शुक्रबार, जेठ ४, २०८१

टाट पल्टिएको चीन यसरी बन्यो विश्वकै धनी

नेपालखोज २०८० असार ३१ गते १२:०३

काठमाडौं । जनसंख्याको दृष्टिकोणले विश्वमै पहिलो स्थानमा रहेको चीनलाई क्षेत्रफलका हिसाबले चौथो ठूलो राष्ट्रका रूपमा लिइन्छ । आर्थिक हिसाबले अमेरिकापछि चीनलाई दोस्रो नम्बरमा राख्ने गरिएको छ । पहिलो लहर र दोस्रो लहरको कोरोना संक्रमणले आर्थिक र आणविक रुपमा विश्वमा नम्बर एक देश अमेरिका घायलझैं भएको छ । कोरोना संक्रमणको जोखिम खासै नबेहोरेको चीनले भने यो अवधिमा पहिलो सम्पन्न राष्ट्र बन्नसक्ने मार्ग कोर्दै गएको छ । अहिलेकै गतिमा विकास र अन्वेषणका कामलाई चीनले अगाडि बढाए केही वर्षभित्रै अमेरिकाको आर्थिक औकातलाइ उछिन्ने सम्भावना छ ।

सन् १९८० सम्म चीन आर्थिक रूपमा टाट पल्टिएको मुलुक थियो । चीनका करोडौं जनसंख्यालाई हातमुख जोर्नै समस्या थियो । संसारका गरिब राष्ट्रहरूमा यो देश गनिन्थ्यो । पछिल्लो ३० वर्षको अवधिमा विश्वकै धनी राष्ट्रमा गनिने गरी आर्थिक स्तर उकासेको छ । विश्व बैंकको एक रिपोर्टअनुसार चीनले सन् १९८१ देखि सन् २०१२ सम्म ८० करोड जनतालाई गरिबीको रेखाबाट माथि उठाएको थियो । सन् १९८१ मा चीनको गरिबीको स्तर ८१ प्रतिशत थियो । सन् २०१२ मा आएर ६ दशमलव ८ प्रतिशतमा झार्न सफल भयो । २०१२ देखि २०१८ सम्म ६ वर्षको अवधिमा गरिबी दर २ प्रतिशतमा झार्न सफल भयो ।

छिमेकी देश भारत सन् १९८१ मा चीनभन्दा धेरै धनी भएको आर्थिक रेकर्ड छ । चीनमा हाल सरदर एक प्रतिशत गरिबी रहेको अवस्थामा भारतमा अझै पनि १२ दशमलव ४ प्रतिशत अथवा १७ करोड मानिस गरिबीको रेखामुनि छन् । चीनले आफ्नो देशका सबै नागरिकको गरिबी हटाउने मात्र हैन, संसारको नजरमा उदाहरणीय पूर्वाधारको कामहरू र उत्पादनमूलक सामग्री बनाउन सफल भएको छ ।

आज विश्वको २५ प्रतिशत बिजुलीको प्रयोग चीन एक्लैले गरेको छ । विश्व बजारमा हाइड्रो इलेक्ट्रिसिटी उत्पादन गर्नेमा यही देश नम्बर वान भएको छ । दोस्रो नम्बरमा ब्राजिल भए पनि चीनले ५० प्रतिशत बढी उत्पादन गर्ने गरेको छ । यस्तै कोइला उत्पादनमा अग्रणी रहेको यस देशले विश्वमै ५० प्रतिशत बढी उत्पादन गर्नेगर्छ । यस्तै अधिकांश स्मार्ट फोन कम्पनी यही देशमा छन् । विश्वमा चाइनिज कम्पनीका ४८ प्रतिशत बढी स्मार्ट फोन प्रयोग हुने गरेको तथ्यांक छ । ७० प्रतिशत बढी मोबाइल फोन पनि चाइनिज कम्पनीले नै उत्पादन गर्ने गरेका छन् । यस्तै विश्वलाई धान्ने ५० प्रतिशत स्टिल र ३५ प्रतिशत कार चीन एक्लैले उत्पादन गरिरहेको छ ।

सन् १९९० को दशकमा बाह्‌य बजारमा तीन प्रतिशत मात्रै स्वामित्व रहेको चीनको अहिले १७ प्रतिशत स्वामित्व पुगेको छ । अहिले विश्वको पहिलो नम्बरको निर्यातकर्ता देश पनि चीन नै हो ।

