शुक्रबार, जेठ ४, २०८१

डेंगुको नयाँ प्रकार : बालबालिकाका लागि खतरनाक

नेपालखोज २०८० साउन १६ गते ६:४४

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको रिपोर्ट हेर्दा छिमेकी मुलुक भारतमा मात्र नभई बंगलादेशमा पनि डेंगु गम्भीर समस्याको कारण बन्दै गएको छ । बंगलादेशका धेरैजसो डेंगु रोगीले गम्भीर लक्षणहरू देखाउँदै छन् भने ठूलो संख्यामा मानिसहरूलाई अस्पताल भर्ना भएका छन ।

वर्षाको मौसममा घना जनसंख्या भएको बंगलादेशमा डेंगु तीव्र गतिमा फैलिरहेको छ । लामखुट्टेबाट सर्ने यो रोगले लगातार दोस्रो वर्ष संक्रमण र मृत्युको रेकर्ड संख्या रेकर्ड गर्न सक्ने डर बढाएको छ। यो वर्ष अहिलेसम्म त्यहाँ कम्तीमा २०१ जनाको मृत्यु भैसकेको छ भने ती मध्ये आधाभन्दा बढी राजधानी ढाकाका छन् । यो वर्ष ३७ हजारभन्दा बढीमा डेङ्गुको संक्रमण पुष्टि भैसकेको सरकारि अधिकारीहरुले जनाएका छन ।

उता भारतको दिल्लीमा गम्भीर प्रकारको डेंगु टाइप-२ को संक्रमण बढेको छ। यस प्रकारको डेंगुका बिमारि गम्भीर अवस्थामा पुग्न सक्छन्। विगतमा दिल्लीमा जसरी पानी परेको थियो र त्यसका कारण धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएकाले आगामी महिनामा डेंगुका बिरामी थप बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।

जसरि छिमेकि मुलुकहरुमा डेंगुका बिमारि बढेका छन नेपाल पनि त्यसबाट अछुतो छैन । हाम्रा लागि आगामी डेढ महिना डेंगुका दृष्टिले जोखिमपूर्ण रहेको स्वास्थ मन्त्रालयले बताइसकेको छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न सबैले सावधानी अपनाउन जरुरी छ ।

डेंगु लामखुट्टेले दिउँसो बढी टोक्ने भएकाले दिउँसो फुल बाहुलाको लुगा लगाउने र राती सुत्दा लामखुट्टेको जाली प्रयोग गर्ने उपाय अपनाउनु पर्छ । बालबालिकामा गम्भीर डेंगुको उच्च जोखिम रहेकाले अभिभावकले समयमै यस्ता लक्षण पहिचान गर्नुपर्छ । बालबालिकामा यो रोगको गम्भीर जोखिम हुन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार डेंगु भएको पुष्टि भएका बालबालिकालाई गम्भीर रोग लाग्ने सम्भावना बढी हुन्छ । बालबालिकामा डेंगुको लक्षण पनि वयस्कको भन्दा अलि फरक हुन्छ ।

अहिलेको डेंगुमा बान्ता र petechiae (छाला मुनि रगत बग्ने) बालबालिकाहरुमा बढि छ भने वाकवाकी र आँखाको गेडि दुख्ने लक्षण वयस्कहरुमा बढि देखिएको छ । समयमै यी लक्षणहरू पहिचान गरी उपचार गराउनु अति आवश्यक छ।

बालबालिकामा कस्तो लक्षण देखिन्छ ?

बालबालिकामा प्लेटलेट कम हुने भएकाले पनि डेंगुको गम्भीर रोग लाग्ने जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् ।

समयमै ख्याल गरिएन भने यसले शक लाग्ने तथा आन्तरिक रक्तस्राव हुने हुन सक्छ, जसलाई गम्भीर मानिन्छ । त्यसैले समयमै लक्षण पहिचान गरी बालबालिकाको उपचार गराउनु जरुरी छ । गम्भीर डेंगुमा उच्च ज्वरोसँगै पेट दुख्ने, गिजा वा नाकबाट रगत बग्ने, वान्ता हुने वा रगत बग्ने, बेचैनी, अल्छी वा चिडचिडापन हुन्छ । यस्तो अवस्थामा तत्काल अनुसन्धान र आवश्यक उपचार आवश्यक हुन्छ ।

बालबालिकाहरूको हेरचाह कसरी गर्ने ?

यदि बालबालिकालाई डेंगु भएको पत्ता लाग्यो भने पनि आत्तिनु हुँदैन । यसका धेरैजसो संक्रमण हल्का हुन्छन् र सरल उपचारले सजिलै यसलाई निको पार्न सकिन्छ। घरमा बिरामीले पर्याप्त आराम गर्नुपर्छ भने जीवनजल (ओआरएस ) र नरिवलको पानी लगायतका तरल पदार्थ दिईरहनुपर्छ । ज्वरो र दुखाइका लागि पारासिटामोल प्रयोग गर्न सकिन्छ, तर यसका लागि डाक्टरसँग परामर्श गर्नुपर्छ । बालबालिकालाई रक्तस्रावको समस्या वा प्लेटलेट कम भए अस्पताल भर्ना गर्नुपर्ने हुन सक्छ।

लामखुट्टेको टोकाइ विरुद्ध सुरक्षा

डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न सबै उपायहरू अपनाउनु महत्त्वपूर्ण छ ।

-घर वरपर पानी जम्मा हुन नदिनुहोस्।

-लामखुट्टे निरोधक स्प्रे गर्नुहोस्।

-बालबालिकालाई विद्यालय पठाउँदा फुल बाहुलाको कपडा लगाउन लगाइदिनुहोस् र अस्वच्छ स्थानमा खेल्न नदिनुहोस्।

-राति सुत्दा लामखुट्टेको जाली प्रयोग गर्ने ।
यी उपायहरू लामखुट्टेबाट सर्ने रोगहरूबाट बचाउन उपयोगी हुन सक्छन्।

प्रतिक्रिया