बिहीबार, जेठ ३, २०८१

सजगतामा कमि भयो भने आँखाले पनि देख्दैन

डा . प्रदीप पाण्डे २०८० साउन १९ गते ६:३३

काठमाडौं । हाम्रो नेपाली समाजमा साधारणतया, बालबालिकामा मनोसामाजिक समस्या वा मानसिक रोग पनि हुनसक्छ र भन्ने धेरैजसोलाई थाहा नै हुँदैन। तर, वास्तवमा बालबालिकाहरुमा पनि युवावस्था, वृद्ध अवस्थामा देखिएझै, मानसिक रोगहरु देखापर्न सक्छन्। केही वर्षयता, नेपालमा पनि बालबालिकामा मानसिक समस्या वृद्धि भएको देखिन्छ।

अघिल्लो लेखमा मनोसामाजिक समस्याका लक्षणहरू बारेमा कुरा गरेका थियौं। सर-सर्ती हेर्दा तिनै लक्षणहरु (बढी दुखी देखिनु,राम्ररी निन्द्रा नपर्नु, झनक्क रिसाउनु, झगडा गर्नु, कुनै पनि काम कुरामा ध्यान नलाग्नु, दैनिक क्रियाकलापमा अप्ठ्यारो पर्नु, धेरै चिन्ता गर्नु, दोधारमा परि राख्नु, तनाव महसुस गर्नु, जाँगरिलो नहुने आदि) लामो समयसम्म देखा परेमा र जटिल हुँदै गएमा (दुइहप्ता भन्दा बढी लगातार देखिएमा) अनि दैनिक सामान्य क्रियाकलापमा असमर्थता देखिएको खण्डमा मानसिक रोग हो भनेर अनुमान लगाउन सकिन्छ ।हरेक बालबालिकामा मानसिक समस्याका लक्षणहरु फरक फरक हुन सक्दछन्। रोगको प्रकृतिअनुसार लक्षणहरु फरक देखिन सक्छन्।

मुख्यतया :बालबालिकामा देखिने मानसिक समस्याका लक्षणहरु पहिचान गर्ने भूमिका अभिभावक वा हेरचाहकर्ताको हुने गर्दछ। उदाहरणको लागि साधनाको एउटा सानो कथा हेरौ:

१२ वर्षीय साधना विगतका केही १८ दिन जस्तो भयो, दुखी वा नरमाइलो महसुस गर्छिन, उनमा भावनात्मक उतारचढाव पनि बढी नै देखिन थालेका छन्; सानो- सानो कुरामा झनक्क रिसाउने र एक्लै कोठा थुनेर बस्ने बानीको विकास भएको छ। घर नजिकै भएकी उनकी मिल्ने साथी रोमासँग खेल्न जान पनि बन्द गरेकी छिन्।आफ्नो सानो ६ वर्षको भाईसँग निक्कै रमाउने उनी, अचेल एक्लै बस्न रुचाउँछिन्। पहिला बिहानै उठेर ऐना हेरि कपाल कोर्ने बानी उनको अहिले कैयौं दिन कपाल नकोरिने नै बिताउछिन्।

उनले साबिक भन्दा खाना पनि निकै कम खाने गरेकी छिन्।साधनामा देखिएका यी विभिन्न लक्षणहरू बालबालिकामा देखिने बाल उदासिनताको (Childhood depression) हो। साधनामा देखिएका यी लक्षणहरु सजक र सचित भएर हेर्ने हो भने मानसिक समस्याको अनुमान लगाउन सकिन्छ र सोहीअनुरुप बालबालिकासँग कुरा गरेर समस्याको गम्भिरता बुझेर मनोविमर्शकर्ता वा मनोचिकित्सकको सहयोग लिन सकिन्छ। उदासिनता जस्तै विभिन्न मानसिक समस्याहरू बालबालिकामा देखिन सक्छन्।आज तीमध्ये केहीको बारेमा तल उल्लेख गरिएको छ।

ए्.डी.एच.डी (ADHD -Attention deficit hyperactivity disorder)
एटेनसन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो ।वयस्क र बच्चाहरूमा देखिने यो समस्यामा, लामो समयसम्म एकै ठाउँमा बस्न नसक्ने, बोलेको बोल्यै गर्ने, ध्यान केन्द्रित गर्न नसक्ने, एउटै काममा निरन्तर लागि रहने ,निर्देशन पालन गर्न कठिनाई पर्ने आदि समस्या हुन्छ।सामान्य बालबालिकाहरु भन्दा बढी चकचके,चलेको चल्यै गर्ने, र विशेषत बच्चामा सोच्ने क्षमता र सम्झने शक्तिमा ह्रास आउने हुन्छ।

