‘राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ’

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए ।
मन्त्री डा. महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए । तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा प्रश्न गर्न सकिने उनको भनाइ थियो ।
आफू फाइदा उठाउन नभई काम गर्न आएको, फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरा मनन गरेमा भने राजस्वले लक्ष्य भेट्ने उहाँको जिकिर थियो । राजस्वको लक्ष्य के छ ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा महतले प्रष्ट पारे ।
भन्सार योगदानको ४० प्रतिशत सुक्खा बन्दरगाह भन्सार र वीरगञ्ज भन्सार कार्यालयबाट प्राप्त हुने उल्लेख गर्दै मन्त्री महतले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने यसैबाट बुझ्नुपर्ने बताए । ‘राजस्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ’, उनले भने, ‘त्यसकारण तपाईंहरू सजग रहनुहोस् ।’
प्रतिक्रिया