सोमबार, वैशाख १७, २०८१

सिङ्गिङ सुपरस्टारलाई प्रश्न, रियालिटी शोका विनर किन घाइते बन्छन् ?

नेपालखोज २०८० साउन ६ गते १०:३०

खोटाङ हलेसीका राजेश राई गायन क्षेत्रमा दशक बढी समयदेखि सक्रिय छन् । ‘सिङ्गिङ सुपरस्टार’को विनर बनेपछि अझ उनको व्यस्तता र साङ्गीतिक हाइट उँचो बनेको छ । ‘बनमारा’ल्याएको केही समयमै ‘झल्को ज्यानकै आउने’ गीत ल्याएका राईसँग सहकर्मी शिखर गजरकोटेले गर्नुभएको कुराकानीको सम्पादित अंश :

गायनको औपचारिक यात्रा कहिले देखि सुरु भयो ?

सन् २०१४ मा ‘सुरुवात’एल्बम सार्वजनिक गरेर औपचारिक रूपमा सङ्गीत यात्रा सुरु गरे । एसियन म्युजिकबाट सार्वजनिक त्यस एल्बममा ६ वटा अडियो गीत समावेश थियो । पछि ती गीतको भिडियो पनि गरे । तर त्यसभन्दा अघि नै एउटा कलेक्सन एल्बममा एउटा गीत गाउने अवसर पाएको थिए । सुनिल बर्देवाको सङ्गीतमा सेलो गीत गरेको थिए । त्यो गीत ‘सुरुवात’भन्दा अगाडि नै रिलिज भएको थियो । त्यो समय सिडीको जमाना सकिँदो थियो । सिआरबिटी र पिआरपिटीको बजार फस्टाउँदो थियो । ‘सुरुवात’एल्बममै समावेश ‘तोडियो तोडियो मेरो सम्बन्ध तोडियो’गीत बजारमा चलेको थियो ।

पहिलो पटक गीत गाएर पारिश्रमिक लिएको घटना सम्झनुपर्दा ?

त्यो पल चाहिँ मैले बिर्सेको छैन । रेडियोकर्मी हेम सुवेदीसँग पार्टी मिटिङ भेट भएको थियो । सो ठाउँमा मैले गीत गाएको थियो । हेम दाइले नोटिस गर्नुभएछ । उहाँले एउटा कलेजमा गीत गाउन अफर गर्नुभयो, शनिवारका लागि । कलेजको नाम, नम्बर र लोकेसन दिनुभयो । कार्यक्रममा सहभागी भएर गीत गाए, निकै राम्रो पनि भयो । विद्यार्थीसँगको जमघट । त्यस कार्यक्रमबाट छुट्ने बेलामा एउटा खाम दिनुभयो । फर्किदा बाटोमा खाम खोलेर हेर्दा त्यस बेला राम्रै रकम थियो । तर त्यो कार्यक्रममा पैसाको लागि गीत गाउन गाको थिइन् । त्यही नै हो, पहिलो कमाई ।

कुन बेला देखि सङ्गीत क्षेत्रमा लाग्छु भन्ने सोच बन्यो ?

स्कुल लेबलमै अध्ययन गर्दै गर्दा सङ्गीतकार सुरेश अधिकारीसँग सिक्ने अवसर पाएँ । त्यस बेला स्कुल लेबलको कार्यक्रममा सहभागीताका लागि म सहभागी बन्ने अवसर पाउँथे । विभिन्न रेडियोको कार्यक्रममा सहभागी हुन्थे । एसएलसी पछि सङ्गीत अझ सिक्नुपर्छ भन्ने लागेर गिटारको कोर्स पनि गरे । प्रकाश गुरुङसँग भोकल क्लास पनि गरे । त्यसपछि बिस्तारै रेकर्डिङ तर्फ लागे । यसरी नै सङ्गीत क्षेत्रमा अहिले छु ।

एक किसिमको सङ्घर्ष चल्दै गर्दा ‘सिङ्गिङ सुपरस्टार’ रियालिटी शोमा पुग्नु भयो नि ? त्यो प्लेटफर्म किन रोज्नुभयो ?

त्यसअघि कुनै पनि ‘रियालिटी शो’मा जाने सोच बनाएकै थिइन् । जति बेला रवि श्रेष्ठ दाइले हाम्रै ‘शो’ हो । सहभागी बनौँ भन्नुभयो । कम्तीमा ५ वर्ष सङ्गीतमा लागेको व्यक्तिलाई सहभागी गराउने ‘शो’को फम्र्याट हेर्दा पनि मलाई मनप¥यो । सहभागी भएँ । सबैको साथ सर्पोट पाएर विनर पनि बनेँ ।

गाउँको मान्छेले ‘रियालिटी शो’ जित्न सक्दैन भन्छन्, तर त्यसलाई तपाईँले चिर्दिनुभयो ?

