शनिबार, वैशाख १३, २०८२

राजनीति गर्ने काइदा !

बालाराम तिमिल्सिना २०८० साउन ६ गते ७:३०

जुलुस गर्ने
अनसन बस्ने
जेल जाने
निर्वासित हुने
बाफ्रे वाफ !
त्यो त लोकतन्त्रवादीले
गर्ने काम हो ।

पार्टी खोल्ने
घरवार छोड्ने
पढाई छोड्ने
जागिर छोड्ने
भूमिगत हुने
सर्वस्वहरणमा पर्ने
बन्दुक उठाउने
ब्यारेक हान्ने
टाउकामा कात्रो बाँध्ने
टाउकाको मोल तोकिमाग्ने
मजदूर किसानका कुरा गर्ने
दलित र महिलाका कुरा गर्ने
जनजाति र मधेशीका कुरा गर्ने
सङ्घीयता र समानुपातिकका कुरा गर्ने
स्वतन्त्रता र समानताका कुरा गर्ने
अरे बाफ्रे !
त्यो त कम्युनिष्टहरूले
गर्ने दुस्ख हो ।

त्याग, तपस्या र वलिदान
बिचार,सिध्दान्त र दर्शन
हत्तेरिका !
यी सब लफडा केको लागि हँ रु

दशौं वर्ष खट्ने
दशौं वर्ष पालो पर्खने
राजनीतिक इमान र
लगानीका कुरा गर्ने
त्वेट !
यो पनि कहीं
राजनीति हो ?

जागिर खानुस
या विदेश जानुस
व्यापार गर्नुस
या कन्सल्टेन्सी चलाउनुस्
र्याप हान्नुस
या डिस्को नाच्नुस
केही फरक पर्दैन
चुनाब आउन आउन लागेपछि
झ्याप्प पार्टी खोल्नुस
या चुनाब लड्ने घोषणा गर्नुस
ट्विटरमा पकड जमाउनुस
टिकटकमा जम्नुस
सहरीया मध्यम वर्गलाई
हिप्टोटाइज गर्न सिक्नुस
मेयर बन्नुस
मन्त्री बन्नुस
झापझुप झापझुप भ्याइहाल्नुस !

आज उम्रनुस
भोलि फक्रनुस
ठ्याक्कै च्याउजस्तै !

यी झ्याउ पार्टीलाई छोडिदिनुस्
हाम्रो च्याउ पार्टीलाई रोज्नुस
जिन्नकीको ठेगान छैन
दश वर्षपछि बाँचिन्छ बाँचिन्न
दश वर्षपछि
मानिसहरू हाउडे
हुन छोडे भने क्यार्ने नि ?
उधारो कुरा छोड्नुस
ठ्याक्कै हाताहाती कुरा गर्नुस !

दलहरूको बिरोध गर्नुस र
दल खोल्नुस
पुरानाहरुको बिरोध गर्नुस
र उनीहरूकै पछि लाग्नुस
विकल्पका गफ दिनुस
र जनतालाई विकल्पहीन
बनाइदिनुस् !

स्वतन्त्र बन्ने कुरा गर्नुस
तर हर्क साङपाङजस्तो
पाखे नबन्नुस
पाइप तान्ने
गिटी कुट्ने
छिस् छिस् छिस्
भरियाले गर्ने काम
कुल्लीले गर्ने काम‌
ढ्याक्क कालो टोपी लगाउनुस
ठ्याक्क कालो चस्मा भिर्नुस
ठ्याक्क कालै कोट लगाउनुस
ठ्याक्क दिपेन्द्र कट दाह्री काट्नुस
झट्ट हेर्दा युवराज जस्तै देखियोस्
हो त्यसो गर्नुस
र सहरीया मध्यम
वर्गलाई मुहुनी लगाउनुस
राजनीति गर्ने काइदा सिक्नु भयो नि ?

मानिसहरू सिध्दान्त खास बुझ्दैनन्
मानिसहरू अवतारमा विश्वास गर्छन
मानिसहरू हावादारी कुरा बढी पत्याउँछन्
मानिसहरू अभिनयमा मुग्ध बन्छन
यी सबै कुरा बुझ्नुस
राजनीतिमा सफल बन्नुस
र पुराना पार्टीहरूको
ओठमुख सुकाइदिनुस ।

नयाँ तरिकाले ठग्न सिक्नुस
र पुराना ठगहरूको
पसल सुकाइदिनुस
फाइदै फाइदा
नयाँ काइदा
नयाँ युगको
नयाँ च्याउ पार्टी जिन्दावाद !

प्रतिक्रिया