शुक्रबार, जेठ ४, २०८१

२ सय देशका मानिस अटाउने दुबई, यसरी सम्भव भयो विकास !

हरेक विकासको काम १० गुणा बढी छिटो गर्ने सपनालाई व्यवहारमा उतारेकाले नै दुबईको तीव्रतर विकास भएको हो ।

नेपालखोज २०८० असार ३० गते १६:०७

नेपालको विकास दुबईजस्तो असम्भव : डा. पोखरेल

काठमाडौं । खाडी मुलुक दुबई अहिले संसारभरका मानिसको आकर्षक रोजगार दिने मुलुक बनेको छ । नेपालबाट पनि हजारौं युवाको रोजाइमा पर्ने देश हो दुबई । २५ वर्षको अन्तरालमा दुबई कसरी विश्वमै गनिएको आर्थिक रुपमा सम्पन्न मुलुक बन्यो त ? यो सबैको जिज्ञासाको विषय हो । अहिले दुबई विश्वले रुचाएको सहर तथा व्यापारिक हब बनेको छ । यता सरकार विकासमा प्रतिबद्ध भए दुबई मुलुकजस्तो नेपाल पनि बन्नसक्छ भन्ने अड्कलबाजी केही नेपालीले गर्ने गर्छन् । तर, पूर्वाधारविज्ञ डा. गोविन्दराज पोखरेल नेपाललाई दुबईजस्तो हैन मध्यम आय भएको राष्ट्रचाहिँ २५ वर्षसम्ममा बनाउन सकिने तर्क गर्छन् । डा. पोखरेलको यो भनाइबाट प्रस्ट हुन्छ कि दुबईको विकासको कामको फोटोकपी नेपालले गर्न असम्भव नै छ ।

सन् १९७१ मा अंग्रेजहरूले छोडेर गएपछि आधुनिक दुबईको विकास हुन थालेको हो । सर्वप्रथम दुबईको अर्थव्यवस्था तेलको उद्योगबाट बनेको हो । पछिल्लो समय तीव्र रुपमा सरकारी घर निर्माण तथा बेचबिखन, व्यापार र आकर्षक पर्यटकीय गन्तव्यका कारण दुबई झन् धनी राष्ट्र हुन सफल भएको छ । व्यापार गर्ने सहज वातावरण र लगानीमा चतुर्‍याइँपूर्ण निणर्य शक्तिका कारण खाडी राष्ट्रमध्ये दुबई आर्थिक अवस्था सुधार गर्नेमा सशक्त मानिन्छ । दुबईले संसारका मानिसहरूलाई आकर्षण गर्नुको कारण आकर्षक संरचना तथा बृह्त परियोजनाको निर्माण हो । २५ वर्षपहिले दुबईमा केही थिएन । बालुवा नै बालुवाको देश थियो । मरुभूमिमा खेती-किसानी गरेर जीविका गर्नु धेरै परेको कुरा थियो ।

दुबईमा न अन्न उब्जिन्छ, न पानीको स्रोत नै छ, न खनिज पदार्थ, न त सुन खानी नै । तर पनि विश्वका मानिसलाई पाल्ने सामर्थ्य भने कसरी राख्छ भन्ने कुतूहल भने विश्वमै छ । दुबईको विकासमा विशेष योगदान दिने श्रेय यस देशका शासक सेख मोहम्मद बिन रासिद अल माक्तुम र उनी मातहतका मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरूलाई जान्छ । माक्तुमले विकासको सपना बुनेर दूरदर्शी किसिमले व्यवहारमा रुपान्तरण गरेकाले नै विकसित मुलुक दुबईको सम्भव भएको हो ।

