तातोपानी राख्न विशाल ‘भूमिगत थर्मस’ बनाउने योजना

काठमाडौं । स्वीडनको भेस्तेरोस सहरमुनि रहेका गहिरा ओडारहरूमा शीतयुद्ध कालमा ३,००,००० क्युबिक मिटर तेलको भण्डारण गरिएको थियो।
यदि तेस्रो विश्वयुद्ध भइहाल्यो र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति स्वीडनमा बन्द भयो भने चाहिन सक्छ भनेर उक्त तेल जमिनमुनिका ओडारमा भण्डारण गरिएको थियो।
जब सन् १९८५ मा भूराजनीतिक तनाव मत्थर हुन थाल्यो ती ओडारहरूमा राखिएको तेल बाहिर निकालियो र ती त्यसयता खाली नै छन्।
स्वीडिस ऊर्जा कम्पनी मेलारेन्देफीले यो ओडारलाई सफा गरेर तातो पानी जम्मा गर्ने कुण्ड बनाउने काम सुरु गरेको छ।
अर्थात् यो ओडारलाई एउटा ठूलो ‘भूमिगत थर्मस’ बनाउन लागिएको छ जसभित्र पानीको तापक्रम ९५ डिग्री सेल्सियस हुनेछ। त्यो युरोपकै सबैभन्दा ठूलो त्यस्तो प्रकृतिको कुण्ड हुने दाबी कम्पनीको छ।
‘यो अलि ओसिलो छ,’ आफ्नो सबैभन्दा पछिल्लो ओडार अवलोकन सम्झँदै कम्पनीकी लिसा ग्रान्सट्रोमले भनिन्। यो ओडार रहेको स्थान भने अझैसम्म गोप्य छ।
‘त्यो ओडार तपाईँले सोचेको भन्दा पनि धेरै तातो छ। त्यहाँ अझैसम्म तेलको गन्ध आउँछ,’ उनले भनिन्।
ओडारभित्र करिब १२० वटा ओलम्पिक खेलका लागि प्रयोग हुने पौडी पोखरीमा जतिनै पानी अट्ने बताइएको छ।
५०० मेगावाट बिजुली पनि

यो मेलारन्देफीले नै सञ्चालन गरिरहेको स्व नकै अर्को स्थानमा रहेको तातोपानी कुण्ड भन्दा ११ गुणा ठूलो रहेको ग्रान्सट्रोम बताउँछिन्।
जमिनमा तातोपानी सञ्चय गरेर पछि प्रयोगका लागि राख्ने धेरै उपायमध्ये यो पनि एउटा हो।
युक्रेनमा रुसको आक्रमण पछि सुरु भएको ऊर्जा सुरक्षा र नवीकरणीय ऊर्जाको प्रयोगबारे चिन्तामाझ विज्ञहरूले तातोका लागि जमिनमुनि गरिने भण्डार थप बढाउँदै लैजानुपर्ने बताएका छन्।
भेस्तेरोसको यो कुण्डको हकमा भने स्थानीय तापक्रम सञ्जालबाट गुफामा तातो पठाइन्छ। यो गुफाको तातोपानी नजिकको सहरका एक लाख ३० हजार जनसङ्ख्याका लागि आपूर्ति हुने बताइएको छ।
मेलारेन्देफीले यो वर्षको अन्त्यबाट उक्त ओडारमा पानी भर्न सुरु गर्नेछ। उक्त संरचनाबाट स्थानीय क्षेत्रका लागि ५०० मेगावाट बिजुली पनि उत्पादन हुन्छ।
यहाँ तापक्रम पुर्याउनका लागि कम्पनीले नजिकै एउटा फोहोर जलाउने कारखाना राखेको छ। जसबाट उत्पादन हुने थर्मल ऊर्जाले ओडारमा तातो पुर्याउने योजना बनाइएको छ। ग्रान्सट्रोमका अनुसार कम्पनीले त्यहाँबाट निष्कासन हुने हानिकारक कार्बन सोस्ने प्रविधि पनि जडान गर्ने सोच बनाइरहेको छ।
ऊर्जा उत्पादक मेलारेन्देफीलाई यो तातोपानीको भण्डारणले माग उच्च हुने जाडो याममा पनि बिजुलीको उत्पादन नघटाई घरहरूमा तातोपानी पुर्याउन सहयोग गर्छ।
चट्टान समेत तताइने

