सोमबार, वैशाख ३१, २०८१

मेटाभर्समा प्रहरी पुर्‍याउन काम गर्दै इन्टरपोल

नेपालखोज २०८० असार ३१ गते १०:५०

काठमाडौं । इन्टरपोलका महासचिव युर्गेन स्टकले कृत्रिम संसार भनिने मेटाभर्समा हुने अपराधबाट कसरी सुरक्षा दिन सकिन्छ भनेर प्रहरीहरूको विश्व सङ्गठनले अध्ययन गरिरहेको बताएका छन्।

मेटाभर्स धेरै चर्चा भएको वास्तविक संसारभन्दा बाहिरको दुनियाँ हो। यो मानिसहरूले भविष्यमा थ्रिडी अवतारको रूपमा अनलाइन दुनियाँमा आफ्नो प्रतिनिधित्व गर्ने अवधारणा हो।

इन्टरपोलले पनि आफ्नै भर्चुअल रियालिटी स्पेस बनाएको छ। जहाँ प्रयोगकर्ताहरूले तालिम लिन र भर्चुअल बैठकहरू गर्न सक्छन्।

स्टक आफ्नो निकाय पनि यसमा छुट्न नहुने बताउँछन्।

‘अपराधीहरू नयाँ प्राविधिक साधनको प्रयोगमा अभ्यस्त भएर अपराध गर्न परिष्कृत र व्यावसायिक हुन्छन्,’ उनले भने।

‘हामीले यसको पर्याप्त प्रतिवाद गर्नसक्नु पर्छ। कतिपय अवस्थामा विधायक, प्रहरी र हाम्रो समाज यस्तो कुरामा केही पछि परिरहेको हुन्छ।’

‘ढिलो हुँदा मानिसहरूले प्रयोग गर्ने साधनमा तिनीहरूको विश्वासमाथि असर पर्ने गरेको हामीले देखेका छौँ त्यो कुरा मेटाभर्समा पनि लागु हुन्छ। यस्तै खाले माध्यमहरू अपराधीहरूले अहिले नै प्रयोग गरिरहेका छन्।’

सुरक्षित सर्भरहरूको माध्यमबाट मात्रै पहुँच पाइने यो दुनियाँमा अभ्यस्त हुँदै गएपछि प्रहरी अधिकारीहरूलाई मेटाभर्स के हो, यहाँ कस्ता अपराध हुन सक्छन् र त्यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बोध हुन्छ।

मेटाभर्स के हो

आम मानिसका लागि मेटाभर्स भर्चुअल रियालिटीको एउटा स्वरूप जस्तो लाग्न सक्छ तर प्रविधि क्षेत्रका केही व्यक्तिहरूका लागि मेटाभर्स इन्टरनेटको भविष्य हो।

सन् १९८० को दशकको बोक्नै गाह्रो मोबाइल फोन जसरी अहिलेको सानो स्मार्टफोनको प्रारम्भिक रूप थियो, त्यस्तै भर्चुअल रियालिटीलाई मेटाभर्सको प्रारम्भिक रूप मान्न सकिन्छ।

सबै खाले डिजिटल प्रविधिको दुनियाँमा प्रवेश गर्न अहिले कम्प्युटरको प्रयोग गरिन्छ तर मेटाभर्समा त्यही दुनियाँमा छिर्न टाउकोमा लगाउने एउटा उपकरणको प्रयोग गरिन्छ।

तर मेटाभर्स अहिलेसम्म सोच मात्रै रहेको कारण यसको एउटा कुनै सर्वमान्य परिभाषा वा व्याख्या भने छैन।

त्यसैले भर्चुअल रियालिटीलाई मेटाभर्स भन्नु गुगललाई इन्टरनेट भनेजस्तै मात्र हो।

त्यसो भए विश्वका प्रहरीहरूबीच सहकार्यमा सहजीकरण गर्दै आएको इन्टरपोलले मेटाभर्समा आफ्नो उपस्थिति नभई कसरी अनुसन्धान गर्छ त ?

यो त्यस्तो ठाउँ हो जहाँ भर्चुअल दुनियाँको खेल हुन्छ।

तर यो भर्चुअल अर्थात कृत्रिम दुनियाँमा वास्तविक जीवनका समस्याहरू पनि छन्।

सन् २०२२ मा एक अनुसन्धानले भर्चुअल रियालिटी खेलहरूमा पनि मौखिकका साथै यौन दुर्व्यवहार समेत हुने गरेको पत्ता लगाएको थियो । गत वर्ष अभियानकर्मीहरूले मेटाको भर्चुअल रियालिटी माध्यम होराइजन वर्ल्डमा २१ वर्षे अनुसन्धाताको अवतारमाथि यौन हिंसा भएको बताएका थिए।

मेटाभर्समा हुने अपराध के हो ?

इन्टरपोलका प्रविधि र अन्वेषण कार्यकारी निर्देशक मदन ओबेरायले मेटाभर्समा हुने अपराधलाई परिभाषित गर्न सहज नभएको बताएकाछन्।

‘कुनै अपराध यस्ता हुन्छन् जुन अपराध हो वा होइन भन्न सकिँदैन,’ उनले भने।

उदाहरणका लागि यौन हिंसाका उजुरीहरू पनि छन्।

‘तर भौतिक दुनियाँमा यस्ता अपराधको परिभाषा हेरियो र यसलाई मेटाभर्समा लागु गर्न खोजियो भने त्यहाँ कठिनाइ हुन्छ । हामीलाई थाहा छैन हामी त्यसलाई अपराध भन्न सक्छौँ या सक्दैनौँ। तर त्यस प्रकारका चुनौती पक्कै पनि त्यहाँ छन्। त्यसकारण यो समस्या अझै छ।’

उनका अनुसार यसबारे जनचेतना बढाउन नै इन्टरपोलले ठूलो समस्या खेपिरहेको छ।

‘डुबिरहेको मान्छेलाई बचाउन तपाईँ पनि पौडी खेल्न जान्नुपर्छ,’ मेटाभर्समा प्रहरीको उपस्थितिबारे उदाहरण दिँदै उनले भने।

‘यसै गरी यदि कानुन पालना गराउने निकायले मेटाभर्समा पीडित भएका मानिसहरूलाई सहयोग गर्नुछ भने उनीहरूलाई मेटाभर्सबारे थाहा हुन जरुरी छ । कानुन पालना गराउने व्यक्तिहरूले पनि मेटाभर्सको प्रयोग गरेर उनीहरू यसबारे जानकार होऊन् भन्ने पनि हाम्रो एउटा उद्देश्य हो। त्यस अर्थमा यो निकै महत्त्वपूर्ण कुरा हो।’ -BBC

प्रतिक्रिया