दीपेन्द्र र सन्दीप मोमेन्ट अफ अफ द म्याच

नेपालखोज २०८० साउन १० गते १३:२९

नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टि – २० क्यानाडामा दुई फरक खेलमा मोमेन्ट अफ अफ द म्याच अवार्ड जितेका छन् ।

यस बापत सन्दीप र दीपेन्द्रले समान ५ सय डलर (६६ हजार नेपाली रुपैयाँ) नगद समेत हात पारे । सन्दीपले यो अवार्ड दोस्रो पटक जितेका हुन् भने दीपेन्द्रले पहिलो पटक ।

आज बुधबार बिहान सम्पन्न खेलमा मोन्टरिएल टाइगर्सका दीपेन्द्रले भ्यानकुभर नाइट्सलाई ६ विकेटले हराउन बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गरेका थिए ।

दीपेन्द्रले बलिङतर्फ ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिएका थिए । ब्याटिङतर्फ दीपेन्द्रले २२ बलमा २ चौकासहित २२ रनमा अविजित रहे । जितका लागि १ सय ५० रनको मध्यम विजयी लक्ष्य टाइगर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

उता यहि लिगको अर्को खेलमा सन्दीपले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए । जसमा कोलिन मुनरोलाई ४३ रनमा बोल्ड गर्दै सन्दीपले जितको आधार तय गरेका थिए । सन्दीप सम्मिलित सर्रेले अव शुक्रबार राती १ः१५ मिसिसाउगा प्यान्थर्स सँग खेल्नेछ भने दीपेन्द्र सम्मिलित मोन्टरिएलले आज राती ब्राम्पटन वोल्भससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया