बुधबार, जेठ २, २०८१

तार्कुघाटको झोलुङ्गे पुल

सुनिल उलक २०८० असार २८ गते ९:२८

झोलुङ्गे पुलको इतिहास हामीले पल्टाएर हेर्यौ भने हामी फर्केर राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई सम्झनुपर्छ । राणाहरूले केवल देशको ढुकुटी रित्याए वा मोज मस्ती मात्र गरे भन्ने गलत मानसिकता नेपालीहरूमा परेको पाउँछौ ।

राणाहरूले आफ्नो प्रभुत्व गुम्न नदिन राजनीति गर्न खोज्ने वा टाठा बाठा हुन खोज्नेहरूलाई निकै दबाएका थिए । तर समुच्च जनतालाई सम्पूर्ण सुविधाहरूबाट वञ्चित गराएका थिएनन् । राणा कालमा केही राणाहरूले मोज मस्ती गरे होलान्, धन सञ्चय गरे होलान् । त्यस्तै पञ्चायत कालमा पनि केही पञ्चहरूले मोज मस्ती गरे होलान् धन सञ्चय गरे होलान् ।

अहिले गणतन्त्र कालमा पनि केही नेता र नेताका चम्चाहरूले मोज मस्ती गरेका नै छन् र धन सञ्चय पनि गरिरहेका छन् । आखिर हामीले व्यवस्था बदलिए पनि ठुलाठालु हुन खोज्नेको सोच त बदल्न सकेनौ । हरेक चुनावमा आँखा चिम्म गरेर तिनीहरूलाई नै भोट दिँदै जिताउने त हामी नै हौ । शासन पद्धति त कहिल्यै गलत थिएन केवल शासकहरू गलत भइदिए ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९६० तिर नेपालमा झोलुङ्गे पुल राख्ने अभियान नै चलाएका थिए । यी झोलुङ्गे पुलहरू केवल काठमाडौको लागि बनाइएका थिएनन् । दुर्गम गाउँहरूमा पनि राखिएका थिए । ४० वर्ष अगाडिसम्म पनि गुलजार नभएका गाउँहरू नजिकैका खोलाहरूमा पनि झोलुङ्गे पुलहरू बनाइएका थिए । झोलुङ्गे पुलको लागि आवश्यक फलामे सामानहरूको लागि नजिकैको भारत होइन ।

युरोपको एक छेउमा रहेको स्कटल्यान्डको उत्तरी सहर एबरडीनसंग नाता गाँसिएको थियो । भौगोलिक रूपले भनौँ भने ७००० किमी भन्दा टाढा थियो । तर त्यहाँ देखि आजभन्दा ११८ वर्ष अगाडि फलामे सामग्रीहरू ल्याएर नेपालमा झोलुङ्गे पुलहरू बनाइएका थिए । अहिलेका दलिए नेताहरूमा त्यतिको सोच भेटिँदैन ।

जोन एम हेन्डरसन कम्पनी, एबरडीन, स्कटल्यान्डमा रहेको पुल तथा अन्य कामको लागि आवश्यक फलामका लट्ठा तथा केबलहरू तैयार बनाउने कम्पनी थियो । यस कम्पनीका एक्ला मालिक जोन मैकडोनाल्ड हेन्डरसन एक प्रतिभाशाली इन्जिनियर थिए ।

केही न केही नयाँ प्रयोग गरिरहने यी इन्जिनियरले सन १८६६ मा आफ्नै कम्पनी खोलेर विभिन्न निर्माण सामग्रीहरू तैयार गर्न थालेका थिए । १८८० सम्म आइपुग्दा फलामे पुलका सामग्रीहरू तैयार गर्न थालका थिए भने १९२७ मा आइपुग्दा पानीजहाज कारखाना पनि सुरु गरेका थिए ।

शायद भारतमा रहेका अङ्ग्रेज अफिसरहरू मार्फत यस कम्पनीसङ नेपालको पनि सम्पर्क भएको हुनुपर्छ । यही कम्पनीलाई नै नेपालमा सय भन्दा बढी झोलुङ्गे पुलहरू बनाउन जिम्मा दिइएको थियो ।

