शनिबार, वैशाख २२, २०८१

कविता : डर लाग्छ मलाई

अर्जुन पराजुली २०८० साउन १३ गते १३:३९

डर लाग्छ मलाई तक्मादेखि
पुरस्कारका गोलादेखि डार लाग्छ !
मान्छे बगाउने खोलादेखि लाग्दैन डर
कुममा झुन्डिने झोलादेखी डर लाग्छ !!

सामन्तदेखि डर लाग्दैन
डर लाग्छ सन्तदेखि !
शत्रुदेखि डर लाग्दैन
लाग्छ डर आफन्तदेखि !!

गालीदेखि डर लाग्दैन मलाई
तालीदेखि डर लाग्छ !
गोलीदेखि लाग्दैन डर
चिप्लो बोलीदेखि डर लाग्छ !!

ठडिनेदेखि डर लाग्दैन, झुक्नेदेखि डर लाग्छ
भुक्देखि डर लाग्दैन, लुक्नेदेखि डर लाग्छ !
बिजुलीको नाङ्गो तारदेखि डार लाग्दैन मलाई
लुगा फुकालेर नाङ्गै हिड्ने समाचारदेखि डर लाग्छ !!

मेरो सरकार –
पिएर बेसुरमा हल्लिदै आयो भने डर लाग्दैन !
तर उसले –
नपिएरै सुरमा राष्ट्रिय गीत गायो भने डर लाग्छ !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया