शनिबार, असार २१, २०८२

स्पेन र स्वीट्जरल्यान्ड विजयी, नाइजेरिया र क्यानडाले बराबरी खेले

नेपालखोज २०८० साउन ५ गते १५:५१

काठमाडौं । स्पेनले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा सानदार विजयी सुरुवात गरेका छन् ।

विलिङटन रिजनल स्टेडियम विलिङटनमा शुक्रबार भएको खेलमा स्पेनले कोस्टा रिकामाथि ३–० को सानदार जित दर्ता गरेको हो । स्पेनको जितमा एइटाना बोनमती र एस्तर गोन्जालेजले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

यस जितसँगै समूह ‘सी’ मा स्पेनले एक खेलबाट ३ अंक बटुलेको छ । पराजित कोस्टारिका अंक विहीन छ ।

शुक्रबारै भएको समुह ‘ए’ को खेलमा स्वीट्जरल्यान्डले फिलिपिन्समाथि २–० को सहज जित हात पारेको छ । डुनेडिन स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा स्वीट्जरल्यान्डको जितमा रामोना बचमान र सेरैना पियुवेलले गोल गरिन् ।

यस जितले स्वीट्जरल्यान्ड एक खेलबाट ३ अंक बटुलेर शीर्षस्थानमा रहेको छ । न्युजिल्यान्डको पनि ३ अंक नै रहेपनि गोल अन्तरमा पछि छ । नर्वे र फिलिपिन्स अंकविहीन छ ।

यस्तै समुह ‘बी’ को खेलमा नाइजेरिया र क्यानडाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । मेलवर्न स्टेडियममा क्यानडाले बल पोसेसन राख्दै नाइजेरियामाथि दवाव बढाएपनि गोल गर्न नसक्दा जितबाट वञ्चित हुन पुग्यो ।

खेलको अन्तिम समयमा भने नाइजेरिया १० खेलाडीमा समेटिन पुगेको थियो । एस्ले लरेन्सलाई अनावश्यक च्यालेन्ज गरेपछि १९ वर्षीय डेवोरह एवायोडनलाई रेफ्रीले भिएआरको सहायतामा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउँदा नाइजेरियाले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

यस बराबरीले क्यानडा र नाइजेरियाले समान एक अंक बटुलेका छन् । यो समूहमा आयोजक अष्ट्रेलिया ३ अंक जोडेर शीर्षस्थानमा रहँदा आइरल्यान्ड अंकविहीन हुँदै पुछारमा छ ।

विश्वकपमा शनिबार चार खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘सी’ मा जाम्विया र जापानले प्रतिस्पर्धा गर्नेछ । समूह ‘डी’ मा इंग्ल्यान्ड र हाइटी तथा डेनमार्क र चीन बीच प्रतिस्पर्धा हुँदा समूह ‘ई’ मा अमेरिका र भियतनामबीच खेल हुनेछ ।

प्रतिक्रिया