नेपालका ठुला तथा साना नदिहरुमा बाँसका पुलहरू हिउँदमा काम लाग्थे । वर्षातको भेलमा बगाएर लग्दथ्यो । यसरी अस्थायी बाँसे पुलहरूले वर्षात मौसममा ठुलो समस्या भोग्नुपर्दथ्यो । यसर्थ चन्द्रशमशेरको समयमा जोन एम हेन्डरसन कम्पनीसङ पुल निर्माणको लागी काम सुरु भयो ।

पहिलो नमुना पुलको रूपमा हेन्डरसन कम्पनीले वि.सं १९६४ मा सिन्धुली र रामेछापको बिचमा सुनकोसी नदी माथि पुल बनाएको थियो । खुर्कोटमा बनाएको पुलले निकै वर्ष सेवा दियो । यो पुललाई २०४२ सालको साउनमा सुनकोसी नदिमा आएको ठुलो बाढीले बगाएर लगेको थियो ।

चन्द्रशमशेरले एबरडीन कम्पनीलाई कति वटा पुल जडान गर्न दिए भन्ने यकिन तथ्य नभए पनि पछिल्लो समय ५० वर्ष अगाडि सम्म ४०/५० वटा फलामे पुलहरूमा जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड को नाम राखिएको भेटिन्थ्यो । अहिले भने भेटिने सम्भावना निकै न्यून हुनसक्छ । काठमाडौमा बागमती र विष्णुमती लगायत मर्स्याङ्दीको तार्कु घाट, कास्कीको मौजामा पनि जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड लेखिएको फलामे झोलुङ्गे पुल देखिन्थ्यो । 

यसपछि झोलुङ्गे पुलका कुरा गर्नुपर्दा बागलुङका स्थानीय कामीहरूलाई सम्झनुपर्छ । आफ्नै मेहनत र हातले बनाएका फलामका साङ्लाबाट आफ्नै बलबुताले झोलुङ्गे पुल बनाउने गर्दथे । सन १९६० र ७० को दशकमा स्विस तथा अमेरिकी सहयोगमा ४३ वटा आधुनिक पुल बनेको थियो ।

जबकि ७० को दशकमा बागलुङवासीले आफ्नै स्वदेशी श्रम र सामग्रीबाट ६२ वटा झोलुङ्गे पुल बनाएका थिए । पुलको लागत मूल्य पनि निकै न्यून थियो । सरदर १०,००० मा एउटा पुल तैयार भएको थियो । ३० फुट देखी ३०० फुट सम्म लामो पुल स्थानीयहरूले स्थानीय सामग्रीले नै बनाएका थिए । जसले गर्दा त्यति बेलाका दातृसंस्थाहरू बिच एउटा अघोषित नारा नै भएको थियो बागलुङबाट केही सिकु ।

यहाँ राखिएको तस्बिर लमजुङको तार्कुघाटको मर्स्याङ्दीको पुल हो । तार्कु घाट अहिले लमजुङ जिल्ला राइनास नगरपालिका अन्तर्गत पर्दछ । यहाँको मर्स्याङ्दी नदि ले तनहुँ र लमजुङलाई छुटाउने गर्दछ । पहिले पहिले काठमाडौबाट पोखरा हिँडेर जाँदा यही मर्स्याङ्दी नदीको फलामे झोलुङ्गे पुल हुँदै कुन्छा पुग्दथे ।

काठमाडौ उपत्यकाबाट पलायन भएर हिँडेका नेवास्हरुको यस क्षेत्रको वरपर निकै धेरै भेटिन्छ । गोरखा पछि नेवास्हरुको साना साना बस्तीहरू यहीँ नजिकै भेटिन्छ ।

राइनास, खोपलाङ, कुन्छा, शिशाघाट आदी स्थानमा बसेको पाउँछौ । यहीँ तार्कुघाटबाट दक्षिण लागेकाहरू भने बन्दीपुर सम्म पुगेको देखिन्छ ।

यो पुलको पारी देखिएको सानो तार्कु घाट गाउँमा केही घर तथा एउटा विद्यालय देखिन्छ । यो पछाडि देखिएको विद्यालयको नाम श्री वीर भक्ति हाई स्कुल थियो । अहिले उच्च मावि भएको छ । यस विद्यालयमा २०२५ सालतिर प्रधानाध्यापक थिए, नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महत । शायद ३/४ वर्ष प्रधानाध्यापकको रूपमा रहे होलान् ।

प्रतिक्रिया