२५ वर्षदेखिको विकासको रफ्तार हेर्ने हो भने दुबई जुनसुकै विकासको काममा अग्रणी छ । यहाँका अधिकांश संरचना ‘दुबईमा मात्र’ वा ‘विश्वमा मात्र एक’ भन्ने गरी बनेका छन् । यहाँ भवन निर्माण गरे सबैभन्दा ठूलो र टावर बनाइए पनि सबैभन्दा उच्च बनाउने गरिएको छ । यस देशले समुद्रमुनि विश्वकै आकर्षक पुल, आकर्षक टेनिस कोर्ट र मानव निर्मित ठूलो टापु नै बनाएको छ । विश्वमा एकमात्र सेभेन स्टार होटेल पनि दुबईमै छ । विश्वको सबैभन्दा ठूलो फूल बगैंचा अर्थात् दुबई मिरेकल गार्डेन, विश्वको सबैभन्दा अग्लो फाइभ स्टार होटेल, सबैभन्दा ठूलो गोल्ड मार्केट र दुबई ल्यान्ड यहाँको अर्को विशेषता हो ।

दुबईले संसारका मानिसहरूलाई आकर्षण गर्नुको कारण आकर्षक संरचना तथा बृह्त परियोजनाको निर्माण हो ।

दुबई सरकारले सन् २०३० सम्म २५ प्रतिशत भवन थ्रीडी प्रिन्टिङमा आधारित भएर बनाउने भएको छ। ४० तलाको भवन थ्रीडी प्रिन्टिङ प्रविधिको माध्यमबाट बनिसकेको छ । यो मुलुकको अर्को चमत्कार भनेको एकजना मात्रै यात्रु बस्न सक्ने खालको ५० किलोमिटर यात्रा गरेर फर्किने प्यासेन्जर ड्रोनको निर्माण पनि हो ।

दुबईका शासक अल माक्तुम र उनी मातहतका पदाधिकारीले दुबई ‘टेन-एक्स प्रोजेक्ट’ को खाका नै कोरेका छन् । उक्त आयोजनाको उद्देश्य हरेक काम १० गुणा छिटो, १० प्रतिशत बढी दक्ष जनशक्ति र १० गुणा ठूलो काम होस् भन्ने रहेको छ । हरेक विकासको काम १० गुणा बढी छिटो गर्ने सपनालाई व्यवहारमा उतारेकाले नै दुबईको तीव्रतर विकास भएको हो ।

यस्तै दुबईले बनाएको प्रभावकारी क्यानल प्रोजेक्ट विकासको अर्को उदाहरण हो । यो प्रोजेक्टअनुसार यातायातको अहिलेको मोडल पूरै परिवर्तन हुँदै छ । क्यानल प्रोजेक्टअन्तर्गत दुई सयवटा घर हुनेछन् भने फ्लोटिङ रेस्टुरेन्ट र मरिना विचेज पनि बन्नेछ । ३० वर्षअघिसम्म टाट पल्टिएको झैं अवस्था भएको दुबई ‘भिजिनरी लिडरसिप’ वा दूरदर्शी नेतृत्वका कारण विश्वकै स्मार्ट देश बन्न सफल भएको हो । यो देशमा ‘वर्ल्ड मोस्ट कनेक्टेड मार्केट सिटी’को अवधारणा कार्यान्वयन दूरदर्शी नेतृत्वका कारण नै सफल भएको हो । पूर्वाधारको विकासमध्ये दुबईको अर्को उदाहरणीय काम हो ‘हाइपर लुप रेल’ । उच्च प्रविधिको यो रेलबाट एकैचोटि १० हजार यात्रुले १२ मिनेटमा दुबईदेखि अबुधाबीसम्म (१४० किलोमिटर) यात्रा गर्न सक्छन् ।

