सोमबार, वैशाख १७, २०८१

द क्वीन अफ कन्ट्राडिक्सन

रुचि श्रेष्ठ २०७९ फागुन १६ गते ७:००

तिमीलाई थाहा छ रुमी तिमी कस्ती छ्यौ ?

सामान्य भावमा मैले भने, ‘कस्ती छु ?’

‘ड्रागनफ्रूट जस्ती ।’

अचम्म मानेर दुवै आँखा ठूल्ठूलो पार्दै मैले ऊ तिर हेरे । उसले आफ्नो वाइनको ग्लास टेबलमा राख्यो । बाँसको टोकरीमा राखेको एउटा ड्रागनफ्रूट हातमा लिएर म तिर फक्र्यो र ड्रागनफ्रूटलाई हेर्दै भन्यो, ‘पहिलो पल्ट यसको नाम सुन्दा मान्छे तर्सिने । यो खानेकुरा हो कि कुनै हथियारको नाम हो, ठम्याउन मुस्किल पर्ने ।’

ड्रागनफ्रूट र मेरो हातको वाइन ग्लास डाइनिंग टेबुलमा राख्यो, बिस्तारै मेरो पाखुरा समाएर मलाई आफूतिर तान्दै उसले भन्यो, ‘हातमा आइसक्दा पनि यसलाई टोकेर खाँऊ कि छोडाएर खाँऊ भनेर सोचिरहनु पर्ने ।’

मेरो गाला तात्यो । जीउ सिरिंग भयो । मेरो आँखामा हेरेर ऊ भन्दै थियो, ‘काच्चै खाँऊ कि यसलाई पकाएर खाऊँ भनेर अलमलमै परिरहनु पर्ने ।’

मैले आफू तात्तिएको र आत्तिएको भाव लुकाउन खोज्दै भने, ‘पकाएर त कसरी खान्छौ ?’
दुबै हातले मेरो गाला सुम्सुम्याउदै उसले भन्यो,

‘तात्तिएपछि त बिस्तारै पाकिहाल्छ नि ।’

उसको दुबै हातलाई आफ्नो दुबै हातले समाउदै मैले आफू सामान्य देखिने कोशिश गरे । त्यसपछि उसको आँखामा हेर्दै भने, ‘मेरो भोक चार नम्बर बाट आठ नम्बरमा पुगिसक्यो । तिम्रो चिकेन मन्चुरियन तयार हुन अझै कति बेर लाग्छ ?’

‘त्यो त अघिनै तयार भइसक्यो । तिमीलाई वास्ना आएन ?’

उसको तर्कबाट फुत्किन नसकिने देखे पछि उसको हात छाडेर म किचेनतिर लागें । मेरो मुखबाट फुत्त निस्कियो, ‘आज क्यान्डल लाइट डिनर खाऊँ न बार्दलीमा । कहाँ छ क्यान्डल ?’ वाक्य टुगिंने बित्तिकै मेरो मुखबाट फ्याट्ट निस्कियो, ‘भो, बाहिर चिसो–चिसो छ । होस् यही खाऊँ ।’

‘द क्वीन अफ कन्ट्राडिक्सन, किन पाँच सेकेण्ड नबित्दै दुई थरी कुरा गरेकी ? क्यान्डल बालेर डिनर–वाइन खादैमा तिमी म प्रति बचनबद्ध हुने होइनौ । जब सम्म तिमी आफैले आफूलाई ‘जज’ गरिरहन्छौ, तिमीलाई लाग्छ सबैले तिमीलाई ‘जज’ गरिरहेको छ ।’

ऊ तिर नहेरेर प्लेटहरु मिलाउदै मैले भने, ‘म टिन–एजर हो र सधै आफूलाई ‘जज’ गरिरहनलाई ?’
भाँडोबाट ब्रोकलीको एउटा टुक्रा निकालेर मुखमा राख्दै मैले भने, ‘स्टिम्ड ब्रोकलीमा तिमीले बटर सँग के राखेको ?’

‘पत्ता लगाउ त के राखेको होला ?’

‘मरीच र नुन त थाहा पाएँ । म्म…। कागती अनि लसुन । हो ?’
‘तिम्रो जिब्रोले पत्ता लगाएपछि मैले होइन भन्ने दुस्साहस कसरी गर्नु ।’

बार्दलीबाट टाढा सम्मै देखिएको काठमाडौ शहरको झिलीमिली पूर्ण यौवनमा थियो । बिल्डिंगको सातौ तल्लासम्म शहरको कोलाहल पुग्न सकेको थिएन । शहर मौन थियो । तर, शान्त थिएन । म पनि मौन थिए । जाडो जान लाग्यो भनेर राहत महसूस गर्न सकिने तर ‘गयो’ भनेर मक्ख्ख पर्न नसकिने । बेला–बेला सिर्रर चल्ने हावाले झस्क्याइ रहने । उसले भित्रबाट वाइनको बोतल, दुईवटा फ्रेस वाइन ग्लास र शल लिएर आयो । मलाई शल ओढाइदियो । दुबै ग्लासमा वाइन खन्यायो । यतिका बेर सम्म हामी चुपचाप संगीतको धुनमा टेबल मिलाउदै थियौ । मधुरो आवाजमा नयाँ गीत सुरु भयो, ‘लेडी, आम योर नाइट इन शाइनिंग आर्मर एण्ड आइ लभ यू…’ उसले मौन भगं गर्दै भन्यो, ‘के भन्छौ ? स्याल वी टस द वाइन ?’

