शुक्रबार, जेठ ३, २०८२

झरी अझै केही दिन रहने

नेपालखोज २०८० साउन ९ गते १५:०६

काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीले लगभग देशैभरि पानी परिरहेको मौसमविद्हरूले बताएका छन् ।

मङ्गलबार बिहानैदेखि खासगरी दाङ र चितवन आसपासका क्षेत्रमा भारी वर्षा भएको थियो ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अनि कर्णाली, सुदूर पश्चिम तथा मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् ।

मनसुनको मौसम भएकाले बदली र वर्षाको क्रम यथावत् चलिरहने मौसमविद्हरूले बताएका छन् ।

कहिलेसम्म झरी जारी रहला ?

बाढी पुर्वानुमान महाशाखाले मङ्गलबार बिहान जारी गरेको बुलेटिनमा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दियालगायत काठमाण्डू उपत्यकामा पनि स-साना नदीहरूमा बहाव बढ्न सक्ने तथा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख छ ।

तिनाउ नदीको जलसतह खतराको तह आसपास रहेकाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन उसले सचेत गराएको छ ।

बुधवार र बिहीवार सम्मको मौसम पूर्वानुमान अनुसार देशैभरि सामान्य बदली रहने तथा कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षा समेत हुने जनाइएको छ ।

४२ दिनमा ५६५ मिलि पानी

नेपालमा जुन १३ बाट सुरु भएर ११२ दिनसम्म रहने मनसुन यसपालि एक दिन ढिलो गरी प्रवेश गरेको थियो । अहिले करिब ४२ दिन बित्दा लगभग ३८ प्रतिशत पानी परिसकेको बताइएको छ ।

‘मनसुनमा नेपालमा कूल औसत १४७२ मिलिलिटर पानी पर्ने ठानिन्छ । सोमबार सम्मको आँकडा हेर्दा ३८.४ प्रतिशत वा ५६५ मिलिलिटर पानी परिसकेको छ,’ मौसमविद् गोविन्द झाले भने ।

वर्षभरिको कूल पानी पर्ने परिमाण हेर्ने हो भने चाहिँ कूल औसत १८३२ मिलिलिटर रहने गरेको पाइन्छ जसमध्ये यसपालि ४३ प्रतिशत वा ७८७ मिलिलिटर पानी परिसकेको उनले बताए । औसतभन्दा १० प्रतिशत तलमाथि भएसम्म स्वाभाविक मनसुन मान्ने गरिन्छ ।

‘जुलाई महिना सबभन्दा धेरै पानी पर्ने महिना पनि हो। अगस्टदेखि खासगरी बेलाबेला मनसुन ब्रेक वा पानी केही दिन नपर्ने पनि हुने गर्छ,’ झाले भने ।

प्रतिक्रिया