आइतबार, वैशाख २३, २०८१

भेरीको पुल

सुनिल उलक २०८० साउन ५ गते ९:५६

केही वर्ष अगाडि चीनमा एउटा अनौठो घटना संसार सामु आएको थियो । सन १९५९ मा चीनको एक गाँउमा खडेरी पर्दा अनिकाल भएको थियो ।

करिव एक वर्ष सम्म वर्षा भएन । गर्मीले साना साना पोखरी र खोलाहरु पनि सुके । गाँउलेको यो समस्यालाई देखेर २३ वर्षिय एक चीनिया युवाले आफ्नो गाँउमा रहेको पानीको समस्या देखेर केही गर्न गाउँले संग सल्लाह मागे ।

करिव १० किमी टाढा रहेको खोलाको पानी नहर बनाएर गाउँसम्म ल्याउन पाए गाउँमा पानीको समस्या नहुने भन्दै सहयोग मागे । तर गाउँलेले सहयोग दिनुको सातो उनलाई पागल भने । नभन्दै उनि पागल नै बने । उनले एक्लै नहर खन्न थाले । गाउँलेले पागल भनिरहे तर उनले खन्न छोडेनन् ।

३० वर्ष सम्म एक्लै नहर खनिरहे । सन १९९० मा गाउँको नजिकै नहर आइपुगे पछि बल्ल गाउँलेले थाहा पाए । यो काम सम्भव रहेछ । सिंगो डाँडाको कडा चट्टान काटेर उनले नहर गाउँसम्म पुर्याएरै छाडे । ३६ वर्ष लाग्यो हुआंग डाफालाई एक्लैले नहर खनेर गाउँलेलाई मिठो पानी खुवाउन ।

साहस र हिम्मत हुनुपर्छ एक्लैले पनि असंभव भनिने कामहरु गर्न सकिन्छ । केवल चीनमा मात्र होइन यस प्रकारको उदाहरण अन्यत्र पनि भेटिन्छ । तर म यहाँ नेपालको एक साहसी र हिम्मती ब्यक्तिको चर्चा गर्न गइरहेको छु ।

दैलेख जिल्लाका दलवीर सिंह जन्मले कामी थिए । अक्षर केही चिन्न सक्ने तर आफ्नो मेहनतमा बाँचेका । उनको आफ्नो आरन थियो । जहाँ फलामका कामहरु गर्दथे । उनको काम प्रति लगन र मेहनती थियो ।

बि.सं. २०१९ साल तिर उनलाई भेरी नदीमा झोलुङ्गे पुल बनाउन इच्छा जाग्यो । उनि धनी भएर झोलुङ्गे पुल बनाउन लागेका थिएनन् । वर्षातमा उर्लेर आउने भेरीको भेललाई देखेका थिए । यसैले उनलाई एउटा पुलको आबश्यकता लाग्यो । उनले आफ्नो शीप र ज्ञानको उपयोग गर्दै आबश्यक सामग्रीहरु आफैले तैयार गर्न थाले ।

लामो फलामे तार तथा अन्य सामग्रीको सहयोगले पुलको तैयारी गर्न थाले । गाउँलेले पुलको खाँबो गाड्न तथा पुलको भार थेग्नको लागी मोटो तारलाई ठूलो खाल्डोमा पर्याप्त ढुङ्गाहरु राखेर बाँध्नमा सहयोग गरे । हिड्नको लागी काठका साना साना फल्याकहरु लहरै बाँधे । दायाँ बायाँ मानिस पुलबाट नखसोस भनेर त्यहाँ पनि बलियोसंग तारहरु बाँधे ।

२०२० सालमा सुर्खेत जिल्लाको उत्तरगंगाको भेरी नदीमा करिव ४३५ फुट लामो झोलुङ्गे पुल तैयार भयो । पुल तैयार भएपछि मानिसहरुलाई धेरै सहजता भयो । सुर्खेत जिल्लाको उत्तरगंगामा भेरी माथि बनाइएको यो पुलको बारेमा राजा महेन्द्रलाई पनि सुनाइएछ । शायद कसैले राजासम्म खबर पुर्याएको थियो होला ।

२०२१ सालमा राजा महेन्द्रको सुर्खेत भ्रमणमा राजाले दलवीर सिंहलाई भेटे । उनको काम देखेर राजाले उनको कामको निकै प्रशंसा गरे साथमा खुशी भएका राजाले तत्कालै रु ४०० बख्सिस पनि दिए । साथमा दलवीर सिंहलाई जागीर मिलाइ दिन पनि लगाए ।

केवल ३ कक्षासम्म पढेका दलवीरलाई राजाको आदेश पछि उनको काम र शिप अनुसारको काम दैलेख जिल्ला पञ्चायतले दिए । उनलाई सव ओभरशियरको जागीर लगाइदिए । पुल बनाउने राम्रो ज्ञान भएको हुँदा उनको जिम्मामा झोलुङ्गे पुल सम्बन्धी कामको थियो । सबै काममा केवल पढाइले मात्र हुदैन ।

अनुभव र ज्ञान पनि हुनुपर्छ । यो दुबै दलवीरको साथ थियो । थिएन त केवल पढाइ थिएन । कनीकुथी अक्षर पढ्न र लेख्न जानेकै थिए । तर इञ्जिनियर पढेकै थिएनन् । तर पनि सव-ओभरशियरको रुपमा जागीर पाए ।

जागीरे भए पछि उनको निरिक्षणमा दैलेख जिल्लाका लोहोरी खोलाको चुप्रा पुल र छमघाट खोलाको झोलुङ्गे पुल बनाइएको थियो । छमघाट खोलाको झोलुङ्गे पुल बनाउने सामग्री खरिदको लागि भने दलवीर कानपुर पनि पुगेका थिए ।

तस्विरमा भेरी नदी माथि उत्तरगंगामा बनेको झोलुङ्गे पुल देख्न सकिन्छ । यहि पुल नै दलवीरले बनाएका हुन् र साथमा इनसेटको तस्विरमा आरनमा काम गर्दै गरेका दलवीरलाई देख्न सकिन्छ । यस तस्विरमा पछाडि ढाका टोपी लगाएका दलवीर सिंह हुन् । मेरो संग्रहमा दलवीरका केही अन्य पारिवारिक तथा पुल बनाइरहेका तस्विरहरु पनि छन् ।

प्रतिक्रिया