शनिबार, जेठ ५, २०८१

अलि गहिरैसँग सोच्नु पर्छ

बाला राम तिमिल्सिना २०८० साउन ७ गते ८:५५

कामनपाका मेयरले निर्वाचित भएको केही दिनमै प्रधान सेनापतिलाई भेटे । धेरैलाई लाग्यो होला त्यो सामन्य शिष्टाचार भेट थियो । सामान्यतया मेयर हुनासाथ सेनापतिलाई भेट्न खास जरुरी हुदैन । भेट्नै नहुने भन्ने पनि हुदैन । त्यस भेटको मुख्य अर्थ भनेको म काठमाडौंको निर्वाचित मेयर त हुँ नै तर त्योभन्दा पनि पर म अरू पनि केही हुँ भन्ने सन्देश दिनु थियो ।

खास पावर सेन्टरसँग मेरो अच्छा सम्बन्ध छ भनेर जनजीवनको एउटा हिस्सालाई कुरा बुझाउनु थियो । बुझ्नेहरूले ठ्याक्कै कुरा बुझे र त्यस यतादेखि अहिलेसम्म स्वयमसेवक सिपाही बनेर वालेनका हर जिहादमा सहयोग गरिरहेकै छन । गरीबको चमेली… वाला गीतमा भोट मागेर मेयर भएका उनी खासमा कुन खानदानका प्रतिनिधि रहेछन भन्ने कुरा अहिलेसम्ममा लगभग प्रष्ट भैसक्यो ।

काङ्ग्रेसको दूध चुसेर हुर्केका अनि तिघ्रा लागेपछि रास्वपा छिरेका पदलोलुप, स्वार्थी एवम हाँडीघोप्टे स्वभावका महाजन स्वघोषित अन्तराष्ट्रिय अर्थविद स्वर्णिम वाग्ले स्वयमले प्रधान सेनापति सँग भेटेको कुरा सार्वजनिक गरे ।त्यही मेसोमा उनले सेनाको सङ्ख्या घटाउनु पर्ने भाषण गरेर भक्कु गाली खाए ।

कट्टर राजावादीहरू अनि पूर्व सैनिक अफिसरहरूबाट त उनले आमाचकारी गाली नै खाए । गाली खाएर केही फरक परेन ।गाली खाइने कुरा उनलाई पनि थाहा थियो। थाहा भएरै पनि उनले आफ । नो मिसन पुरा गर्नु थियो। राट्रलाई अनि अन्तराष्ट्रलाई उनले आफ्नो मत दर्ज गर्नु थियो ।

उनी अरु जस्ता तलव पचाउने झासेझुसे सांसद मात्र नभएर अरु कसैका केही पनि हुन र उनको सान्सद बाहेक अरु पनि गुप्ती भूमिका छ भनेर उनले लोकलाई सम्झाउनु थियो । त्यो सम्झाउने कुरामा रास्वपाका गुडलक वालाहरु बाहेक अरुलाई सम्झाउन उनी मोटामोटी सफल नै भए ।

सेनाको सङ्ख्याको बारेमा मजाले बहस गर्न पाइन्छ। सेना भनेको हिजोको राजसंस्था होइन जसको वारेमा बोल्न समेत पाइदैनथ्यो। हाम्रो जस्तो भूराजनीतिक अवस्था भएको देशमा कस्तो र कति सेना चाहिन्छ भनेर बहस त गर्नु पर्छ।तर त्यो बहसको लागि पनि समय र परिस्थिति चाहिन्छ ।

झट्ट मन लाग्यो प्रधान सेनापति भेट्ने अनि झट्ट मुख चिलायो बोलिहाल्ने कुरा मनासिव मानिदैन । मनासिव नमानिए पनि रास्वपाका रिक्रुट पोटिसियनहरूलाई लोकले अलि अलि अन्टसन्ट बोल्ने छुट दिएको छ । यसरी स्वर्णिम वाग्लेले पनि आफ्नो परिचय दिए ।

कुनै दिन ज्ञानेन्द्र शाहीले पनि सेना प्रमुखलाई भेट्ने छन र कुनै सनसनीपूर्ण भाषण पक्कै गर्ने छन । किन कि उनी पनि अरु जस्ता चानचुने सान्सद होइनन ।

दिल्ली तथा यताको भूतपूर्व दरवारको अप्रत्यक्ष लगानी रहेको दलका चर्चित प्रवक्ता उनी अरु सान्सद जस्ता पक्कै होइनन् । अन्तमा ,एक दर्जन जति सेनाका पूर्व अधिकृतहरू राजा ल्याउने अभियान सफल पार्न राप्रपामा प्रवेश गरेको समाचार केही दिन अगाडि पढ्न पाइएको थियो ।

ऐले जर्नेल कर्नेल भएका सेनाका कमाण्डरहरूको ठूलो हिस्सा अहिले पनि मनले राजावादी र मुखले मात्र गणतन्त्रवादी छ भन्ने कुरा पनि अब ओपन सेक्रेट हो । त्यसैले यस प्रकारका संदिग्ध चरित्र भएकाहरूसँगका गोप्य भेटहरूमा के कुरा भए होलान भनेर जनताले पनि अलि गहिरैसँग सोच्नु पर्छ।

प्रतिक्रिया