आधुनिक मेसिनरी उत्पादनमा मात्रै होइन, आधुनिक कृषि प्रणाली अपनाउन पनि चीन उत्तिकै दक्ष छ । विश्व कृषि भूमिमा ५० प्रतिशत बढी स्याउ उत्पादन गर्ने पनि यही देशको नाम आउने गरेको छ । अमेरिकाभन्दा चीनले ६ गुणा बढी स्याउ उत्पादन गर्ने गरेको छ ।यो चीनको कृषि उत्पादनको विश्वबजारसँग तुलना गर्दाको सानो उदाहरण मात्र हो ।

यस्तै विश्वमै सबैभन्दा बढी (६० प्रतिशत) सिमेन्ट उत्पादनकर्ता चीन नै रहेको छ । सन् २०११ देखि २०१३ मा चीनले जति परिमाणमा सिमेन्ट विकासको काममा प्रयोग गरेको थियो, त्यो परिमाण २०औं शताब्दीसम्मको रेकर्डमा अमेरिकाले प्रयोग गर्न सकेको थिएन । सन् २०११ देखि १३ सम्म चीनमा यति धेरै मेसिनरी सामानको साथै पूर्वाधारको विकास भयो कि सन् १९०१ देखि २००१ सम्मको अवधिमा अमेरिकाले पनि सकेको थिएन ।

यस्तै सुन उत्पादन गर्ने राष्ट्रमध्ये एक नम्बरमा आउने चीनले विश्वको उत्पादनमध्ये १३ प्रतिशत एक्लैले उत्पादन गर्ने गरेको छ । चीनले जे सामान उत्पादन गर्छ, त्यो ठूलो परिमाणको हुने गर्छ । यस्तै विश्वको उत्पादनमध्ये ७० प्रतिशत खेलौना चीनले नै उत्पादन गरिरहेको छ । दोस्रो नम्बरमा रहेको अमेरिकाले विश्वको २ प्रतिशत मात्र खेलौना उत्पादन गर्न सकेको छ ।

४० प्रतिशत बढी पानीजहाज पनि चीनले नै बनाउन सकेको छ । यो राष्ट्रले जुन सामान उत्पादन गरे पनि सर्वश्रेष्ठ हुनु उसको विशेषता जस्तै भएको छ । गुणस्तरीय र सस्तो उत्पादन भएकै कारणले चीनको कम्पनी जुन देशमा गए पनि त्यो देशको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने वातावरण बनेको छ । विस्तारैविस्तारै दोस्रो देशको बजारलाई चीनले कब्जा गर्दै गइरहेको छ ।

सन् १९९० को दशकमा बाह्‌य बजारमा तीन प्रतिशत मात्रै स्वामित्व रहेको चीनको अहिले १७ प्रतिशत स्वामित्व पुगेको छ । अहिले विश्वको पहिलो नम्बरको निर्यातकर्ता देश पनि चीन नै हो ।

आखिर चीनले ३५ वर्षको अवधिमा यति धेरै प्रगति कसरी गर्‍यो भन्ने प्रश्न संसारका आममानिसको छ । चीनले सर्वप्रथम पूर्वाधार विकासलाई प्राथमिकता दियो । पूर्वाधारको विकास गर्न कुनै कन्जुस्याईं गरेन । चीनले विश्वमै बलियो र भरपर्दो पूर्वाधारको विकास गरेको छ । गाउँगाउँसम्म सुविधा-सम्पन्न सडक, बिजुली, ठाउँ–ठाउँमा पुल निर्माण, कृषि तथा उद्यम बजारसम्मको पहुँचलगायत पूर्वाधारका कामहरू चीनले गरेको छ । स्थानीय स्तरसम्म विभिन्न पूर्वाधारको विकाससँगै कुनाकन्दराका सर्वसाधारणले समेत लगानी गर्ने वातावरण उक्त देशले बनाउँदै गएको छ । लगानीअनुसारको स-सानो उत्पादनलाई विश्व बजारसम्मको पहुँचसम्म पुर्‍याउन चीन सफल भएको छ ।

यस्तै उत्पादित सामान विश्व बजारसम्म पुर्‍याउन विश्वमै तीव्र हवाई सेवा र जल यातायातको व्यवस्था पनि चीनले गरेको छ । त्यसैगरी आमसाधारणलाई दिएको सीपमूलक शिक्षा पनि चीनमा वरदान सावित भएको छ । यहाँ करिब ७८ करोड नागरिकलाई सीपमूलक शिक्षा दिइएको छ । सीपमूलक शिक्षा कागजमा मात्र सीमित नभई व्यवहारमै लागु गर्न चीन सरकारले अझै कसरत गरिरहेको छ । पूर्वाधारको विकास, सीपमूलक शिक्षा र जनसंख्या नियन्त्रण नै चीनको तीव्र विकासका दह्रा खम्बा हुन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया