आइतबार, वैशाख १६, २०८१

जुत्ताचप्पल सिलाएरै महिनामा ७० हजार कमाउने किसनराम

नेपालखोज २०८० असार २६ गते ८:०३

कल्पना गर्नुस् त ! तपाईं काम विशेषले कतै जाँदै हुनुहुन्छ र अचानक बाटोमा जुत्ताको सोल उप्किन्छ या चप्पल चुँडिन्छ। एउटा मनस्थिति बनाएर काममा हिँडेको तपाईं पक्कै छट्पटिनुहुन्छ। तपाईंसँग नयाँ जुत्ता–चप्पल किन पर्याप्त पैसा नहुन पनि सक्छ। अनि यस्तो बेला कोही जुत्ताचप्पल सिलाउने कोही छ कि भनेर यताउति हेर्नुहुन्छ वा यसबारे कसैलाई सोध्नुहुन्छ। यस्तै समस्याको समाधान हुन् किसनराम चमार ।

सर्लाही जिल्ला रामनगर गाँउपालिका वडा नं ४ बहुहारवामा जन्मिएका किसन ४१ वर्षका भए । उनका किसान बुवा मडु महरा चमारले साहुहरूको खेती कमाउँदै परिवार पाल्दै आएका थिए । तर उनी अहिले ८३ वर्षको भए । खेतीपाती गर्न सक्दैनन्। बुवाले गरिआएको कृषि पेसा मन नपरेर आफैं केही गर्छु भनी १५ वर्षको उमेरमा किसन काठमाडौं आएका थिए ।

‘घरको जेठो छोरा भएपछि जिम्मेवारीले पोल्न थाल्यो,’ किसन सुनाए, ‘अरुको खेतबारी कमाएर वर्षमा एक–दुई बाली भित्र्याएर मात्रै भएन, आफूले पाँचभन्दा बढी कक्षा नपढे पनि भाइबहिनीलाई चाहिँ पढाउनुपर्छ भन्ने सोच जाग्यो । त्यसैले सानै उमेरमा काठमाडौं आएर संघर्ष गर्न थालें ।’

किसन पहिलोपटक काठमाडौं आँउदा खानबस्न समस्या भएन। पहिल्यैदेखि साथी गगनदेव चमार आएर बसेका थिए । किसन उनीसँगै बस्न थाले। एकाध दिन बसेपछि सधैँ बसेर खान पाइने थिएन । संघर्षका दिन बल्ल सुरु भए ।

‘गगनले बिहानैदेखि जोरपाटी, मेडिकल कलेज, सुन्दरीजल, आरुबारी, कपन, चाबहिल, चुनीखेलमा जुत्ता सिलाउने काम सिकाउन लग्यो,’ किसनले भने, ‘आफू दुब्लोपातलो थिए । त्यसैमाथि १५ वर्षे ठिटो । आवश्यक सामान बोकेर हिँड्न कठिन हुन्थ्यो । सुरु–सुरुमा लाज पनि लाग्थ्यो ।’

यसरी दुई जनाले दुःख गर्दा दिनमा डेढ सयदेखि दुई समयसम्म कमाइ हुन्थ्यो । गल्लीगल्लीमा गएर ‘जुत्ताचप्पल सिउने आयो’ भन्दै हिँडे । कतिले गाली पनि गरे । ‘धोती’ भनेर अपहेलना पनि गरे । तर बिस्तारै बानी पर्दै गयो। ‘बानी परेपछि जे भने पनि चुप लागेर बस्ने र आफ्नो काम गर्न थालेँ,’ किसनले सुनाए ।

काठमाडौं आएको तीनदेखि चार महिनाभित्र काम सिके । ‘ऋणको भारी र घरपरिवारको कमजोर आर्थिक अवस्था भएपछि काम पनि छिटो सिकिने रहेछ,’ किसनले भने, ‘काम सिकेपछि केही आशा जाग्यो ।’

काम सिकेर यसैमा भविष्य देखेका किसनले समय बित्तै पत्तै पाएन । काठमाडौं आएको ९ वर्षपछि रौतहटकी गंगाजल देवी चमारसँग मागी बिहे गरे । दुई छोरा जन्मिए । उनीहरूलाई हुर्काउँदा, बढाउँदा र पढाउँदा ऋण लाग्यो । त्यही ऋण तिर्न फेरि काठमाडौं आउनुपरेको कथा किसनले सुनाए ।

वर्षौंको मिहिनेत र लगावले हिजोआज कमाइ पनि राम्रै हुँदै गएको छ । ‘अहिले दिनको एक हजार देखि १५ सयसम्म हुन्छ,’ उनले सुनाए, ‘असोजदेखि माघसम्म जाडो याममा मासिक ६० देखि ७० हजारसम्म कमाइ हुन्छ। अरु बेला ३५ देखि ४० हजारसम्म हुन्छ ।’

दुई दशक लामो यो पेसामा किसनले अहिलेसम्म सबैभन्दा धेरै दिनको २७०० र सबैभन्दा कम ७० रुपैयाँ कमाउछन् ।

सामान्यतय पाँच हजारको लगानीबाट यो काम सुरु गर्न सकिने किसनको अनुभव छ । यही दुःख गरेर छोराहरूको अध्ययन सकेसम्म पूरा गरिदिने किसनुको धोको छ । नत्र विकल्पमा विदेश पठाइदिने सोच राखेका छन् । ‘तर छोराहरूलाई आफूले गरेको काममा हात पनि लगाउन दिन्नँ,’ किसनले भने ।

कागेश्वरी मनोहरा–८ किरातचोकमा बस्दै आहिरहेका किसनको जीविकोपार्जन यही सिलाइ पेसाले गरिरहेको छ। छोराले पनि यसकै आधारमा पढिरहेका छन् । सबै खर्चको स्रोत पनि यही हो ।

INS

प्रतिक्रिया