सोमबार, वैशाख ३१, २०८१

पालिकाले बलजफ्ती सडक खन्यो, महिनापछि पहिरोले आमाछोराको ज्यान गयो

नेपालखोज २०८० साउन १० गते ११:४७

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । सोमबार बिहान करिब दुई बजेको समयमा घरमाथिबाट खसेको पहिरोले पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उहाँका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो। मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। घाइतेहरूको हाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

साथै पहिरोमा परी आठ वटा बाख्रा, दुइटा गाई, दुई भैँसी र दुईवटा गोरुसमेत मरेका छन् भने घरमा पूर्ण क्षति पुगेको छ।

वडा नं १ को हाटदेखि वडा नं २ को भैरु हुँदै गन्नासम्म कटान गरिएको सडकमा भरिएको माटोले पहिरो खसेको हो। ‘यही जेठमा कटान गरिएको सडक हो, त्यही सडकको माटो खसेर घर च्यापियो,’ वडा सदस्य कृष्णबहादुर बोहराले भने, ‘ग्रामीण सडकको करिब ३० मिटर दूरीमा रहेको घरमा सडकबाटै पहिरोसहितको माटो बगेर घर पुरिएको हो।’

स्थानीयले सडक काट्न गरेका थिए विरोध

गाउँको बीचबाट सडक कटान नगर्न स्थानीयले विरोध गरेका थिए। तर नगरपालिकाले जबरजस्ती डोजर लगाएको थियो। वडा सदस्य बोहराका अनुसार त्यहाँका केही परिवारले गाउँको बीच भागबाट सडक नलग्न आग्रह गरेका थिए। यद्यपि नगरपालिकाले भने सडक कटान गरेरै छाड्यो। ‘अहिले सकड त्यही सडकबाट खसेको पहिरोले यत्रो क्षति पुग्यो,’ सदस्य बोहराले भने ।

अर्का स्थानीय जनक बोहराले सडक निर्माणमा विरोध गर्दागर्दै नगरपालिकाले सडक कटान गरेको बताए। ‘हामीले बस्तीलाई जोखिम नहुने किसिमले सडक काट्न भनेका थियौँ, तर नगरपालिकाले सुनेन,’ उनको गुनासो छ।

प्राविधिक र स्थानीयसँग समन्वय गरी सकड काटिएको पुर्चौडी नगरपालिकाका नगर प्रमुख दीपकबहादुर बमले बताए । ‘नगरपालिकाको आफ्नै जेसिबी लगाएर सडक कटान गरेको हो,’ नगर प्रमुख बलले भने, ‘त्यतिबेला सबैसँग समन्वय गरेर सडक कटान गरेका हौँ। सडकमा जम्मा भएको माटो बगेर पहिरो गएको रहेछ।’

नगरपालिकाले उपचार खर्च र क्षतिपूर्ति दिने

नगर प्रमुख बमले पहिरोले जनधनको क्षति भएको बताउँदै घाइतेको उपचार र विस्ताथित परिवारलाई तत्काल सहयोग गर्ने बताए । मृत्यु भएका आमाछोराको परिवारलाई पनि कार्यपालिकाबाट आवश्यक निर्णय गरी उचित क्षतिपूर्ति प्रदान गर्ने उनको भनाइ छ। ‘घाइतेहरूको उपचार खर्च व्यहोर्छाैँ, तत्काल बस्नका लागि वैकल्पिक व्यवस्था गरिँदैछ, र मृतकका परिवारलाई क्षतिपूर्ति दिन यो कुरा कार्यपालिकामा राख्छु,’ उ्नले भने।

जोखिमयुक्त ग्रामीण सडक

जिल्लाका ग्रामीण सडक जोखिमयुक्त छन्। ग्रामीण क्षेत्रलाई सडक पहुँचमा पुर्याउने भन्दै धमाधम बिनाप्राविधिक स्टिमेट र मूल्याकंन नगरीकनै काटिएका सडकमा जोखिम बढ्दो छ। गत असार २५ गते बैतडीको पञ्चेश्वरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस मेलौली पञ्चेश्वर सडकखण्डमा पर्ने मेलौली नगरपालिका ७ मा दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो भने ४२ जना घाइते भएका थिए। उक्त मेलौली–पञ्चेश्वर सडकखण्ड बिना रुट पर्मिटको सडक हो। यसैगरी गत आर्थिक वर्षमा मात्रै बैतडीमा १४ वटा सडक दुर्घटना भएका छन्। उक्त दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ भने ८७ घाइते भएका छन्।

तीमध्ये नौ वटा दुर्घटना रुट पर्मिट बिनाका सडकमा भएको जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख तेज रावलले बताए । स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन नगरीकनै काटिएका सडकमा जोखिम बढ्दो रहेको उनको भनाइ छ।

प्रतिक्रिया