सोमबार, वैशाख २४, २०८१

स्टार वियर !

सुनील उलक २०८० कार्तिक २८ गते ८:००

धेरैलाई याद होला यो पुरानो बियर । कतिलाई अझै पनि यसको स्वाद थाहा होला। पढौ नेपालमा बियरको कथा । हुन त नेपाल ब्रुअरी लिमिटेडको स्थापना २०२२ सालको पुसमा भए पनि यसले आफ्नो उत्पादनको थालनी गर्न भने करिव ६ वर्ष लगायो । यस बिच यो कम्पनीले जर्मनबाट प्लान्ट ल्याएर हेटौडामा जडान गर्यो । यसरी सम्पूर्ण तैयारी पछि २०२८ सालमा नेपालमा नेपालकै पहिलो उत्पादनको रुपमा स्टार बियर शुरु भयो ।

यो नेपालको पहिलो बियर मात्र थिएन । आफ्नै ब्राण्डमा तैयार भएको बियर पनि थियो । जर्मनबाट मेशिन ल्याएर जडान गरे पनि उत्पादन भने आफ्नै किसिमको थियो । यस स्टार बियरको उत्पादन नेपालमा नै हुन थालेपछि भारतबाट आइरहेको गोल्डेन इगल बियरको बिक्री घट्दै गयो ।

स्टार बियरको बिक्री बढ्दै गए पछि २०३० सालबाट यस कम्पनीले चियर्स, लियो तथा शेर्पा बियरको उत्पादन थाल्यो । २०३१ सालमा राज्यभिषेकको अवसरमा कोरोनेशन बियर पनि बजारमा आयो । तर स्टार बियरको जति ब्यापार अरुले खासै गर्न सकेन । नेपाल बियरलाई सरकारले पनि साथ दिएको थियो । नेपालमा नै उत्पादन शुरु भएको यस कम्पनीलाई नेपाल सरकारले शुरुको वर्ष ७५ प्रतिशत अन्तशुल्क माफ गरेको थियो भने दोश्रो वर्ष ५० प्रतिशत र तेश्रो वर्ष २५ प्रतिशत अन्तशुल्क छुट दियो । चौथो वर्ष देखि यसमा दिएको अन्त शुल्कको छुट हटायो । यहि वर्षबाट सरकारले भारतबाट आयात हुँदै आएको गोल्डेन इगल बियर माथि आयातमा प्रतिवन्ध लगाएर एकछत्र ब्यापार गर्ने अवसर दियो ।

स्टार बियरको एकछत्र ब्यापारमा प्रतिस्पर्धा गर्न यसको उत्पादनको शुरु भएको १० वर्ष पछि हिमालयन ब्रुअरी आयो । सिंगापुरको कम्पनीसंग मिलेर उत्पादन शुरु भएको बिदेशी ब्राण्ड सान मिगेल आएपछि भने स्टार बियरको बिक्री आधा भयो । सान मिगेलको स्वाद नेपालीले यति मन पराए कि स्टार बियरको बिक्रीलाई नराम्रोसंग धक्का लाग्यो ।

त्यसपछि डेनमार्कको डेनिस बियरसंग मिलेर गोर्खा ब्रुअरी प्रतिस्पर्धामा आयो र डेनिस ट्युबोर्ग बियरको उत्पादन नेपालमा हुन थाल्यो । केही बढी नै तितो रहेको ट्युबोर्ग बियर शुरुमा नेपालीले मन पराएन । तर पछि बिस्तारै यसले पनि बजार लिन थाल्यो । नेपालीहरु बिस्तारै बियरमा अभ्यस्त हुदै गए ।

स्वास्थ्यको दृष्टिकोणले पनि बियर पिउनुलाई राम्रो मान्ने गरिन्छ । बिकसित मुलुकमा बियरलाई रक्सी सरह लिने गरिदैन । तर नेपालमा भने केही भिन्न कानुन रहेको छ । शुद्ध जौंलाई कुहाएर बनाइने हुँदा पनि यसलाई स्वास्थ्यको दृष्टिकोणले गलत मानिदैन । तर अत्यधिक बियर सेवन गर्नु भने रक्सी जस्तै नशा लाग्दछ ।

बियरको इतिहासलाई फर्केर हेर्यौ भने मानव सभ्यताको बिकासको पहिलो चरण तिर इशा पूर्व ११ हजारमा हालको इजरायलमा एकत्रित भएर शिकार गर्ने शिकारी मानवको सभ्यताको शुरुवात भएको थियो । यि नाचुफियनहरुले नै पहिलो पटक बियर जस्तै पेयर पदार्थ बनाएर खान थालेको मानिन्छ । पछि करिव ६ हजार वर्ष अगाडि मेसोपोटामियाको टिग्रिस र युफ्रेटस नदी किनारमा बसेको सभ्यतामा बियरको सेवन गर्न थालेको देखिन्छ । आधुनिक बियरको शुरुवात भने लुइस पास्चरले यिस्टमा ब्याक्टेरिया रहेको तथा यसले अत्यधिक तितोपना हुनबाट रोक्न सकिने बिकास भयो । जसले गर्दा फैक्ट्रीमा बियर उत्पादनका नयाँ नयाँ तरिकाको शुरुवात भयो ।

अहिले विश्वमा बियरको स्वाद थाहा नपाउनेको संख्या निकै कम छ । बियरलाई मन पराउनेहरु अत्यधिक हुँदै गएको छ । नेपालमा पनि धेरै उद्योगहरुले बियरको उत्पादन गर्ने गर्दछ । तर नेपालमा पहिलो पटक बियर उत्पादन गर्ने नेपाल ब्रुअरी भने प्रतिस्पर्धामा केही पछाडि रहेको छ । यसको उत्पादन अहिले स्टार गोल्ड तथा शेर्पा रहेको छ ।

इन्द्रचोकका पुराना ब्यापारी कृष्णबहादुर अमात्यका छोरा पियुष बहादुर अमात्यको शुरुका धेरै वर्ष स्वामित्वमा रहेको नेपाल ब्रुअरी लिमिटेड भने अहिले टिबिआइ ग्रुपसंग रहेको छ । पुराना मालिक पियुष बहादुर अमात्य भने पोखरामा अन्तराष्ट्रिय स्तरको फुलवारी रिसोर्ट राम्रो ब्यबस्थापन सहित चलाउन नसक्नुका कारण नराम्रोसंग ऋणमा डुबेका छन् ।

प्रतिक्रिया