दुबईले सन् २०२५ सम्म २५ प्रतिशत गाडी ड्राइभरबिना चल्ने प्रणालीको विकास गर्दै छ । ३० जनासम्म यात्रु बोक्ने उक्त गाडीमा ड्राइभर हुँदैन । यात्रुले मोबाइलमा एप्स डाउनलोड गरेर अनलाइन भुक्तानी गरे हुन्छ । गाडी प्रत्येक स्टेसनमा रोकिनेछ । यस्तै एकपछि अर्को गर्दै दुबई सरकारले स्मार्ट पुलिस स्टेसन पनि बनाउँदै छ । पुलिस नचाहिने यो नीतिअनुसार सबै काम अटोमेटिक सिस्टमबाट हुने गर्छ । आपराधिक रेकर्ड राख्न, दुर्घटना भए, सामान हराए वा भेटिए पुलिस स्टेसन गएपछि प्रहरीलाई भेट्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । फुल्ली अटोमेटिक मेसिनबाट सबै काम हुन्छ । यो प्रविधिले धेरै प्रहरी राख्नुपर्ने बाध्यता हुँदैन र भ्रष्टाचार पनि एकदम कम हुन्छ । तलबमा बढी रकम पनि खर्चिनु पर्दैन । फलस्वरुप, दुबई सरकारको ठूलो राशिमा आम्दानी भई धनी राष्ट्र बन्न यसले ठूलो टेवा मिलेको छ ।

बालुवा मात्रै भएको देश दुबईमा भवन निर्माण गर्न माटोको गुणस्तर भने कामै नलाग्ने छ । तर यो खाडी राष्ट्र त्यही कामै नलाग्ने बलौटे जमिनमुनि तलैतला भएको भवन बनाउन सफल भएको छ । यो सम्भव भिजन भएर मात्र होइन, लगानीअनुसारको काम गर्ने प्रतिबद्धता भएकाले नै सम्भव भएको अन्तर्राष्ट्रियविद्हरू औंल्याउँछन् ।

समुद्रकिनारको माटोमा ठूलाठूला भवन टिक्दैनन् भनिन्छ । तर दुबईमा यो सम्भव भएको छ । त्यहाँको सरकारको मान्यता कुनै पनि काम मध्यम हैन ‘वन्ली वन’ वा ‘नम्बर वन’ हुनुपर्छ भन्ने छ । यो देश पूर्वाधार तथा विकासका विभिन्न कामहरू सम्पन्न गर्न आफ्नो देशका जनशक्तिको दिमागले भ्याएन भने विश्वका नम्बर वन कन्सल्टेन्टलाई करोडौं तिरेर ल्याउन पछि पर्दैन ।

अहिले दुबईमा ४० भन्दा बढी गगनचुम्बी अत्याधुनिक भवन छन् । जसलाई विकसित देशकै ठूलाठूला पूर्वाधार विज्ञहरूले देखेर आश्चर्य मान्ने गर्छन् । अर्को उदाहरणीय कामअनुसार बालुवाको संसार दुबईमा फालाफाल पानी पाइन्छ अहिले । ठूलाठूला गगनचुम्बी भवनहरू निर्माण हुँदाका बखत र दैनिक हजारौं मानिस आउने फाइभ स्टारदेखि सेभेन स्टार होटेलसम्म लाखौं लिटर पानी चाहिने गर्छ । उद्योग कलकारखाना र घरायासी भान्सा, नुहाइधुवाईलगायतको काममा पनि दैनिक लाखौं लिटर पानी चाहिन्छ । तर त्यो सबै बालुवाको देश दुबई मुलुकमा सम्भव भएको छ । यो उनीहरूको गहन अनुसन्धान र कामप्रतिको प्रतिबद्धताले सम्भव भएको हो । अनुसन्धान टोलीले दुबई सहरदेखि केही किलोमिटर टाढा बालुवैबालुवाको मैदानमुनि पानीको स्रोत भएको पत्ता लगायो । त्यसपछि अत्याधुनिक मेसिनको प्रयोग गरेर सबै देश तथा विदेशका नागरिकलाई पनि पानी उपभोग गराउन सफल भएको छ यो देश । पानीको स्रोत व्यवस्थापन चुस्तदुरुस्त बनाउन सकेकाले नै अहिले घरघर, होटेल, उद्योगलगायत सबै क्षेत्रमा पानीको अभाव झेल्नुपरेको छैन ।