ओ.सी.डी (OCD- Obsessive compulsive disorder)
अब्सेसिभ कम्पल्सिभ डिसअर्डर,एक प्रकारको Anxiety disorder हो। बारम्बार आउने सोच Obsessions हो भने त्यो सोचले उत्पन्न गरेको व्यवहार दोहोर्याउने आवश्यकता Compulsions हो। यस प्रकारको समस्या भएका बालबालिकाले एउटै प्रश्न बारम्बार सोधिरहने, कुनै काम सुरु गरेपछि त्यही काम गरिरहने गर्छन्, कुनै उत्तर पत्ता लागिसक्दा पनि हो कि हैन भनेर नचाहिँदो संकोचमा रहिरहने हुन्छन्। अहिलेको महामारीको समयमा, कोरोना भाइरस (कोभिड-१९) को डरले चाहिनेभन्दा बढी कुनै बच्चाले हात धुने (प्राय: दिनमा ५०-६० वा बढी पटक),केही कुराको गन्ती र पुन: गन्ती गरिरहने अप्रत्यासित व्यवहार विकसित भएको छ भने, सतर्क हुन आवश्यक छ। यो महामारीको समयमा टेलिभिजन, इन्टरनेट र पत्रपत्रिकामा आउने कोरोनासम्बन्धी खबरले बालमस्तिष्कमा निम्त्याएको भय, डर, त्रासको उपज हो र र यसको समयमैै ध्यान नपुर्याए गम्भीर समस्याको रुप लिन पनि सक्छ।

Digital addiction
विभिन्न डिजिटल उपकरण, डिजिटल प्रविधि, र डिजिटल प्ल्याटफार्म अर्थात् इन्टरनेट, भिडियो गेम, अनलाइन प्लेटफार्म, डिजिटल ग्याजेटहरू (मोबाइल, ट्याब) र सामाजिक नेटवर्क प्लेटफर्मको लतमा पर्नु नै Digital addiction हो। बालबालिकालाई अल्मल्याउन, खान खुवाउन सजिलो बनाउन, आफ्नो काममा बाधा नपुर्याउन भन्न, र आफ्ना अनेक काममा सहजता ल्याउन बालबालिका भुलाउने सजिलो उपाय मोबाइल, ट्याब आदि भएको हो। यिनै सजिलो उपायहरु अहिले लतको रुपमा विकसित भएर जटिल मानसिक स्वास्थ्य समस्याको रुप लिएका छन्। जसको फलस्वरुप, विभिन्न शारीरिक (आँखामा समस्या, घाँटीको दुखाइ, कम्मरको दुखाइ, मोटोपन) र व्यवहारगत समस्या (अनिन्द्रा, एक्लै बस्न रुचाउने,खानामा अरुचि, घरपरिवारका सदस्यहरुसँग नै घुलमिलमा नहुने, मोबाइल माग्दा वा वाईफाई बन्द गरिदिंदा रिसाउने, रुने वा झ्गडा गर्ने) देखिएका छन्। विभिन्न प्रकारका गेमहरुमा लिप्तता बढ्नुको साथै उमेर पूर्व नै पोर्नोग्राफीतिर लाग्ने जोखिम पनि बढ्न आशंका रहन्छ।

सिकाई सम्बन्धी समस्या (LD-Learning disability)
Learning disability भएका बालबालिकामा पढ्न, लेख्न,बोल्न,तर्क गर्न, सोचेर केही कुराको जवाफ दिन, केही कुरा सम्झेर त्यसलाई मिलाउन कठिनाई वा अन्योलमा हुने गर्दछन्।धेरैजसो देखिने सिकाईसम्बन्धी समस्याहरूमा Dyslexia (लिखित शब्दहरू बुझ्न वा पढ्न समस्या हुन्छ), Dyscalculia (गणितीय हिसाब वा गणितका अवधारणाहरु बुझ्ने कठिन हुने), Dysgraphia (अक्षरहरु लेख्न, सोच्न र योजनाबद्ध पार्न समस्या हुने )।

अत: बाल-बालिकाको मानिसक अवस्था पत्ता लगाउन विशेषतः उनीहरुको व्यवहारमा आएको परिवर्तन अभिभावक वा हेरचाहकर्ताले बुझ्नु जरुरी हुन्छ र मानसिक समस्याहरु छिटो पहिचान गरि समाधानको बाटो पहिलाउनु आवश्यक छ।

चिकित्सक, मनोविमर्शकर्ता, मनोचिकित्सक या मनोविदसंँग सर‍-सल्लाह गर्नु एकदमै जरुरी हुन्छ। कतिपय अभिभावक वा हेरचाहकर्ताले बच्चाले बठ्याइँ वा उपद्रो गरेको बुझेर, ठिक पार्न गाली गर्ने, कुट्ने ,डर देखाउने गरेको पाइन्छ जुन सरासर गलत हो। कुट्ने र तर्साउने कार्यले समस्या हल हुनुको साटो झन् गम्भीर रुप लिन सक्छ।

प्रतिक्रिया