आइतबार, वैशाख १६, २०८१

लम्पी स्किनको औषधि र खोप वडा वडामा

नेपालखोज २०८० साउन ३ गते ६:४२

बागलुङ । बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा ऋषिराम सापकोटाले बताए । केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुका लागि खोप पठाएको छ ।

केन्द्र प्रमुख सापकोटाले नगर प्रमुख वसन्तकुमार श्रेष्ठको उपस्थितिमा पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा र वडा तहका प्राविधिकलाई खोप र औषधि हस्तान्तरण गरे । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पशुधन बचाएर किसानको क्षति न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरे । उनले पशु सेवाका प्राविधिकले रातदिन नभनी काम गरेकोमा प्रशंसा पनि गरेका थिए ।

लम्पी स्किन रोगबाट बागलुङका एक सय ६६ गाईको मृत्यु भएको छ । लम्पी स्किन रोग लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक१ सय चार डिग्रीभन्दा बढी ज्वरो आउने भएपछि कतिपय पशुको मृत्यु भएको हो । एक दुइवटा गाईगोरु पालेका किसानको मा भन्दा व्यावसायिक गाई फार्म गरेका किसानका गाईगोरु धेरै बिरामी भएका हुन् । बिरामी पर्ने र मृत्यु हुने पनि अधिकांश उन्नत जातको गाई रहेको सापकोटाले बताए ।

वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक सङ्क्रमण देखिएको थियो । त्यसपछि क्रमशः अन्यत्र फैलिएको हो । पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन् । अहिले पनि ढोरपाटन नगरपालिकाका एक हजार दुई सय गाईगोरु बिरामी छन् । निसीखोलाका पाँच सय १३, गलकोट नगरपालिकाका एक सय ४२, बडिगाड गाउँपालिकाका एक सय ८१ र तमानखोलाका एक सय ८९ गाई बिरामी परेका हुन् । सदरमुकाम बागलुङ नगरपालिकामा पनि दुई सय २१ गाई बिरामी छ् ।

सङ्क्रमण बढेपछि स्थानीय तहले केही खोप किनेर लगाएका थिए । भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको हो । सबैभन्दा धेरै सङ्क्रमण भएको ढोरपाटनमा प्राविधिक अभावमा खोप लगाउन नसकिएको सापकोटाले जानकारी दिए । ‘भाइरसबाट सर्ने यो रोग बिफरजस्तै हो’, सापकोटाले भने, ‘किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो सङ्क्रमण बढ्ने गरेको छ ।’ गोठ फोहोर हुँदा पनि सङ्क्रमण बढी हुने गरेको बताइएको छ । यो रोग प्रायः गर्मी मौसम र भूगोलमा बढी हुने गरेको हो । rss

प्रतिक्रिया