आइतबार, वैशाख १६, २०८१

विपद आउनु पूर्वको तयारी   

नेपालखोज २०८० असार २६ गते ७:५१

काठमाडौं । विपद्जन्य जोखिम घटाएर जनधनको क्षति कम हुने व्यवस्था मिलाउँदै सुरक्षित रहन र तत्कालीन उद्धार र राहतका लागि आवश्यक कार्य गर्न विपद्का घटना हुनु पहिले गरिने सम्पूर्ण तयारीलाई विपद् पूर्वतयारी भनिन्छ । विपद् पूर्वतयारी गर्दा निम्नानुसार कार्यहरू गर्नुपर्दछः

क) जनचेतना अभिवृद्धि तथा तालिमः विपद् पूर्वतयारी कार्य सुरु गर्नुपहिले समुदायका सदस्यहरूलाई विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञान दिन आवश्यक हुन्छ । विगतका अनुभवका आधारमा प्रकोपको सम्भावना, स्थानीय ज्ञान, सिप र स्रोतको उपयोगमा समुदायको सहभागितामा छलफल गरी पूर्वतयारीको आधार बनाउनुपर्छ । पूर्वतयारी कार्यको सूची बनाएर संलग्न हुनेहरूको काम र समयको बाँडफाँड गर्नुपर्दछ ।

ख) प्रकोप, जोखिम, सङ्कटाभिमुखता विश्लेषणः मानवीय बसोवासको वस्तुस्थिति, भौगोलिक अवस्था र सम्भावित विपद्को जोखिम विश्लेषण विपद्पहिले गर्नुपर्ने काम हुन् । जोखिम विश्लेषण गर्दा प्रकोप र सङ्कटाभिमुख अवस्थाको पहिचान गर्नुपर्दछ । प्रकोपले सङ्कटाभिमुख अवस्था बढाउने हुँदा यी दुई तत्त्वको मिश्रणबाट विपद्को जोखिम बढ्दछ । 

ग) न्यूनीकरण तथा अल्पीकरणः जोखिम विश्लेषण गरिसकेपछि जोखिमको कारण, स्तर वा अवस्था र त्यसबाट हुन सक्ने क्षतिको अनुमान लगाउन र जोखिम घटाउन गर्नुपर्ने कार्यको पहिचान गर्न सकिन्छ । प्रकोपलाई टार्न सकिएमा सङ्कटाभिमुखताको अन्त्य भएर वा सङ्कटाभिमुख अवस्थामा रहेको पक्षलाई हटाउँदा प्रकोप टरेर जोखिम कम हुन्छ । 

घ) प्रदूषण नियन्त्रण, सरसफाइ र सुरक्षित आवासः शौचालय, पशुशाला, घरआँगन र गाउँ घर सफा राखेर महामारीजन्य विपद् नियन्त्रण गर्न सकिन्छ । घरायसी फोहोर, ढल, धाराको पानी आदि सुरक्षित तरिकाले खाल्डोमा हाल्ने वा फैलन नदिने प्रबन्ध गर्नुपर्दछ । 

ङ) खाद्यान्न तथा औषधीको सञ्चयः विपद् आकस्मिक घटनाहरूबाट हुने भएकाले त्यस्तो समयका लागि पारिवारिक तथा सामुदायिक रूपमा खाद्यान्न तथा औषधीको सञ्चय गर्नुपर्दछ । 

च) उद्धार तथा राहत सामग्रीको व्यवस्थापनः विपद्को समयमा परिवार र समुदायका सदस्यको उद्धार गर्न चाहिने सामग्रीको व्यवस्था गरी सुरक्षित र सजिलै भेटिने ठाउँमा राख्नुपर्दछ । भौगालिक क्षेत्र र सम्भावित विपद् अवस्थानुसार उपयोग हुने टर्चलाइट, लाइफ ज्याकेट, सियो, धागो, कुटो–कोदालो, बेल्चा, खुकुरी, डुङ्गा, ट्युब, टायर, डोरी र अन्य आवश्यक सामग्रीहरू झटपट झोलामा हालेर सजिलै भेट्ने ठाउँमा राख्नुपर्दछ । 

छ) उद्धार तथा राहतका लागि अभ्यासः विपद्को समयमा पीडितको उद्धार गर्न समुदायका सदस्यले सामूहिक अभ्यास गर्नसके क्षमता अभिवृद्धि हुन्छ । यस्तो अभ्यासमा सबै बालबालिका, महिला, जेष्ठ नागरिकलाई सहभागी गराउनुपर्छ । अभ्यासका क्रियाकलापहरू मनोञ्जनात्मक र सहभागितामूलक हुनुपर्छ ।

ज) आश्रयस्थलको व्यवस्थाः विपद्को समयमा आपत्कालीन आवासको व्यवस्था गर्न समुदायकै पहलमा सुरक्षित स्थानको पहिचान गरी आपत्कालीन आवास घर बनाउनुपर्दछ । 

झ) आपत्कालीन योजनाः विपद्का समयमा समुदायका कुन सदस्यले कुन कार्य गर्ने भन्ने छलफल गरी कामको विभाजन गर्नुपर्दछ । 

ञ) पूर्वसूचना तथा सुरक्षित स्थानान्तरणः विपद् हुने सम्भावना बढेपछि पूर्वसूचना आदानप्रदान गरी तत्कालै सुरक्षित स्थानमा सर्ने कार्य गर्नुपर्दछ । यस्तो अवस्थामा अशक्त, केटाकेटी, जेष्ठ नागरिक, बिरामी र महिलालाई प्राथमिकता दिएर सुरक्षित स्थानमा पुर्‍याउने कार्य गर्नुपर्दछ ।

युनिसेफ नेपाल

प्रतिक्रिया