बुधबार, जेठ २, २०८१

‘अई बेर धानके गबो नई लागल’

नेपालखोज २०८० असार २८ गते ८:०७

‘अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय’ (यसपालि मुखमा माड लाग्ने केही उपाय देखिन्न) लामो सास फेर्दै महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान गोविन्दलाल खाँ थारुले भने, ‘धानके गबो नई रोपायल, परिवारक प्रतिपाल केना होतै ?’ (धानको गाबो नै लगाउन पाइएन, जहान परिवारको गुजारा केले होला ?) ।

असार मास (महिना) मा चैत वैशाखको जस्तो हुरहुरे बतासले धुलो उडाउनु खडेरी (अनिकाल) को कुलक्षण भएको थारुको चिन्ता छ । थारुजस्तै यहाँका आम किसान अहिले मुख्यबाली भनिने धान लगाउन नपाएपछि चिन्तामा छन् ।

‘अखाढ अन्तिम भगेल, ऐखनधैर रोप हरियाके चाही, मुदा अईबेर पाइनक अभावमे रोपनिए नई भसकल’ (असार सकिनै लाग्यो, यतिखेर धानको रोपो हरियो भएर लहलहाउनु पर्ने हो, तर यसपालि पानी नभएर रोपाइँ नै गर्न सकिएन) थारुकै छिमेकी ७० वर्षीय रघुवर महराले मनको पीडा पोखे ।

झमझम असारे झरीमा रुझ्दै धान रोप्नु, गोड्नु पर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि यहाँका किसानलाई यसपालि अनिकालको चिन्ताले पिरोलेको छ । मध्य असारअघि धानको शाही (बीउ) रोप सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन् ।

‘अहिले त पहिलो रोपो लहलहाएर हरियो देखिनु पथ्र्यो, तर हामीले त धानको गब नै हाल्न पाएका छैनौँ’, भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान हरिदेव साह भने, ‘मुख्यबाली धान नै लाउन नपाएपछि घरपरिवार लालाबालाको प्रतिपाल खै कसरी गर्ने होला रु” सबैको समान चिन्ता छ । असार तेस्रो साता सकिनै लाग्दा गत मङ्गलबार रातिदेखि बुधबार बिहानसम्मको पानी पराईले अब चाहीँ झरी पर्ला भन्ने लागेको आश उसै दिन मरेको किसान बताउँछन् । ‘

ढिलै भएपनि झरी लाग्लाजस्तो लागेको थियो, तर बुधबार मध्यान्हपूर्व नै टण्टलापुर घाम लाग्यो’ मटिहानी–३ का किसान इलियास राइन भने, ‘अब धान रोप्न पाइने आश छाडे हुनेभयो ।’ असार सकिनै लाग्दासम्म बीउ रोप लाउन नसकिएको धानबाट अब हात धोेए हुने राइन बिरक्तिदै बताए ।

यता हिउँदे धानखेतीमा जेठ मध्यअघि ब्याड राख्ने, असार मध्यअघि शाही (बीउ) रोप सक्ने र साउन मध्यअघि खरुअन (कलम, बीउ रोपको धान गाँजिएपछि त्यो उखेलेर रोपिने) रोपिने स्थापित तालिका छ । तर यसपालि पानीकै अभावले किसानले राम्ररी ब्याड राख्न पनि सकेनन् ।

धानको हिले ब्याड राम्रो मानिए पनि पानी नभएपछि घर नजिक घुर्यानमा थोरथार राखिएको धुले बीउ पनि पानी बेगर पहेंलिएर सुकेको किसानको दुखेसो छ । ‘अब त पानी परे पनि त्यो बचेखुचेको बीउ रोप्ने-नरोप्ने विचार गर्नपर्ला, बीउमा हाँगा फाटी सकेको हुँदा त्यति छिप्पिएको बीउ रोपेर के फलाउला भन्ने आश गर्नु ?’ बलवा नगरपालिका–११ भलनीका जगत यादव भने ।

वर्षाकाल (याम) भनिने असारमा दिनभरि चर्को घाम र रातभरि आकासमा झलमल्ल तारा देखिन्छन्’ जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा ऋतु लक्षणका जानकार यस क्षेत्रका स्थापित साहित्यकार ८५ वर्षीय महेश्वर राय भने, ‘अहिलेको दिन लक्षणले त असारको भनक नै दिंदैन ।’

महाकवि कालिदासले आफ्नो कालजयी कृति मेघदूतम्मा असार सङ्क्रान्तिका दिन नै आकाशमा पानी ल्याउने मेघ (बादल) देखिने चर्चा गर्नुभएको रायले स्मरण गरे । ‘महाकवि कालिदासले ऋतु लक्षणका आधारमा असार लाग्नासाथै मेघ मडारिने र वर्षा सुरु हुने सन्दर्भ आफ्नो कृति मेघदूतम्मा जोड्नु भएको छ’ सरकारी सेवाबाट अवकास लिनुभएका राय भने, ‘अब त ती ऋतु विचार सान्दर्भिक देखिन, बुझिन छाडे ।’

अवकास जीवनलाई खेतीसँग जोड्न खोजेको आफुलाई मौसमले साथ नदिएको उनको भनाइ छ । प्राकृतिक सम्पदा वनजङ्गल, पाखापहरा, नदी, खोल्साखोल्सी र नदी उकास क्षेत्रमाथि अनियन्त्रित खेलवाडले पुराना ऋतु लक्षणका मान्यता खण्डित हुँदै गएका रायको ठहर छ ।

यसपालि गत हिउँददेखि नै खडेरीको लक्षण देखिएको पाका किसान सम्झन्छन् । हिउँदभरि पानी नपरेरै बितेपछि पानीका स्रोतका मुहान (नदी, खोल्साखोल्सी, इनार, बोरिङ्ग, चापाकल, जरुवा) चैतदेखि नै सुक्दै गएर खेती मात्र नभएर धेरै ठाउँमा खानेपानीको समेत हाहाकार परेको छ ।

सिँचाइको प्रबन्ध नहुनु, समयमा बीउ, मल नपाउनु र खेतीपातीका लागि सुलभ ऋण नपाउनु आपूmहरुको दुःख भएको किसान बताउछन् । तीन तहका सरकार भएपनि आफ्ना हितमा उल्लेखनीय कुनै काम हुन नसकेको आम आधारभूत तहका किसानको गुनासो छ ।

सरकारले बर्सेनि बजेटमार्फत किसानका सहुलियतका लागि घोषणा गरेका कार्यक्रम टाठाबाठाले नै हजम गरेपछि आफुहरु आकाश ताकेर बिरक्तिनु परेको बर्दिबास–९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापा मगर बताए ।

जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये ५० हजार हेक्टरको सेरोफेरो धान खेतीका लागि उपयुक्त मानिएको छ । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये मुस्किलले १० प्रतिशत मात्र सिंचित (कुलो, नहरको पानी लाग्ने) छ । यसबाहेक सबै जग्गा आकासेपानीको भरमा खेती गर्नुपर्ने हुँदा किसानले जुनसुकै बालीको उपयुक्त बेलामा खेती लगाउन पाएका छैनन् ।

प्रतिक्रिया