कुनै कलाकारको क्षमता दर्शक श्रोताले मन पराए भनेदेखि यो त्यो नहुँदो रैछ । परिवार, आफन्त, विभिन्न सङ्घसंस्थालाई गुहारे । उहाँले पनि सहयोग गर्नुभयो । त्यसपछि जित सुनिश्चित भयो ।

‘रियालिटी शो’का विनरहरु किन घाइते छन् ?

सङ्गीत उद्योगमा सम्बन्ध पनि राम्रो चाहिने गर्छ । फेरि विनर भनेर उहाँहरूमा लचकता नभए पनि उहाँहरूलाई ब्याक टु ब्याक प्रोजेक्टमा नदेखिएको पनि हुन सक्छ । विभिन्न कारण हुन सक्छ । तर मलाई पनि लागेकै छ, विनरहरु पछि परेकै छन् ।

विनरहरु आर्थिक भारले थिचिएका हुन्छन् भन्ने गुञ्जायस सुनिन्छ नि ?

हो, मैले पनि सुनेको छु । त्यो सुनेकै कारण आफूले ऋण गरेर भोटमा खर्च गर्ने काम गरिन् । साथीभाइ, शुभेच्छुकलाई गुहारे । मेरो हकमा त्यो लागू भएन ।

विनरले पुरस्कार रकम पाइएन भन्ने गुनासो पनि गर्दै आएका छन्, तपाईँको हकमा ?

त्यो कुरा चाहिँ हुँदो रैछ । मेरो पनि पुरस्कार क्लियर हुन बाँकी नै छ । उहाँहरूको समयसीमा हुँदो रैछ । मैले दुई–तीन किस्ता लिएँ हुँला । अझै बाँकी छ । किस्ताको समय पनि घर्किदा समस्यै हुन्छ ।

कारण के होला जस्तो लाग्छ ?

व्यापारसँग जोडिन्छ होला । खर्चको हिसाबले एउटा ‘रियालिटी शो’सम्पन्न गर्न करोडौँ जोहो गर्नुपर्ने, कुन प्रकृतिको स्पोन्सर पाइन्छ, उसले कसरी पेमेन्ट गर्छ, खर्चको भोलुमले पनि प्रभाव पारेको होला भन्ने लाग्छ ।

‘बनमारा’पछि ‘झल्को ज्यानकै आउने’मा गीतकार दुर्लभ जन्तरेसँगै सहकार्य गर्नुभयो नि, किन ?

म सबै प्याटनको गीत गाउन रुचाउँछु । ‘बनमारा’डान्सिङ विटको थियो । अब मलाई सेन्टिमेन्टल गीत चाहिएको थियो । दुर्लभ सरलाई भने बित्तिकै ‘झल्को ज्यानकै आउने’गीतको डमी पठाउनुभयो । सुनेपछि औधी मन प¥यो । कसैलाई नसुनाईकन मैले नै गाउनुपर्छ भन्ने लाग्यो । एरेन्ज नै गरिसक्नुभएको रैछ । मैले रेकर्ड गर्ने प्रस्ताव राखेपछि उहाँले केही दिन साथीभाइसँग होल्ड गर्नुभयो । त्यसपछि मेरो प्रस्ताव स्वीकृत भयो ।

भिडियो चाहिँ ‘सिङ्गिङ सुपरस्टार’जितेवापत् म्युजिक नेपाल र ओआरएसमा प्रायोजन थियो । त्यहाँबाट गरौँ कि भन्ने थियो । तर आफ्नो पनि युट्युब भएकाले आफैँ गरौँ भन्ने भएपछि भिडियो बनाएर राजेश राई युट्युबमा अपलोड गरिएको छ ।

अन्त्यमा गायक बन्छु भन्ने सोच बोकेका युवालाई के भन्नु छ ?

क्षमता छ भने डिजिटल प्लेटफर्मबाट विश्वभर पु¥याउन सकिन्छ । नयाँपिढीलाई माध्यमको हिसाबले निकै सजिलो छ तर प्रतिस्प्रर्धाको हिसाबले टफ छ । आफूलाई तयार पारेर आउँदा गाएरै धेरै गर्न सकिन्छ ।

प्रतिक्रिया