विभिन्न देशका युवाहरू ५० डिग्रीसम्म तापक्रम सहेर दुबईमा खुसीसाथ काम गरेर कमाइ गरिरहेका छन् । ५० डिग्री सेल्सियससम्मको तापक्रममा लाखौं श्रमिकलाई काम गर्ने वातावरण पनि दुबई सरकारले बनाएकै छ । नेपाल, भारत, पाकिस्तानलगायत विभिन्न देशका नेतृत्ववर्गले विकासको काम दिमागमा मात्रै लिने गर्छन् । कागजमा योजना बनाइहाले पनि कार्यान्वयनमा समस्या हुन्छ । तर दुबईको नेतृत्व यस्तो छ उसले विश्वका थिंक-ट्यांक तथा स्वस्थ मजदुरलाई अर्बौं रुपैयाँ खर्च गरेर काममा खटाउने गरेको छ । नेपाललगायत विकासोन्मुख देशहरू काम गरेपछिको परिणाम सोच्ने गर्छन् । तर दुबईको नेतृत्व काम सुरु गरेपछि वा सकिएपछि अझ दूरदर्शी किसिमले अर्को ढंगले विकासको काम अघि बढाइहाल्छन् । नेपालमा चिन्तनशील नेतृत्व मात्र छ, काम गरिहाल्ने प्रतिबद्ध नेतृत्व छैन । दुबईका शासकहरू बाह्य देशका श्रमिकलाई उनीको पनि गतिलो आर्थिक भविष्य हुनेगरी काम लगाउँछन् । दूरदर्शी योजना बनाउँछन् । काम हुँदै गर्दा अझ ठूलाठूला सपना बुन्ने गर्छन् र त्यो सपनालाईं व्यवहारमा उतार्न फेरि बाह्य देशका थिंक-ट्यांक बोलाएर लागु गराई छाड्छन् ।

अर्कातिर अहिले विश्वका एकचौथाइ जेसीबी क्रेन दुबईको संरचना विकासमा प्रयोग भइरहेको छ । यसबाट दुबई मुलुकमा विकासको काम कतिसम्म हुँदो रहेछ भन्ने प्रस्ट हुन्छ । बुर्ज खलिफा सहर उक्त मुलुकको स्वर्गको बगैंचा नै हो । जहाँ विश्वको सबैभन्दा अग्लो लिफ्ट, सबैभन्दा अग्लो स्टार होटेल, सबैभन्दा अग्लो टावर, सबैभन्दा अग्लो रेस्टुरेन्ट, सबैभन्दा ठूलो फायरवर्क, सबैभन्दा ठूलो आवास क्षेत्र, सबैभन्दा ठूलो नाइट क्लबलगायत संरचनाहरू निर्माण भएका छन् ।

दुबईको वर्तमान सेख नेतृत्व विश्वका सवैभन्दा बढी ट्यालेन्ट कसरी भित्र्याएर विकासको काम अगाडि बढाउने भन्ने सोचमा मात्रै हुन्छ । दिमागी होस् वा श्रमको काम, ट्यालेन्ट जनशक्ति आकर्षित गर्न यहाँको अर्थ मन्त्रालयले करछुट अर्थतन्त्रको नीति बनाएको छ । दुबईले पछिल्लो समयमा ‘टेम्प्रेचर कन्ट्रोल सिटी’ वा एयर कन्डिसनर सहर बनाइरहेको छ । सरकारको नेतृत्वमा रहेकाहरूले अप्ठ्यारोलाई सहजतामा लैजाने कामलाई व्यवहारमै उतार्ने गरेका छन् ।

सुक्खा तर सुन्दर दुबई सहरमा आजभोलि दुई सय देशका नागरिक बसोबास गरिरहेका छन् । जनसंख्या वृद्धिभएसँगै र संरचनाको बढीभन्दा बढी निर्माण हुँदा जमिनको पनि कमी भएको त्यहाँको सरकारले महसुस गरेको छ । अन्ततः जमिनको अभाव हटाउन उक्त देशले आश्चर्यजनक रुपमा समुद्रमुनि ‘मानव निर्मित टापु’ बनाउन सुरु गरेको छ । दुबई सरकार अहिले जमिनमुनि भवन बनाई व्यक्ति वा कुनै संस्थालाई बेचेर कसरी बढीभन्दा बढी आम्दानी गर्ने भन्ने ध्याउन्नमा छ । यस्ता भवनहरू साढे तीन सय करोड रुपैयाँसम्ममा सरकारले बिक्री गर्ने गरेको छ, जुन देशको आम्दानी बढाउने गतिलो उपाय पनि हो ।