म मुसुक्क हाँसे । चोर औंलाले मलाई एक्कैछिन पर्खने इशारा गर्दै ऊ दौडेर भित्र गयो । बत्ती निभाएर आयो । मैले मैनबत्तीहरु बालें । एउटा ग्लास उसको हातमा राखिदिए । उसले वाइनको ग्लास ‘टस’ गर्यो । एक सिप लियो । ग्लास टेबलमा राख्दै उसले भन्यो, ‘रुमी, तिमी चुपचाप रहदा त मोनालिसा पेन्टिंग जस्तो देखिदो रै छौ । मूर्त आकृति भित्र अमूर्त भावहरु । जस्तो भावको कल्पना गरेर हेर्यो, त्यस्तै देखिने । तर, अफसोच । तिम्रो यो चुपचाप रुप मैले धेरै बेर कहिल्यै हेर्न पाएको छैन ।’

मेरो मौन भंग गर्ने उसको प्रयास सफल भएको थियो । मेरो हाँसो फुत्कियो । मैले भने, ‘झण्डै सर्केको ।’

‘एउटा काम गरौं न हामी । तिमी र म एक हप्तासँगै बसौं न, एक अर्का सँग नबोलेर । त्यसोभए तिमीले आरामले मेरा अमूर्त भावहरु केलाउन पाउँनेछौ ।’

उसले म तिर हेर्दै भन्यो, ‘सक्छौ ?’
‘के ? तिमी सँग बस्न ? कि नबोली बस्न ?’
उसले भन्यो, ‘म सँग नबोली बस्न ?’

‘के थाहा मलाई । सक्छु कि सक्दिन, त्यही त हेर्न मन लागेको नि ।’, मैले भने । यो पल्ट हामी दुबै मज्जाले हाँस्यौ ।
वाइनको सिप लिएर ग्लास टेबलमा राख्दै मैले भने, ‘तिमीलाई लाग्दैन, भावहरु त सधै अमूर्त नै हुन्छन ? जब सम्म हामीले त्यसलाई शब्दमा अभिव्यक्त गर्दैनौ ?’

उसले भन्यो, ‘सही हो ।’

मैले फेरी भने, ‘तर, मान्छे कस्तो असन्तोषी प्राणी हुन्छ भने, ती शब्द र वाक्यहरुमा फेरी उ भावका अरु आयामहरुको पत्र केलाउन थाल्छ । मान्छे आफ्नो बुद्धि र कल्पनाले समस्याको समाधान गर्छ कि त्यसको निर्माण गर्छ, उ आफैलाई थाहा हुँदैन ।’
उसले मुखको खानेकुरा चपाउदै भन्यो, ‘रुमी, तिमी कसरी हरेक कुरालाई इन्टेलेक्चुअलाइज गर्न सक्छौ ?’

चिकेन मन्चुरियन दाम्मी भएको इशारा गर्दै मैले भने, ‘जसरी तिमी मेरो सबै बक–बकलाई ध्यान दिएर सुन्न सक्छौ ।’ मैले ऊ तिर पुलुक्क हेर्दै दाहिने आँखा झिम्क्याएँ ।

‘तिमीलाई एउटा कुरा थाहा छ…?’ ऊ केही भन्न लाग्दैथ्यो, उसको फोनको घण्टी बज्यो । ऊ उठेर फोन हेर्न भित्र छिर्यो । उसको आवाज बाहिर सम्म प्रस्ट सुनिएको थियो । ऊ भन्दै थियो, ‘होइन सर, अहिले त म आउनै नसक्ने भए ।…… ड्राइभर नपठाउनुस् । आइ ह्याभ अ भिजिटर । बरु भोलि अफिस मै भेटौन …आर यू अलराइट ? …दयाट्स् गुड । ह्याभ अ गुड टाइम ।… आइ विल । थ्यांक यू ।’

ऊ बाहिर आएपछि मैले कौतुहल भावले ऊ तिर हेरे । ऊसले भन्यो, ‘क्लायन्ट हो ।’

‘यति बेला ?’
‘इमरजेन्सीमा मात्र कल गर्नु भन्ने गर्छु । त्यही पनि आइहाल्छ कल ।’
‘त्यही ब्यांकर होला ।’

उ केही बोलेन ।
डिनर सकिए पछि मैले प्लेटहरु उठाउदै फेरी भने,
‘तिम्रो ब्यांकर क्लायन्ट बाइसेक्सुअल हो रे, हो ?’
‘तिमीलाई कसले सुनाउछ यस्ता कुराहरु ?’

