरिब विपन्न, असहाय र बेवारिसे बिरामीको सहज पहुँच पुर्याउन सरकारले देशका विभिन्न सातवटा अस्पतालमा दुई हजार २८ शय्या बेड निःशुल्क गरेको छ । यी शय्या क्याबिनबाहेकका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो निर्देशनबमोजिम वीर अस्पतालमा सात सय, कोशी अस्पतालमा तीन सय ३०, परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा चार सय ५०, कान्ति बाल अस्पतालमा दुई सय ४८ शैय्या निःशुल्क गरेको हो ।

साथै राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ५० शय्या, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा ९० शय्या र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० शय्या गरी जम्मा दुई हजार २८ शय्या निःशुल्क गरेको हो ।

देशकै जेठो अस्पताल वीर अस्पतालमा एक हजार शय्या छन्। यसअघि बिरामीले प्रतिशय्या दैनिक दुई सय रुपैयाँ तिर्नुपथ्र्यो । तीमध्ये सात सय निःशुल्क गर्दा अस्पताललाई दैनिक डेढ लाख आम्दानी घटेको अस्पताल प्रशासनको भनाइ छ ।

निःशुल्क शय्याबाहेक विपन्न बिरामीका लागि हरेक वार्डमा उपचारसमेत निःशुल्क हुने गरी १० प्रतिशत शय्या सञ्चालनमा छन् । बिहान ९ बजे देखि ५ बजेसम्म ओपिडि सेवा सञ्चालन हुदै आइरहेको वीर अस्पतालमा दैनिक तीन हजार बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

यसैगरी अर्को अस्पताल राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक पाँच सय बिरामी आउने गरेको अस्पतालका शाखा अधिकृत नवराज गौतमले बताए । मन्त्रालयको निर्देशनबमोजिम आफूहरुले डेढ सय शय्या निःशुल्क गरेको जानकारी दिए ।

‘बिरामी तथा उनको परिवार नझुक्कियोस् भनी वार्डमा निःशुल्क शय्या भनेर स्टिकर टाँसेका छौँ,’ गौतमले भने, ‘बिरामीलाई आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी औषधि यहीँको फार्मेसीमा उपलब्ध छ । विपन्न नागरिक कोषबाट एक लाखसम्मको उपचार छुट पाइन्छ। सोही छुटको शुल्कमा लगभग सबै औषधि यहीँ पाउँछ । यसले बिरामीलाई झन्झट कम हुन्छ ।’

हात भाँचिएर उपचार गराइहेकी बाजुराकी यशोदा बमले स्वास्थय मन्त्रालयले गरेको निःशुल्क शय्या आफूजस्ता गरिब जनताका लागि उपयोगी भएको बताए ।

यसैगरी दोलखाकी कल्पना सुनुवारले छोराको हात भाँचिएर नजिकैको अस्पतालमा उपचार गराउन जाँदा प्रतिदिन शय्याको एक हजार तिर्नुपरेको तर सरकारी अस्पतालमा ल्याइएको निःशुल्क शय्याले गरिबलाई राहत भएको बताए । यसैगरी कुरुवालाई उपकार संस्थाबाट निःशुल्क खाना तथा पानीको पनि व्यवस्था रहेको अस्पतालकी वाड इन्चार्ज मधु कुँवरले बताए ।

सरकारले निःशुल्का शय्या उपलब्ध गराएकोमध्ये परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा चार सय ५० शय्या निःशुल्क गरिएको छ । मन्त्रालयको निर्देशनपहिले पनि बिरामीको अवस्था हेरेर शय्या चार्ज तथा अन्य सुविधा दिँदै आइरहेको अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले बताए ।

‘दैनिक सात सयदेखि नौ सयको संख्यामा ओपिडीमा उपचार गर्न आउँछन् । गरिब विपन्न तथा बेवारिसे अवस्थाका बिरामीलाई अस्पतालले निःशुल्क अपरेसन र औषधिलगायतका सेवा दिँदै आएको छ,’ अधिकारीले भने, ‘वडाको सिफारिसका आधारमा पनि निःशुल्क सेवा दिने गरेका छौँ।’ परोपकार प्रसुति तथा स्त्री रोग निसन्तानसम्बन्धी सेवा टेस्ट्युब बेबी, दुर्बिनबाट महिलाको पाठेघरको अपरेसनका लागि लोकप्रिय छ।

यसैगरी शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र मा ९० शय्या निःशुल्क छन्। अस्पतालका निर्देशक चन्द्रमणि अधिकारीका अनुसार गंगालाल नेपालको एक मात्र सरकारी मुटु रोग अस्पताल हो । अति गरिब, विपन्न, बेवारिसे बिरामीको अवस्था नाजुक ठहर भएमा अस्पतालले सकेसम्म सेवासुविधा निःशुल्क दिने गरेको अधिकारीले जानकारी दिए।

यस्तै, कान्ति बाल अस्पतालमा दुई सय ४८ शय्या निःशुल्क छन् । अस्पतालका सूचना अधिकारी रमेश केसीका अनुसार मन्त्रालयको निर्देशनलगत्तै निःशुल्क शय्या उपलब्ध गराउन थालिएको हो । उनका अनुसार सरकारले गरिब विपन्न असहाय कोषबाट पाउने रकम र बागमती प्रदेशका बिरामीका लागि थप छुट्टाइएको ५० हजार रुपैँयाबराबरको सेवा पनि दिँदै आइरहेको उनको भनाइ छ।

अस्पतालले न्युरोड वरपरका स्थानमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । कान्तिमा नवजात शिशुका नाक, कान, घाँटी, क्यान्सर, हाइड्रोसिल र हर्नियासम्बन्धी उपचार सेवा लिन सकिन्छ ।

१६ महिनाको शिशुको छातीमा इन्फेक्सन भएर उपचारका लागि आएकी उर्मिला गौतम सरकारले गरीब विपन्नका लागि राहत मिल्ने नीति ल्याएकोमा खुसी छिन् । सात वर्षे छोरालाई ब्लड क्यान्सरको शंका भएपछि उपचार गराइरहेकी जानुका दाहाल सरकारले निःशुल्क सेवा व्यवस्था गरेपछि धेरै राहत भएको बताए।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ६० शय्या निःशुल्क गरिएको छ । मन्त्रालयको निर्देशन पाउनासाथ सोही दिनदेखि निःशुल्क शय्या लागू गरेको अस्पतालका शाखा अधिकृत भक्तबहादुर खड्काले बताए । ‘अतिविपन्न असहायका लागि शत प्रतिशत र विपन्नका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ,’ खड्काले भने ।

टेकु अस्पतालमा १४ दिनदेखि ज्वरो तथा रुघाखोकी लागेर उपचार गरिरहेका लक्ष्मण चौधरी भने, ‘धेरै दिन अस्पताल बस्दा शय्या चार्ज पनि धेरै नै लाग्छ होला भनेर चिन्तित थिए । तर निःशुल्कको खबरले खुसी छु ।’

यसैगरी कोशी अस्पतालमा तीन सय ३० शय्या निःशुल्क गरीएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा.चन्द्रभाल झाका अनुसार पहिले जनरलमा प्रतिशय्या सय रुपैयाँ लाग्थ्यो । तर अहिले निःशुल्क गरिएको छ ।

INS

प्रतिक्रिया