युरोपमा गर्मीको लहर : करिब ६१ हजार मानिसको मृत्यु

एक युरोपेली संस्थाको अनुसन्धान प्रतिवेदन अनुसार सन् २०२२ को मे देखि सेप्टेम्बरसम्म युरोपमा गर्मिका कारण ६१ हजार ६०० जनाको मृत्यु भएको थियो । ती सबै मृत्यु चर्को गर्मीका कारण भएको दाबि छ । युरोपियन इन्स्टिच्युट अफ हेल्थको यो प्रतिवेदनले पश्चिमी देशहरूमा गर्मीबाट बच्ने उपायहरू अपर्याप्त भएको देखाउँछ ।
२०२२ लाइ रेकर्डमा युरोपको सबैभन्दा तातो वर्षका रूपमा लिइएको थियो तर अहिले २०२३ ले त्यस लाई पनि उछिन्दैछ । ३५ वटा युरोपेली देशमा केन्द्रित यो अनुसन्धानले यो महाद्वीपलाई गर्मीले कसरी प्रभावित गरिरहेको छ भन्ने देखाउँछ ।
नेचर मेडिसिन जर्नलमा प्रकाशित यो प्रतिवेदनमा भूमध्यसागरीय मुलुक ग्रीस, इटाली, पोर्चुगल र स्पेनमा सबैभन्दा बढी मृत्यु भएको उल्लेख छ । इटालीमा सबैभन्दा बढी १८ हजार १० जनाको मृत्यु भएको छ भने स्पेनमा ११ हजार ३२४ तथा जर्मनीमा ८ हजार १७३ जनाको मृत्यु भएको छ ।
गर्मीको प्रकोप
बार्सिलोना इन्स्टिच्युट अफ ग्लोबल हेल्थका प्रोफेसर तथा प्रतिवेदनका सह(लेखक जोआन ब्यालिस्टर भन्छन् ( भूमध्यसागर मरुभूमिकरणबाट प्रभावित भएको छ। सुख्खा मौसमका कारण यतिबेला गर्मीको लहर धेरै पटक आउँछ। गएको गर्मीमा गम्भीर खडेरी र जंगली डढेलो युरोपेली देशहरूमा सामान्य जस्तै थियो। जुलाई महिनामा पोर्चुगलको तापक्रम ४७ डिग्री पुगेको थियो । यसअघि सन् २००३ मा तापक्रम त्यो स्तरमा पुगेको थियो ।
फ्रान्स सहित केही युरोपेली देशले २००३ को प्रचण्ड लु पछि बढ्दो तापक्रमको सामना गर्न राष्ट्रिय योजना बनाएका थिए । यश अन्तरगत चेतावनी प्रणालीहरू बिकसित गरिनुका साथै शहरहरूमा थप हरियो सिर्जना गर्ने काम गरियो । यद्यपि अहिले आएर यो रिपोर्टले ती सबै प्रयास पर्याप्त नभएको देखाएकोछ ।
अन्वेषकहरूका अनुसार घातक गर्मीले वृद्ध र महिलाहरूलाई बढि हानि पुर्याएको छ । लगभग ६२ हजारको मृत्युको विश्लेषणमा गर्मी सम्बन्धी मृत्युदरमा पुरुषको तुलनामा महिलाहरुको मृत्यु ६३ प्रतिशतले बढी भएको पाइयो । यसमा उमेर पनि एउटा महत्त्वपूर्ण कारक थियो । किनभने ६५ वर्ष माथिका व्यक्तिहरूको मृत्यु दर उल्लेखनीय वृद्धिको साथ सबैभन्दा बढि थियो ।
रोयटर्स
प्रतिक्रिया