मैले किचेनमा प्लेटहरु राख्दै अलि जोडले भने, ‘यो त मलाइ शालिनीको गर्लफ्रेण्डले भनेको । ऊ ड्रिंक गर्दै थियो ?’
‘हाम्रो कुरा गरौं न । कति त्यो ब्यांकरको खोजीनीति गरि राराखेको । बाइ द वे, डन्ट वरी अबाउट हिम । हि इज फाइन ।’ उसले भन्यो ।

‘आइ एम नट वरिड अबाउट हिम । आइ एम वरिड एबाउट यू ।’
उसले मेरो कुरा सुनेको थियो । बाहिर बाटै भन्यो, ‘ह्वाट ?’
मैले बाहिर आएर आधा भरिएको वाइनको ग्लास हातमा लिएर भने, ‘नथिंग ।’

शहरको गति सुस्त भइसकेको थियो । वरीपरीका बिल्डिंगहरुमा बत्तीहरु निभ्न थालीसकेको थियो । मैले बालेका क्यान्डलहरुमा अब जम्मा दुईवटा मोटो क्यान्डल मात्र बाँकी थियो । हामी दोस्राे बोतल वाइनको अन्तिम ग्लासमा थियौ । वाइन जति पुरानो भयो त्यति मुल्यवान हुन्छ । थाहा भइराखेकै कुरा थियो । जति लामो समय लगाएर सिध्यायो, नसा उतिनै सुमधुर र न्यानो हुने । उसले ओढाइदिएको शललाई मैले कस्सिएर बेरे ।

मैले बारमा अढेस लगाएर शहरतिर फर्केर भने, ‘हेर न कति छिटै शहर अस्ताउन लागेको । एघार पनि बजेको छैन ।’
ऊ फोनमा केही हेर्दै थियो । मेरो कुरा सुनेपछि हँसिलो आवाजमा उसले भन्यो, ‘यो शहरलाई पनि रोमान्स चाहिएकोछ ।’
मेरो मुखबाट फ्याट्ट निस्कियो, ‘जय, तिमीलाई केटाहरु पनि मन पर्छ ? … प्लिज डन्ट फिल अफेन्डेड ।’ मैले उसलाई पुलुक्क हेरे ।

उसले भन्यो, ‘तिमी अझै त्यही अल्झिइ रहेकी छ्यौ ?’ फोन टेबुल मै छोडेर उ मेरो छेउमा आएर उभियो र शहरतिर हेर्दै भन्यो, ‘यो शहरको चरित्र बिचित्रको छ । यहाँ धेरैले धेरैलाई चिनिराखेको हुन्छ । गाउँठाउँमा जस्तो भलाकुसारी गर्ने पनि हुदैन । न बिकसित देशका ठूला शहरहरुमा जस्तो सेलिब्रिटी नै हुनुपर्छ यहाँ चिनिनलाई । भेटघाटको सर्कल यति सानो हुन्छ कि, एकैथरि मान्छेहरु ठाउँ–ठाउँमा ठोक्किने गर्छन । साइको–काउन्सलिंगको क्लायन्ट सँग दूरी कायम राख्नुपर्ने कोड–अफ–एथिक्स लाई पनि मैले कति केसमा सम्झौता गर्नु पर्छ । तर, तिमी चिन्ता नलेउ । मलाई मनपर्ने तिमी मात्रै हो ।’

‘मलाई ड्रागनफ्रूट भन्या होइन?’
‘मलाई ड्रागनफ्रुट नै मन पर्छ नि त ।’
‘मैले मलाइ केटी मनपर्छ भनें भने ?’
‘तै पनि मलाइ तिमी नै मनपर्छ ।’

उसले मेरो पाखुरा समाएर आफूतिर फर्काउदै भन्यो, ‘तिमीलाई साँच्चै केटी मन पर्छ हो ?’
मैले भने, ‘तिमी केटी हो ?’
‘तिमीलाई म मनपर्छ ?’

वाइनको असर थियो कि अँध्यारोलाई अर्थपूर्ण बनाइरहेका ती मैनबत्तीको, मलाइ बोल्न संकोच लागेन । मैले खाली ग्लास टेबलमा राख्दै भने, ‘मलाई केटा नै मन पर्छ । केटाले छोएको मन पर्छ । मैले रोमान्सको कल्पना गरें भने त्यहाँ म सँग केटा नै हुन्छ ।’

उसले दुबै हातले मेरो कम्मर समाएर मलाई आफ्नो नजीक ल्याउदै भन्यो, ‘प्रूभ इट ।’
‘के’ मैले नबुझेर सोधे ।
उसले भन्यो, ‘तिमीलाई केटा मनपर्छ भने प्रमाणित गर ।’
‘कसरी ?’
उसको चंचल आँखा र गम्भीर आवाजले भन्यो, ‘किस मी ।’

उसको इच्छा र आसय मैले बुझेकी थिए । यो पटक मलाइ ऊ सँग हार्न मन लाग्यो ।
मैले आफ्नो ओठले उसको ओठमा छोइदिएँ । त्यसपछि उसको अंगालो छुटाउने साहस ममा रहेन ।

प्रतिक्रिया