दुबईका स्थानीय केबल १० प्रतिशत मात्रै छन् । उनीहरू सेख वा मुस्लिम जातिका हुन् । दुबईको जम्मा जनसंख्यामा ६५ प्रतिशत बढी मानिस भारत, नेपाल, बंगलादेश, पाकिस्तान र फिलिपिन्सका छन् । सामान्य गल्ती हुनेबित्तिकै यहाँ बसोबास गर्नेहरूले आर्थिक सजायको भागिदार बन्नुपर्छ । कर छुट अर्थव्यवस्था भएको दुबई सरकारका लागि गल्ती गरेबापतको आर्थिक सजाय मानिस अनुशासित बनाउने र आर्थिक आर्जन गर्ने गतिलो माध्यम पनि हो । मानौं कसैले गाडी फोहोर गर्‍यो वा कुनै सामान्य गल्ती गर्‍यो भने उच्च आर्थिक जरिवाना वा जेल सजाय नै भोग्नुपर्छ । कठोर सजायको व्यवस्था र यसको कार्यान्वयनका कारण दुबई मुलुक आपराधिक क्रियाकलाप नहुने शान्त देशको सूचीमा पनि छ ।

कल्पनाभन्दा बाहिरको संरचना निर्माण गरेर एकपछि अर्को गर्दै दुबईले विकासको रफ्तार अघि बढाइरहेको छ । नेपालका पूर्वाधारविज्ञ डा. गोविन्दराज पोखरेल विकासको चरम अवस्थामा दुबई पुग्नुको कारण दूरदर्शी नेतृत्व भएको दाबी गर्छन् । दुबईको नेतृत्वमा रहेकाहरूले नीतिगत व्यवस्था, कानुनी व्यवस्था र संरचनाको विकास गरेर विकासको भिजनलाई कार्यान्वयनको अवस्थामा पुर्‍याउन सफल भएको डा. पोखरेलको दाबी छ ।

विश्वका दिग्गज व्यक्तिलाई भित्र्याएर नयाँ किसिमका विकास संरचनाहरू निर्माण गर्न उक्त देश सफल भएको उनी बताउँछन् । नेपालमा भिजिनरी लिडरसिप नभएका कारणले विकासको कामले गति लिन नसकेको उनी तर्क गर्छन् । यस्तै दुबईमा जसरी पर्याप्त मात्रामा आर्थिक विकासका स्रोतहरू छन् । त्यो नेपालमा कम भएको डा. पोखरेलको भनाइ छ । विकास खर्चको बजेट एकमुष्ट खर्च गरिए नेपालमा पनि गतिलो संरचनाको विकास हुने पोखरेल तर्क गर्छन् । यस्तै नेपालमा विद्युत् उत्पादन गरेर बेच्न सकिए र दुबईको जस्तै दूरदर्शी नेतृत्व भए २५ वर्षमा नेपाल मध्यम आय भएको देशसम्म हुने डा. पोखरेलको दाबी छ ।

वास्तवमा दुबई सरकारको व्यापारप्रतिको प्रतिबद्धता सबैभन्दा ठूलो सफलताको चुरो हो । दुबई तेलको कारणले मात्रै विकास भएको होइन, यो त दूरदर्शितापूर्वक अत्याधुनिक किसिमले उद्योगधन्धा, व्यापार व्यवसाय र पर्यटन क्षेत्रको विकास गरेर सफल भएको हो । व्यापारमा सहजीकरण, विशेष आर्थिक क्षेत्र, स्वतन्त्र व्यापारिक क्षेत्र, कर छुट अर्थव्यवस्था दुबई मुलुक सफल हुनाका कारणहरू हुन् । दुबईबाट नेपालले पनि केही सिक्ने कि ?

प्रतिक्रिया