बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका

अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठुलो चूनौती हो । अभिभावकले आफ्ना अनगन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वाेत्तम हितको लागि सधैँ प्रयासरत रहनुपर्छ । बालबालिकाको मानसिक रूपमा स्वस्थ राख्नको लागि निम्नानुसार व्यवहार गर्नुपर्दछ ।
-बालबालिका जन्माउन मानसिक तथा शारीरिक रूपमा तयार भएर मात्र जन्माउने योजना बनाउनुपर्छ । जस्तो अवस्थाको शिशु जन्मे पनि स्वीकार गर्ने योजना बनाउनुपर्छ ।
-बालबालिकालाई सन्चो, बिसन्चो, खाना खाएको नखाएको, समयअनुसार लुगाफाटा लाएको नलाएको रेखदेख गर्ने, उनीहरूलाई सबैभन्दा धेरै महत्व दिने, माया देखाउने गर्नुपर्दछ ।
-बालबालिकाले उमेरअनुसार शारीरिक हाउभाउ, रुवाई र बोलेर आफ्ना आवश्यकताहरू बताइरहेका हुन्छन् । यसलाई बुझेर तुरुन्तै सम्बोधन, समाधान गरिहाल्नुपर्छ । बालबालिकालाई पनि बिस्तारै आफूले सक्ने कुराको समस्या समाधान गर्न सिकाउँदै जानुपर्छ ।
-बालबालिकाको कुरा सधैँ प्राथमिकता दिएर सुन्ने, विभिन्न हाउभाउ जस्तै, मुस्कुराएर, अचम्मको भाव व्यक्त गरेर, बालबालिकाको भाव अनुरूप कुराकानी गर्ने गर्नुपर्दछ ।
-बालबालिका रुनु भनेको संवेगको प्रस्फुटन हो । त्यसैले रोएको बेलामा रुन दिने, बिलौना गर्न दिने र बालबालिकालाई सुन्ने तथा सहानुभूति जनाउँदै माया देखाउने गर्नुपर्दछ । बालबालिका नरोएर तनाव लिएर बसेमा, यसले सुत्न नसक्ने, तर्सने, एक्लै बस्ने जस्ता व्यवहारिक समस्या आउन सक्छ ।
-बालबालिकाले सामान फाल्ने रिस देखाउने गरेमा, अभिभावक शान्त हुनुपर्छ र काम नलाग्ने वस्तुहरू फाल्न र बिगार्न दिनुपर्छ । यसले उनीहरू भित्र लुकेको रिस बाहिर निस्कन्छ । शान्त भएपछि, रिसको झोकमा के के बिगार्यो यसबाट हामीलाई के के बेफाइदा हुन्छ बताइदिनुपर्छ ।
-बालबालिकालाई विभिन्न संवेगका बारेमा सिकाउनुपर्दछ र शब्दमा विभिन्न अवस्थामा कस्तो (खुसी, दुखी, रिस उठेको आदि) लागेको छ कारणसहित व्यक्त गर्न दिनुपर्छ ।
-बालबालिकाको इच्छा, रहर, आवश्यकता बुझेर आफूले पूरा गर्न सकिने र नसकिने कुरा बताइदिनुपर्छ ।
-घरमा विभिन्न नियमहरू बनाई पहिले आफूले पालन गर्ने र बालबालिकालार्ई पनि पालन गर्न उत्प्रेरित गर्नुपर्दछ । बालबालिकालाई सजायभन्दा पनि सकारात्मक अनुशासनमा राख्नुपर्छ ।
-बालबालिकाको आत्मबल बलियो हुने खालका कथाहरू भन्ने र जुनसुकै समस्या पनि समाधान गर्न सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । बालबालिकालाई आवश्यक रूपमा प्रशंसा र प्रोत्साहन गरेर हुर्काउनुपर्छ ।
बालबालिकाको मानसिक स्वास्थ्यका लागि केही विशेष क्रियाकलापहरू
-दिनभरिको घटनाहरू एक अर्कामा भन्ने निश्चित समय वा पारिवारिक समय निर्धारण गर्नुपर्दछ । सो समयमा दिनभरिको अनुभवहरूबारे कुराकानी गर्ने गर्नुपर्दछ ।
-बालबालिकाको तनाव बाहिर निकाल्न तकिया, चकटी आदिलाई हातले हिर्काउन दिनुपर्छ ।
-धेरै रिस उठेमा १ देखि १० सम्म गन्ने, एउटै वस्तुलाई ५ मिनेट जति एकटकले हेर्न लगाउने र आफू पनि सँगै गर्नुपर्छ ।
-बालबालिकालाई शान्त गर्न माटो वा पिठो मुछ्न लगाई बालबालिकालाई मनपर्ने आकृति बनाउन दिनुपर्छ ।
-बालबालिकासँगै खेल्ने, रमाउने, दौडने उफ्रिने कराउने, खित्का छाडेर हाँस्ने, तकिया हानेर खेल्ने, सँगै रोएर खेल्ने, लडिबुडी गर्ने गर्नुपर्दछ । यसले बालबालिकालगायत आफ्नो पनि तनाव कम हुन्छ । बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बन्छ । – युनिसेफ नेपाल
प्रतिक्रिया