आइतबार, वैशाख ३०, २०८१

अनलाइन ठगीको स्वरूप

नेपालखोज २०८० साउन १५ गते ७:४६

काठमाडौं । जुलाई पहिलो साता काठमाडौंकी निर्मला श्रेष्ठकी छोरीको ‘फोटोशूट’ (थरी थरीका फोटो खिच्ने) गर्ने तय भएको थियो। त्यसका लागि उनले अनलाइनमार्फत् आवश्यक लुगाको खोजी थालिन्।

फेसबुक र इन्स्टाग्राममा चर्चित बच्चाको सामान पाउने पेजहरू चहार्दै गर्दा उनले आफूले चाहेकै रङ र डिजाइनको जामा देखिन्। सम्बन्धित पेजमा मेसेज गरेर शुल्कलगायत आवश्यक जानकारी लिइसकेपछि उनले तत्काल “सुन्तला रङ्गको त्यो लुगा” मगाइन्।

शनिवारका लागि आवश्यक लुगा शुक्रवार साँझ आइपुग्यो। तर, उनले देखेको र मगाएको सामान आएन। “प्याकेट खोल्दा गुलाफी रङ्गको सामान देखेँ। त्यो त मैले मगाएकी थिइनँ।”

श्रेष्ठले त्यतिबेला नै आफूलाई फरक सामान आएको जानकारी दिइन्। बिक्री गर्ने पक्षले भन्यो- ‘फोटोमा लुगाको रङ फरक देखिएको हो नत्र कपडा र डिजाइन उही हो।‘

तर उनले आफूले मगाएको सामान त्यो नभएको अड्डी कसिन् र सामान साट्न आग्रह गरिन्। तर उक्त अनलाइन स्टोरले उनको सन्देश हेर्नै छाडिदियो।

त्यसपछि उनले आफू अनलाइन व्यापारको नाममा ठगीमा परेको जनाउँदै एउटा फेसबुक ग्रुपमा घटनाको विवरण सार्वजनिक गरिन्। त्यसको केही घण्टापछि, रातको साढे दश बजे उनलाई सामान साटिदिने भनियो।

आफूले बिक्री गर्ने सामग्रीको गुणस्तर र ग्राहकप्रतिको जबाफदेहिता बिक्रेताको भए पनि अनलाइनमार्फत् व्यापार गर्ने अधिकांशले त्यो जिम्मेवारी नलिएको उनको भोगाइ छ।

‘अनलाइनमा मगाएको ५० प्रतिशत सामान देखाइएजस्तो राम्रो र गुणस्तरीय नभएको मैले पाएँ,’ उनले भनिन्।

यस्ता किसिमका घटनाहरू प्रहरीसमक्ष समेत आइपुग्ने जानकारी दिन्छन् केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायत। तर, अनलाइनबाट ‘व्यापारको नाममा हुने ठगी यतिमा सीमित नभएको’ उनको ठहर छ।

उनले भने,’व्यापारको नाममा ठगी धन्दा बढेको छ।’

‘पछिल्लो समय वानएक्स बेटको हकमा मुद्दा नै चलेको थियो। यो एउटा उदाहरण मात्र हो। उदयपुरमा इराकबाट सामान आयात गर्ने समूहको नाममा ‘सामान आउँदै छ। यो ठाउँमा धरौटी तिर्न वा भन्सारमा बुझाउन’ भन्दै मोटो रकम असुल गरेको तर कुनै सामान नआएको घटनासमेत छन्,’’ उनले भने।

नेपालको ब्याङ्किङ प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण हुनु र सामाजिक सञ्जालको प्रयोग बढ्नुले ठगीका घटनाहरू बढ्न थालेको जानकारहरू बताउँछन्।

प्रतिक्रिया