आइतबार, जेठ ६, २०८१

सुरक्षित पानीको महत्त्व

नेपालखोज २०८० असार ३१ गते ८:२४

सामान्यतः बालबालिकाको शरीरमा ६ महिनादेखि १ वर्षसम्म ७४ प्रतिशत, १ देखि १२ वर्षसम्म ६० प्रतिशत पानीको मात्रा हुन्छ । त्यसैले यसको सन्तुलन गर्न पनि पानी आवश्यक छ । पानीले शरीरको तापक्रमलाई सन्तुलन राख्न र शरीरको विभिन्न अङ्गहरूलाई सुरक्षित राख्न मद्दत गर्छ । शरीरका संवेदनशील अङ्गहरू, जस्तै मस्तिष्क, मुटु, फोक्सो, किड्नी, आँखाको सञ्चालनका लागि पनि पानीे आवश्यक हुन्छ ।

बालस्वास्थ्य विज्ञहरूकाअनुसार मौसमअनुसार एकदेखि पाँच वर्षका बालबालिकाले दिनमा ५ देखि ७ गिलास (एकदेखि साढे एक लिटर) पानी पिउनुपर्ने हुन्छ । बिरामी र झाडापखाला लागेमा बढी झोल पदार्थ र पानी पिउन दिनुपर्छ । बालबालिकालाई सुरक्षित पिउने पानी दिनुपर्छ । पानी नाङ्गो आँखाले हेर्दा सफा भएपनि दूषित हुन सक्छ ।

यसमा आँखाले नदेखिने हानिकारक जीवाणुहरू हुन सक्छन् । यी जीवाणुले शिशु, बालबालिकालाई छिट्टै र बढी असर गर्छ । त्यसैले दूषित पानी पिउनु हुँदैन । विशेषगरी धमिलो, गन्ध आउने, रङ भएको पानी बढी दूषित हुन सक्छन् । दूषित पानीमा विषाणु, कीटाणु र परजीवीहरू, रसायन, मलमूत्र आदि मिसिएको हुन्छ । पानी पिउदाँ गर्दा यस्ता जीव र वस्तुहरूसमेत खाइन्छ । यसको असर आन्द्रा, रगत र अन्य अङ्गहरूमा पर्छ ।

खानेपानीमा शरीरलाई हानि गर्ने विषाणु, कीटाणु र परजीवीहरू भए, पानीबाट सर्ने रोगहरू झाडापखाला, जुका, आउँ, टाइफाइड, जन्डिस, आदि हुन्छ भने, हानिकारक रसायन भए दीर्घकालमा छाला, फोक्सो तथा मुत्रासयको क्यान्सर समेत हुन सक्छ ।अभिभावकले आफ्ना बालबालिकालाई धारा, कुवा, खोलाजस्तो पानीको स्रोतमा फोहोर फाल्न, दिसापिसाब गर्न नहुने कुरा सिकाउनुपर्छ ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया