शनिबार, जेठ ५, २०८१

दण्ड सजाय नदिए बालबालिका अनुशासनहीन हुँदैनन्  ?

नेपालखोज २०८० साउन १८ गते ८:२६

कतिपय मानिसहरूलाई बालबालिकालाई डर नदेखाई माया मात्र दिएर हुर्काएमा उनीहरूअनुशासनहीन हुन्छन् र भनेको टेर्दैनन् भन्ने लाग्दछ। वास्तवमा भन्नु पर्दा अनुशासन र दण्डसजायको कुनै सम्बन्ध छैन ।

वास्तविक अनुशासन बल प्रयोग गरेर हासिल हुँदैन । दण्डसजायको माध्यमबाट क्षणिक रूपमा बालबालिकालाई कुनै व्यवहार गर्न बाध्य पार्न सकिएला तर यसबाट उनीहरूको भित्री स्वभावमा परिवर्तन आएको हुँदैन । डरको कारण अभिभावक वरिपरि भएको बेलामा एक किसिमको व्यवहार गरे पनि अरू बेलामा अर्कै व्यवहार गर्ने गर्दछन् ।

जब बालबालिकालाई दण्डसजाय दिइन्छ, उनीहरूले त्यसबाट आफूलाई भएको पीडालाई मात्र मनन गर्छन्, आफूले सुधार गर्नु पर्ने कुरामा उनीहरूको ध्यान जाँदैन ।

त्यसैले बालबालिकाले फेरी गल्ती दोहोर्‍याउने सम्भावना रहन्छ। दण्डसजायको अभ्यासले बालबालिकालाई आफ्नो गल्तीको महसुस गराई सही बाटोमा लाग्न प्रेरित गराउनुको सट्टा डर र त्रासमा हुर्कन सिकाउँछ । उनीहरूले दण्डसजाय दिनेलाई आदर गर्न सक्दैनन्। डर र त्रासको कारण बालबालिका सही र गलत निर्णय गर्न झन् असमर्थ हुन्छन् ।

दण्डसजाय नदिनु भनेको बालबालिकाको व्यवहार सुधार्नको लागि केही पनि नगर्ने भनेको होइन । बालबालिकासँग सञ्चार तथा सकारात्मक माध्यमबाट अनुशासन कायम गर्न सकन्छि। अनुशासनको लागि विभिन्न तत्त्वहरू आवश्यक पर्दछ, जस्तै कुनै कुरा गर्नु वा नगर्नाको कारण थाहा पाउनु, त्यसको परिणाम बुझ्नु, त्यस सम्बन्धी सीप र उत्प्रेरणा हुनु आदि ।

दण्डसजायको माध्यमबाट अनुशासनको कुनै पनि तत्त्व प्राप्ति हुन सक्दैन। बरु, दण्डसजाय दिनाले आफूले भनेको जस्तो गराउनको लागि हिंसा प्रयोग गर्न सकिने रहेछ भनी बालबालिकालाई गलत सन्देश दिन्छ र हिंसाको चक्रलाई निरन्तरता दिन्छ ।

प्रतिक्रिया