बढ्दो तापक्रमको चपेटामा उत्तरी गोलार्ध

काठमाडौं । अहिले अमेरिकादेखि चीनसम्मको उत्तरी गोलार्ध तीव्र गर्मी र लु को लहरको चपेटामा छ । जसका कारण जनताको स्वास्थ्य मात्र नभई वातावरणमा समेत असर परिरहेको छ ।
यसै सन्दर्भमा विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले एक जानकारी सार्वजनिक गर्दै उत्तरी गोलार्धको ठूलो भूभाग तीव्र गर्मी र लु को लहरको चपेटामा रहेको कुरा बताएको छ ।
यसले ठूलो विनाश निम्त्याएको छ, धेरै हताहत भएका छन भने हजारौं आफ्नो घर छोड्न बाध्य भएका छन् । बढ्दो तापक्रमको असर जमिनमा मात्र नभई महासागरमा पनि परेको छ ।
गत हप्ता डब्लुएमओ र युरोपेली संघको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका वैज्ञानिकहरूले नयाँ तथ्याङ्क उद्धृत गर्दै भनेका छन् – जुलाई २०२३ अहिलेसम्मकै सबैभन्दा तातो जुलाई र रेकर्डमा सबैभन्दा तातो महिना हुने ट्र्याकमा छ।
ईआरए फाइभ डेटासेट अनुसार जुलाई २०२३ को पहिलो २३ दिनमा विश्वव्यापी औसत तापक्रम १६.९५ डिग्री सेल्सियस रेकर्ड गरियो, जुन जुलाई २०१९ मा रेकर्ड गरिएको १६.६३ डिग्री सेल्सियसको औसत तापक्रम भन्दा उल्लेखनीय रूपमा बढी हो। जुलाई २०१९ हाल सम्मको सबैभन्दा तातो महिना थियो । जुलाई महिनामा यति धेरै तापक्रम यसअघि कहिल्यै रेकर्ड गरिएको थिएन।
यस्तो अवस्थामा सन् २०२३ को जुलाईको औसत तापक्रम जुलाई २०१९ को तापक्रमभन्दा धेरै बढी हुने निश्चित छ । फलस्वरूप जुलाई २०२३ सबैभन्दा तातो जुलाई र रेकर्डमा सबैभन्दा तातो महिना हुनेछ। त्यस्तै, समुद्री सतहको दैनिक औसत तापक्रम पनि १९ जुलाई २०२३ मा २०.९४ डिग्री सेल्सियस पुगेको छ ।
जुन २०.९५ को सर्वकालीन उच्च तापक्रम भन्दा थोरै मात्र पछाडि छ । यसअघि सन् २०१६ मार्च २९ मा समुद्रको सतहको औसत तापक्रम उच्चतम बिन्दुमा पुगेको थियो ।
यसअघि २०२३ जुलाई ६ मा समुद्रि सतह नजिकको हावाको औसत तापक्रम अगस्ट २०१६ को अघिल्लो रेकर्ड तोड्दै नयाँ स्तरमा पुगेको थियो । त्यसैगरी जुलाई ५ र ७ मा तापक्रम सन् २०१६ को कीर्तिमानी तापक्रमभन्दा बढी थियो ।

प्रतिक्रिया