मंगलबार, जेठ १, २०८१

‘साहित्य तथा संगीत कहिल्यै कसैलाई नबिझाउने मार्मिक यात्रा हो’

नेपालखोज २०७८ माघ १८ गते १०:१०

प्रा.डा. रामप्रसाद दाहालको शिक्षा, साहित्य, समाजसेवा र आर्थिक क्षेत्रमा विगत ४० वर्षदेखिको योगदान छ । २०१३ सालमा जन्मिएका डा. दाहालको उच्च शिक्षामा अत्यन्त विशिष्ट योगदान छ । करिब दुई लाखभन्दा बढी विद्यार्थी उत्पादन गर्न सफल दाहालले विभिन्न संघ–संस्था स्थापना गरी काम गर्दै आउनुभएको छ । गीत तथा साहित्य लेखनमा दखल, सामाजिक भावना, बोलीमा स्पष्टतालगायत उहाँका व्यक्तिगत विशेषता हुन् । नेपालखोजका लागि पार्वती भण्डारीले डा. दाहालको साहित्य तथा गीत–संगीत क्षेत्रको सेरोफेरोमा रहेर कुराकानी गरेकी छन् । प्रस्तुत छ कुराकानीको अंश :

तपाईंले शिक्षा, साहित्य तथा समाज सेवामा पुर्याएको योगदान महत्त्वूर्ण छ । साहित्यतर्फ हालसम्म कतिवटा कृति प्रकाशित भए त ?
मैले लेखेका विभिन्न सामग्री २०२८ सालदेखि विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका छन् । २०४४ सालमा भने ‘कृति स्मृति’ पुस्तक प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेको हुँ । हालसम्म १७ वटा कृति प्रकाशन भएका छन् । हालै प्रकाशित भएको पुस्तक ‘आँखामा जापान’ नियात्रा विधा हो ।

साहित्यमा मूल रूपमा के देखाउन खोज्नुभएको छ ?
मूलतः मैले समाजभित्रै भएका राम्रा–नराम्रा पक्षहरूलाई समेटेर देशप्रेम, प्रकृति प्रेम र प्रेम विषयलाई केन्द्रित गर्दै लेखेको छु । प्रत्येक रचनाहरूमा सुन्दर समाजको परिकल्पना गरेको छु ।

हालै प्रकाशित ‘आँखामा जापान’ कस्तो कृति हो ?
आँखामा जापान नियात्रा संग्रह हो । जापान भ्रमणमा जाँदा टोकियो, नागोया, ओसाका, टोबजस्ता क्षेत्रहरूको भ्रमण गरेँ । त्यहाँको आर्थिक, सामाजिक, राजनीतिक, ऐतिहासिक र सांस्कृतिक पक्षलाई देखाएर लेखेको छ । राम्रा कुरालाई नेपालमा पनि भित्र्याउन सकिए राम्रो हुन्थ्यो भने आशय कृतिमा छ ।

जापानको जनजीवन कस्तो देख्नुभयो ?
जापानको जनजीवन कठोर र मिहिनेतपूर्वक काम गरेर अगाडि बढेको छ । ‘काम नै कर्म हो’ भन्नेमा उनीहरू विश्वास गर्छन् । यस अर्थमा थुप्रै मिहिनेती जापनीहरू मैले देखें, भेटेँ । उनीहरूको मिहिनेतबाट म अत्यन्त प्रभावित भएको छु, जो ज्यादै उच्च छ ।

तपाईंले गीतहरू पनि लेख्नुभएको छ । कस्तो प्रकारका गीतहरू छन् ?
बसिबियालो र सुधार मनोरञ्जनका लागि गरिएका मेरा सिर्जनाहरू गीतमा पोखिएका छन् । आरती दाहालका नामबाट लेखिएका मेरा गीतहरूको संकलन बजारमा बजिरहेका छन् ।

तपाईँका कतिवटा गीति एल्बम तथा गीतहरू छन् ?
मेरा तीनवटा गीति एल्बम र गीतहरू छन् । औषधि, दुई किनारा र सम्बन्ध एल्बमको नाम हुन् । अन्जु पन्त, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, दुर्गा खरेल, रितु कँडेल, शिव परियारजस्ता विशिष्ट गायकले गएका छन् भने अर्जुन पोखरेललगायतले संगीत गरेका छन् ।

तपाईंलाई मन परेको गीतचाहिँ कुन होला ?
आफूले लेखिएका गीत सबै मन परेकै हुन्छ । उत्कृष्टभित्र पनि ज्यादा जनताले रूचाएका र सम्मान–पुरस्कारसमेत प्राप्त गरेका गीतहरू अन्जु पन्तले गाएको ‘खे के होला र, औषधि, कुँडिएको मनको फाइदा लिएऊ तिमीले थोरै मेरो सोझो पनको’ गीत र रामकृष्ण ढकालले गएको ‘मेरो देशको आँगनीमा छैन कोही पराइ मुटुमा छ हिमाल पहाड तराई’ हुन् ।

साहित्य र गीत–संगीत कस्ता विधा हुन् ?
साहित्य तथा गीत–संगीत प्रत्येक मानिसको मन मुटुमा बस्ने विधा हो । साहित्य भनेको कला पनि हो । त्यहाँ सौन्दर्यको सुगन्ध छरिइरहेको हुन्छ । प्रकृतिबाट जीवनबोध प्रप्त गर्न सकिन्छ । साहित्य तथा संगीत कहिल्यै कसैलाई नबिझाउने मार्मिक यात्रा हो ।

प्रतिक्रिया