मंगलबार, असार २४, २०८२

एसियाडको तयारीका नेपाली महिला टोली बंगलादेश प्रस्थान

नेपालखोज २०८० असार २५ गते २१:३१

काठमाडौं । १९ औं एसियाडको तयारीका लागि नेपाली महिला फुटबल टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न सोमवार त्यसतर्फ प्रस्थान गरेको छ ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा १९ औं एसियाड हुँदैछ । उक्त एसियाडमा नेपालको २९ खेलमध्ये महिला फुटबल टोलीले पनि प्रतिष्पर्धा गर्दैछन् । सोही एसियाडको तयारी स्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एशियाकै बलियो टोली बंगलादेशसँग दुई खेलको मैत्रीपूर्ण फुटबल आयोजना गरेको हो । उक्त मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सोमबार एक कार्यक्रमको बीच बिदाइ गरिएको छ ।

उनीहरूलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलगायतले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमबीच बिदाई गरे । नेपालले जुलाई १३ र १६ मा बंगलादेशसँग ढाकामा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्नेछन् । उक्त मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर अनन्तराज थापाले प्रशिक्षण सम्हालेका छन् । प्रारम्भिक ३० सदस्यीय टोलीबाट सात खेलाडीलाई हटाउँदै प्रशिक्षक थापाले अन्तिम टोलीको घोषणा गरेका हुन् ।

चोटका कारण पछिल्लो केही समय टोलीबाट बाहिर रहेका गीता राना र युवा खेलाडी प्रीति राई टोलीमा फिर्किएका छन् । नेपाली टोलीको गोलकिपरमा एञ्जिला तुम्बाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ, रक्षकमा अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पूजा राना, विमला बिक, अञ्जली वाइबा, समीक्षा घिमिरे, मिडफिल्डरमा रेनुका नगरकोटे, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही छन् ।

त्यस्तै फरवार्डमा सावित्रा भण्डारी, सविता रानामगर, रश्मीकुमारी घिसिङ, अनिता केसी, अमिषा कार्की र रेखा पौडेल छन् । अञ्जली वाइबा पछिल्लो केही वर्ष राष्ट्रिय टोली बाहिर नै रहँदै आएकी थिइन् । टोलीको व्यवस्थापकमा बिन्द्रा देवान र सहायक प्रशिक्षकमा पारस चौधरी छन् । गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी सुरजकुमार लामाले सम्हाल्ने छन् ।

प्रतिक्रिया