आइतबार, वैशाख १६, २०८१

भगवान् शिवको रुद्राभिषेक

नेपालखोज २०८० असार २६ गते ५:३१

भगवान् शिवको मनपर्ने महिना साउनमा उनलाई प्रसन्न तुल्याउन मानिसहरू बिशेष पूजा आराधना गर्छन् । भगवान् शिवलाई प्रसन्न गर्न साउनमा रुद्राभिषेकलाई उत्तम मानिन्छ। रुद्राभिषेक भगवान शिवका भक्तहरूले गर्ने पूजा र अनुष्ठान हो । यो प्रक्रियामा शिवलिंगमा जल, धूप, दीप तथा बेलपत्र चढाइन्छ र मन्त्र पनि जप गरिन्छ। रुद्राभिषेकको मुख्य उद्देश्य भगवान शिवको कृपा र आशीर्वाद प्राप्त गर्नु हो । यो पूजा एउटा विशेष प्रकारको भक्ति र समर्पण हो जसमा शिवका गुणहरूलाई याद गरेर आशीर्वाद प्राप्त गर्ने प्रयास गरिन्छ।

रुद्राभिषेकको अर्थ

रुद्राभिषेक रुद्र र अभिषेक दुई शब्द मिलेर बनेको छ । भगवान शिवलाई रुद्र पनि भनिन्छ । अभिषेकको अर्थ नुहाउनु हो । यसरी रुद्राभिषेकको अर्थ भगवान शिवको अभिषेक हो । त्यसैले शिव पूजामा रुद्राभिषेक अवश्य गरिन्छ । यसबाट भगवान शिव प्रसन्न हुन्छन् ।

रुद्राभिषेकका लागि आवश्यक सामाग्री

रुद्राभिषेकमा मुख्यतः पानी, दूध, घिउ, दही, मह, सुगन्ध, धूप, दीप, फूल, बेलपत्र, रुद्राक्ष, पुष्पमाला, कुश आदि प्रयोग गरिन्छ ।

रुद्राभिषेक कहिले गर्ने ?

रुद्राभिषेकका लागि शिवलिंगमा भगवान भोलेनाथको उपस्थिति हुनु महत्त्वपूर्ण छ । शिवरात्रि, प्रदोष र साउने सोमबार भगवान शिव शिवलिंगमा बस्छन भनिएको छ । यस्तो अवस्थामा रुद्राभिषेकका लागि यो समय नै उत्तम हो ।

रुद्राभिषेकको प्रकार

कलह हटाउन
दहीले रुद्राभिषेक गर्ने ।

राम्रो स्वास्थ्यका लागि
भांङले रुद्राभिषेक गर्ने ।

वंश विस्तारका लागि
घ्यूले रुद्राभिषेक गर्नाले वंश विस्तार हुन्छ।

ग्रह दोष हटाउन
गंगा जलले रुद्राभिषेक गर्ने ।

धन प्राप्तिका लागि
उखुको रसले रुद्राभिषेक गर्ने ।

घरमा सुख(शान्तिका लागि
दूधले रुद्राभिषेक गर्ने ।

शिक्षामा सफलताका लागि
महले रुद्राभिषेक गर्ने ।

शत्रुलाई परास्त गर्न
खरानीले रुद्राभिषेक गर्ने ।

रुद्राभिषेकको विधि

रुद्राभिषेक अघि भगवान गणेश, माता पार्वती, ब्रह्मदेव, माता लक्ष्मी, नवग्रह, माता पृथ्वी, अग्निदेव, सूर्यदेव तथा माता गंगाको ध्यान र पूजा गर्नुपर्छ । त्यसपछि रुद्राभिषेक सुरु हुन्छ । शिवलिंगलाई उत्तर दिशामा राख्नुपर्छ र रुद्राभिषेक गर्नेहरूको अनुहार पूर्व दिशामा फर्किएको हुनुपर्छ । त्यसपछि श्रृङ्गीमा गंगाजल हालेर शिवलिंगमा चढाउने र ओम नमः शिवाय मन्त्र, महामृत्युञ्जय मन्त्र तथा शिव ताण्डव स्तोत्र जप गर्ने ।

गंगाजल चढाएपछि भगवान शिवलाई दूध, दही, घिउ, मह, उखुको रस, तोरीको तेल, अत्तरआदि अर्पण गर्नुपर्छ । त्यसपछि सेतो चन्दनको पेस्टले शिवलिंगलाई सजाउनुपर्छ । यसपछि भगवान भोलेनाथलाई सुपारी, अक्षता, अबीर, सुपारी, बेलपत्र, भांग, जनै, धतुरो, आँकको फूल, भस्म, नरिवल आदि अर्पण गर्ने अनि फलफूल तथा मिठाईहरू चढाउने । अन्त्यमा सम्पूर्ण परिवारसँग भगवान शिवको आरती गर्ने । आरती पछि सम्पूर्ण घरमा अभिषेकको पानी छर्कने । रुद्राभिषेकको पानी घरभर छर्कदा रोगबाट मुक्ति मिल्छ भन्ने मान्यता छ ।

प्रतिक्रिया