जमिनमुनिको सतह आफैँ तापक्रम वारपार हुन रोक्ने इन्सुलेटर जस्तो हुने भएकाले भूमिगत रूपमा सञ्चय गरिने तापक्रम दिगो हुने ग्रान्सट्रोम बताउँछिन्।
यहाँको गुफाले हप्तौँसम्म तापक्रम सञ्चय गरेर राख्न सक्ने र केही वर्षपछि तापक्रम स्थिर हुन सुरु हुने उनले बताइन्।
‘एक पटक त्यसलाई तताएपछि त्यहाँ तापक्रम घटेर जाने अवस्था ज्यादै कम हुन्छ,’ उनी भन्छिन्।
‘किनभने हामीले त्यहाँ वरिपरिका चट्टान समेत तातो बनाइसकेका हुन्छौँ।’
यो गुफाको तापक्रमले लन्डनका भूमिगत पारवहन सुरुङहरूमा जाँदा गर्मीका कारण पसिनै पसिना भइने लन्डनवासीहरूको कथा सम्झाउँछ।
दशकौँ देखि रेल र वरपरका मानिसहरूका कारण लन्डनका ती पारवहन सुरुङहरूको वरवरको माटो तातो बनाएको छ। त्यस कारण पनि यहाँको माटोको तापक्रम २० देखि २५ डिग्री सेल्सियसमा स्थिर भइसकेको छ जसले सुरुङमा सामान ओसार्ने डिब्बाहरू र अन्य उपकरणहरूलाई चिसो बनाइराख्न ठूलो चुनौती छ।
अरू ठाउँमा पनि भण्डारणको अभ्यास

भेस्तेरोस परियोजना भूमिगत तातोपानी भण्डारण गर्ने पहिलो योजना चाहिँ होइन। यसअघि नै फिनल्यान्डमा ऊर्जा कम्पनी हेलेनले यो भन्दा केही सानो ओडारमा सन् २०२१ बाटै तातोपानी भण्डारण सुरु गरिसकेको छ।
यो आयोजना अहिले सञ्चालनमा आइसकेको छ र कम्पनीका अनुसार यसले एउटा शयन कक्ष भएका २५,००० अपार्टमेन्टहरूमा वर्षभरि तापक्रम आपूर्ति गर्छ।
‘ओडारमा भण्डारणको उपाय गज्जब छ। यो सिफारिस योग्य छ,’ लिड्स विश्वविद्यालयका फ्लअ लभरिज भन्छन्। ‘यदि तपाईँलाई ठिक लाग्छ भने यो पनि एउटा उपाय हो।’
यूकेमा पनि एक चौथाइ मानिसहरू कोइला निकालेर छोडिएका खानीमाथिका बस्तीमा बसोबास गर्ने त्यहाँको कोइलासम्बन्धी कार्यालयको दाबी छ। कतिपय यस्ता खानीहरूमा बाढी पसेर पानी जम्मा भएको छ। यहाँको पानी न्यानो हुने र त्यसलाई पम्पको मद्दतले थप तताउन पनि सकिने बताइन्छ।
युरोपमा चट्टानभित्र तपयुक्त ऊर्जा सञ्चय गर्ने अरू पनि कैयौँ संरचनाहरू छन् र सबैभन्दा धेरै द नेदरल्याण्ड्समा रहेको बताइन्छ। –BBC
प्रतिक्रिया