कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाउनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्र्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताएका छन् ।
यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कांग्रेसले लिएका नीतिका कारण मुलुकमा बृहत् परिवर्तन सम्भव भएको उल्लेख गरे ।
कांग्रेसले बैठक लाइभ गरेपछि यसको आकर्षण अन्य दलमा पनि पर्ने बताउँदै महामन्त्री शर्माले कांग्रेस बैठकमा सात दिनसम्म संसद्मा भएको जस्तै छलफल भएको बताए । बैठकमा अन्य दलको बारेमा नबोल्नु भनी आएको प्रश्नका सम्बन्धमा उनले त्यस्तो कसैले नभनेको भनी स्पष्ट पारे ।
अर्का महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्तुत गरेको साङ्गठनिक कार्यतालिका कार्यान्वयनका सम्बन्धमा उनले यो प्रस्ताव सिङ्गो सङ्गठनका लागि भएकाले सबै आशङ्का नगरी अठोट गरेर लाग्नुपर्ने स्पष्ट पारे ।
महामन्त्री शर्माले बैठकमा आएका प्रश्न र गुनासोलाई आत्मसात गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले पार्टी सभापतिले घरबाटै पार्टी चलाएको भन्ने प्रश्नको जवाफ दिँदै आगामी दिनमा कार्यक्रम हुँदा नियमित र अन्य दिनमा प्रत्येक शुक्रबार सभापति र महामन्त्रीहरूले पार्टी कार्यालयमा नियमित भेटघाट गर्ने उल्लेख गरे ।
प्रतिक्रिया