शनिबार, जेठ ५, २०८१

अधिकमास र हाम्रो ज्योतिषशास्त्र

सुनील उलक २०८० साउन ४ गते ५:३०

चन्द्रमासका अनुसार आजबाट साउन महिनाको अधिकमास शुरू भयो, जसको अर्थ साउन महिना दुइवटा हुने भयो । यस वर्ष साउन २ गते देखि ३१ गतेसम्म अधिकमास परेको छ । चन्द्रमासका अनुसार यस वर्ष १३ महिना अर्थात ३८३ दिनको वर्ष हुने भयो । अधिकमासलाई मलमास तथा पुरूषोत्तम मास पनि भन्ने गरिन्छ ।

कसरी हुन आँउछ अधिकमास

सूर्यवर्षका अनुसार एक वर्षमा ३६५ दिन, ६ घण्टा, ४८ मिनेट तथा २४ सेकेण्ड हुने गर्दछ । तर चन्द्र वर्षमा भने ३५४ दिन ८ घण्टा, ५२ मिनेट, ४८ सेकेण्ड हुन्छ । यसरी दुइ प्रकारका वर्षका बीच १० दिन २१ घण्टा, ५५ मिनेट, ३६ सेकेण्डको फरक पर्छ । ज्योतिषशास्त्रले यी दुई अन्तरलाई समायोजन गर्नका लागि प्रत्येक तीन वर्ष अर्थात ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटमा नयाँ एक महिना चन्द्र वर्षमा थप गर्ने गर्छ । बाह्र महिनाको आ-आफ्नै स्वामी राशि हुने भए तापनि यसरी थपिएको महिनाको भने कुनै स्वामी राशि हुने गर्दैन । जसले गर्दा स्वामी नभएको महिनामा पूण्यकार्य गर्न वर्जित गरिएको छ । तर अघिल्लो महिनाको राशिलाई नै अधिकमासमा पनि स्विकार गर्ने गरिन्छ । यस वर्ष अधिकमासमा कर्क राशि नै रहने छ ।

अधिकमास रहेको समयमा बिशेष पूजाहरू सप्ताह, होम, लाखबत्ती तथा गृहप्रवेश र गृहआरम्भ पनि गर्नु हुदैन भनिन्छ । साथै विवाह, ब्रतवन्ध जस्ता पूण्यकार्य गर्न पनि वर्जित गरिएको छ ।

१९ वर्ष पछि यस वर्ष साउन महिनामा अधिकमास पर्न गएको हुँदा साउनको ब्रत बस्नेहरूका लागि भने अन्यौल रहन गएको छ । सूर्यमास अनुसार नै साउनमा परेको पाँचवटा सोमवारमा ब्रत बस्ने वा चन्द्रमासका अनुसार असार २५ मा परेको सोमबार तथा साउन १ को सोमबार र भदौ ५ र १२ गते परेको सोमबारलाई स्विकार गर्ने भन्नेमा अन्योल रहेको छ ।

हिन्दू आख्यानका अनुसार अधिकमास स्वामी राशि बिहिन भएर चिन्तित भएपछि भगवान् श्री कृष्णले तिम्रो स्वामी म भए भनि पठाए पछि मलमासलाई पुरूषोत्तम मासका रूपमा स्विकारिएको थियो । मलमासमा कृष्णको श्रीमदभागवतगीता बाचन गर्नु तथा पुस्तक दान गर्नु पनि पुण्य मिल्ने कथन छ ।

अधिक मासले गर्दा यस वर्षको दशै, तिहार लगायत साउन महिना पछिका चाडहरू कम्तिमा १५ दिन पछाडि धकेलिएको छ । यस वर्षको हरितालिका तीज असोजको १ गते पर्न गएको छ भने दशैको टीका कार्तिक ७ गते पुगेको छ । साथै भाइटीका कार्तिक २९ गते पर्न गएको छ । साथै यमरी पुन्ही पुसको १० गते पर्न गएको छ ।

प्रतिक्रिया