आइतबार, वैशाख १६, २०८१

लोकतन्त्र क्षयीकरणको खतरा

महेश आचार्य २०८० साउन ९ गते ६:३०

नेपाली कांग्रेसका नेता महेश आचार्यले नैराश्यको आवेगमा खुद जनताले लेखेको संविधान र प्रणालीमाथी आक्रमणको व्युह रचना गरिदैछ भन्ने जनधारणा व्याप्त भएको कुरा बताएका छन् । आचार्यले सामाजिक संजालमा आफ्नो लामो धारणा व्यक्त गर्दै सुधारको ईमानन्दार प्रयास भएन भने – यिनै धातक प्रवृत्तिको निरन्तरता हाम्रो लोकतन्त्र क्षयिकरणका कारण बन्ने खतरा देखेको कुरा समेत उल्लेख गरेका छन् ।

आचार्यको स्टाटस जस्ताको तस्तै : लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरुको विस्तारै क्षयिकरण हुने अहिले एउटा वैश्विक प्रवृत्ति देखिन्छ । दम्भि र एकलौटी निर्णय गर्न चाहने नेतृत्वको उदय र उस्को वर्चस्व, कानुनी राज्यको उपहास र संस्थाहरुको निरन्तर उपेक्षा र ह्रास, सामाजिक द्वन्द र जातीय-धार्मिक कट्टरतामा वृध्दि, ह्रासोन्मुख सुशाशन र बढदो भ्रष्टाचार, न्याय प्रणालीमा सरकारको हस्तक्षेप, सत्ताको बहुमतद्वारा पंगु बनाईएको संसद र उपेक्षित प्रतिपक्ष, संचार क्षेत्रमाथी दबाब र स्वतन्त्रता संकुचन जस्ता उग्र र घातक प्रवृत्तिले वैश्विक स्तरमै लोकतन्त्रमाथी चुनौती थपिराखेका छन् ।

राष्ट्रपति ट्रम्पको शाशनकालमा अमेरिकी समाजमा भेदभाव एवम् विभाजन तथा अश्वेत अमेरिकी र आप्रवासीमाथी आक्रमण र हिंसाका धटना डरलाग्दो ढंगले बढे । न्यायाधीश नियुक्तिमा राष्ट्रपति ट्रम्पको बल प्रयोग र अस्वाभाविक निर्णय, संसदमाथी नियन्त्रण प्रयास, निर्वाचन प्रणाली र परिणामलाई प्रभावित पार्ने सत्ताका कदम र विदेशी दाउपेचले २०० बर्ष पुरानो अमेरिकी लोकतन्त्रलाई गंभीर ढंगले क्षति पुर्‍ययो ।

भारतमा पनि लगातार बढ्दो सामाजिक धार्मिक कट्टरता र असहिष्णुता, मणिपुरमा फैलिएको जस्तो लज्जास्पद जातीय हिंसात्मक घटना, संविधान-कानुन र अदालतमाथी सत्ताको दबाब र संचार क्षेत्रमा बढ्दो सरकारी हस्तक्षेपको आरोप झेलिराख्नुपर्दा तथा सत्ता र प्रतिपक्षबीच निरन्तर बढिराखेको दुरीले संसारको सबैभन्दा ठुलो भारतीय लोकतन्त्रको छविमा समेत क्षति पुगेको छ ।

इजरायलमा प्यालेष्टिनी मुद्दाको पृष्ठभुमिमा हिंसा र कट्टरताको आगो झनै सल्किदैछ।सरकारको निरन्तर अस्थिरता, भ्रष्टाचारका गंभीर आरोप तर पनि सत्तामा निरन्तर बसिरहने प्रम नेतेन्याहुको हठ र न्याय प्रणालीलाई नियन्त्रण गर्ने उन्को कथित सुधार योजनाले सानो तर सुदृढ देश इजरायलको लोकतन्त्र समेत धरापमा परेको छ । कम्युनिष्ट एकदलियता त्यागेर वहुदलीय लोकतन्त्रको अभ्यास गरिरहेको घोषणा गर्ने हुन सेन नेतृत्वको कम्बोडियाई सरकार अहिले प्रेस नियन्त्रण गरेर र प्रभावी प्रतिपक्षविहिन निर्वाचन नौटङ्गी गरिरहेको छ ।

कम्बोडिया यस्तो भए – झन् कडा एकल वर्चस्वको चीन र रुसमा लोकतन्त्रको उदय कहिले र कसरी होला ? नेपालको लोकतन्त्र प्राप्तिको संघर्ष गाथा साँच्चै गौरवशाली छ।तर लोकतन्त्रको सुदृढीकरण गर्ने कार्य वा यस्को क्षयिकरण हुन नदिने अभिभारा अझै बाँकी र चुनौतीपुर्ण छ।त्यसैले यो प्रश्न निरन्तर उठने छ – लोकतन्त्रको क्षयिकरणका वर्तमान वैश्विक प्रवृत्ति र बिषाणुबाट के हामी मुक्त छौं ? एकल वर्चस्व र आलोचना प्रति असहिष्णु नेतृत्वको प्रवृत्ति र बिषाणुबाट मुक्त छैन नेपाली राजनीति। राजनितिक अस्थिरता, अक्षमता र दलहरुका बीच बढिराखेको दुरी र असहिष्णुताले राज्यको सेवा प्रवाह खस्किदो एवम् निराशाजनक छ।

संसदलाई, संसदीय समितिका बहस र निर्णयलाई तथा कानुन निर्माणको सहभागितामुलक प्रक्रियालाई बहुधा सरकारको हठी नेतृत्व र बहुमतको दम्भले निष्प्रभावी पार्ने गरेको छ। सरकार र राजनैतिक नेतृत्वको बढदो हस्तक्षेपले संवैधानिक एवम् न्यायिक-नियुक्ति र निर्णय विवादास्पद बन्दै गएका छन् । अदालतमा भ्रष्ट आचरण र बिचौलियातन्त्र हावी रहेको आक्षेप छ।प्रशासन संयन्त्र, शैक्षिक क्षेत्र लगायत सार्वजनिक सेवा दिने निकाय दलीय आस्थामा संगठित,पुर्वाग्रही र विभाजित छन् ।कानुनको राज्य निर्बल छ- भ्रष्टाचार र दण्डहिनता व्याप्त छ । आर्थिक विकासले अपेक्षित गति लिन सकेको छैन।बेरोजगारी र युवाको विदेश पलायनले तीव्र सामाजिक आक्रोश फैलिदो छ । यो नैराश्यको आवेगमा खुद जनताले लेखेको संविधान र प्रणालीमाथी आक्रमणको व्युह रचना गरिँदैछ भन्ने जनधारणा व्याप्त छ । सुधारको ईमानन्दार प्रयास भएन भने – यिनै धातक प्रवृत्तिको निरन्तरता हाम्रो लोकतन्त्र क्षयिकरणका कारण बन्ने खतरा देख्दछु।

प्रतिक्रिया