सोमबार, वैशाख १७, २०८१

अजित मिजारको मुद्दामा जवाफदेहिता र न्याय सुनिश्चित गर्न एम्नेस्टीको आग्रह

नेपालखोज २०८० असार २५ गते ८:११

एम्नेस्टी इन्टरनेसनलले अजित ढकाल मिजारको मुद्दामा जवाफदेहिता र न्याय सुनिश्चित गर्न आग्रह गरेको छ ।

‘उपल्लो जात’की युवतीसँग अन्तरजातीय सम्बन्ध राखेका १८ वर्षीय दलित मिजार २०७३ साल असार ३० गते रहस्यमय ढंगमा मृत फेला परेका थिए ।

मिजारको मृत्युको घटनामा अधिकारीहरूले विस्तृत, निष्पक्ष, न्यायोचित र सामयिक अनुसन्धान गर्न असफल भएको भन्दै एम्नेस्टीले यसबारे जानकारी लिएको बताएको छ ।

नेपालको संविधान २०७२ ले जातीय भेदभावलगायत सबै प्रकारका भेदभाव उन्मूलन गर्ने र कानुनको अगाडि सबैको समान संरक्षण गर्ने प्रतिबद्धतालाई समेटेको तथा समानता र गैरभेदभावको सिद्धान्त कुनै पनि फौजदारी न्याय प्रणालीमा अपरिवर्तनीय कानुनी सिद्धान्त रहेको स्मरण गराएको छ।

‘नेपालको फौजदारी न्याय प्रणालीले अजितको मृत्युको पछाडि रहेको जातीय हिंसालगायतका अन्य कुनै पनि भेदभावपूर्ण उद्देश्यको विस्तृत अनुसन्धान गरी वास्तविक सत्यलाई उजागर गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘संदिग्धहरूलाई अभियोजन गर्ने क्रममा त्यस्तो कुनै पनि उद्देश्य रहे-नरहेको बारेमा निष्पक्ष सुनुवाइको मापदण्डहरूलाई सम्मान हुने गरी गरिएको सुनुवाइका क्रममा विचार गरिनुपर्छ । अन्तरजातीय सम्बन्धमा हुने जातीय हिंसामा जवाफदेहिता र न्याय सुनिश्चित गर्नका लागि यो महत्वपूर्ण छ ।’

के भएको थियो ?

रहस्यमय ढंगमा मृत फेला परेका मिजारको तथाकथित ‘उपल्लो जात’की कल्पना पराजुली नामकी युवतीसँग सम्बन्ध थियो ।

दलित समुदाय अजित र ब्राह्मण समुदायकी कल्पनाबीचको अन्तरजातीय सम्बन्धलाई कल्पनाका आफन्तले स्विकारेका थिएनन्। पछि अजित धादिङको एउटा विश्रामस्थलमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरी अधिकारीहरूले उनको मृत्युलाई आत्महत्या जनाएका थिए र उनको मृत शरिरलाई बेवारिसे लास घोषणा गरी जमिनमा गाडेका थिए ।

अजितका बुबा हरिभक्त ढकाल मिजार छोराको मृत्यु भएको खबर पाएपछि प्रहरीमा पुगे । अजितको मृत्यु आत्महत्याले भएको र उनको शवलाई गाडिसकिएको प्रहरीले बतायो ।

अजितका बुबाले अन्तिम संस्कार गर्न छोराको शव उत्खनन गर्न प्रहरीसँग माग राखे। शव उत्खनन गर्दा अजितका बुबाले केही विसंगति फेला पारे, जसले छोराको मृत्यु आत्महत्या नभएर हत्या भएको आशंका बढायो । त्यसपछि मृत्युको कारण सामान्य अवस्थामा भएको नदेखिएकोले बुबाले शवलाई अस्पताल पुर्याए ।

अजितका बुवाले न्याय नपाएसम्म छोराको अन्तिम संस्कार गर्न अस्वीकार गरेपछि विगत सात वर्षदेखि शवलाई नेपालको शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ ।

आफ्नो छोराको हत्या भएको शंका गरी उक्त मृत्यको सवालमा अनुसन्धान गर्न अजितका बुबाले २०७३ श्रावण २ गते इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा कल्पनाका तीन जना आफन्तहरूको नाममा किटानी जाहेरी दिए ।

अजितको यस मुद्दामा प्रहरी अनुसन्धान र अभियोजन प्रमाणको निष्कर्षका आधारमा २०७५ जेठ २० गते धादिङ जिल्ला अदालतले तीनै जना आरोपित कल्पना पराजुलीका आफन्तहरू विनोद भनिने टेकबहादुर पराजुली, ध्रुव भनिने भोजबहादुर पराजुली र सम्झना पराजुलीले सफाइ पाउने ठहर गरेको थयो ।

पछि २०७९ वैशाख १२ गते पाटन उच्च अदालतको बेन्चले धादिङ जिल्ला अदालतको तीन जना आरोपितले सफाइ पाउने फैसलालाई सदर गर्यो । उच्च अदालत पाटन सरकारी वकिलको कार्यालयको निर्देशनमा महान्यायधिवक्ताको कार्यालयले उक्त फैसलामा पुनरावेदन नगर्ने निर्णय गरेको थियो ।

सरकारी वकिलको कार्यालयको निवेदनमा असन्तुष्ट भई अजितका बुवाले २०८० वैशाख २० गते अपराध पीडित संरक्षण ऐन, २०७५ मा प्रत्याभूत गरिएका अधिकारको अधिनमा रही महान्यायधिवक्ताको कार्यालयमा निवेदन दिए । त्यहाँबाट कुनै जवाफ प्राप्त नभएपछि अजितका बुबाले अहिले पाटन उच्च अदालतको फैसलाको चुनौती दिँदै सर्वोेच्च अदालतको ढोका ढकढक्याएका छन् ।

INS

प्रतिक्रिया