कविता : फाँसीमा झुन्डाए
अर्जुन पराजुली
२०८० साउन २० गते ९:५०

पीपलको रुख काटे यिनीहरूले
चौतारोमा सिमन्टीको रूख लाए !
जाँदा बाटो बढाउँछु भनेर गए
आउँदा बाटो मिचेर आए !
उत्थान गर्छ भने दलितको
उत्थान गरे, दलितलाई झन दलित बनाए !
जाँदा देशलाई केही गर्छ भनेर गए
गरे देश आफैलाई माने, गरेर भ्याए !
शहीदका सपना सफल बनाउँछ भने
बनाए, सपनालाई केक बनाए, जन्मदिनमा काटेर खाए !
यिनीहरूको नाम सुन्दा पनि
नाक थुनेर हिँड्नुपर्ने भयो बाटोमा
आज दिन यस्ता पनि आए !
मार्क्स,लेनिन,माओ,वीपी महाेदय
यिनीहरूले
तिमीहरूको फोटो आफ्नु घरको भित्तोमा झुन्डाए
र
तिमीहरूको सिद्धान्त फोटोभन्दा मुन्तिर
फॉसीमा झुन्डाए !!

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया