कीर्तिमानी आरोही हरिलाको सन्न्यास

नेपालखोज २०८० साउन २० गते २०:४४

काठमाडौं । कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे)ले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै आज ‘सन्न्यास’को घोषणा गरेकी छन् । पाकिस्तानमा रहेको ‘माउण्ट केटु’को सफल आरोहणसँगै नेपाली भूमिमा सन्न्यास लिनु उनका लागि सायद उपयुक्त समय पनि थियो । गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटुको आरोहणसँगै हरिला र शेर्पा गाइड तेन्जिन शेर्पाले कम समयमा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको कीर्तिमान कायम गरेकी थिइन् ।

यसअघि यो कीर्तिमान निर्मल पूर्जाका नाममा थियो । पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा उक्त कीर्तिमान कायम गरेका थिए । सन्न्यास घोषणाका क्रममा हरिलाको बोलीमा नेपाल र नेपालीप्रतिको सम्मान र माया प्रष्ट झल्कन्थ्यो । शनिबार विहान पाकिस्तानबाट कतार एयरलाइन्सको विमानमार्फत काठमाडौँ ओलर्नुभएका हरिला र शेर्पालगायत आरोहीलाई प्रंशसकहरुले भव्य स्वागत गरेका थिए । उनीहरुलाई बाजासहित विमानस्थलबाट चावहिल र लैनचौर हुँदै भृकुटिमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो ।

‘केही समयका लागि म आठ हजार मिटर अग्लो हिमाल चढ्न पनि सक्छु भन्ने पनि लाग्दैछ तर मैले मेरो काम पूरा गरिसकेकी छु’, नेपाल पर्वतारोहण सङ्घले गरेको सम्मान कार्यक्रममा उनले भनिन्, ‘सन्न्यासपछिको जीवन परिवारसँग बिताउने र नेपाल आइरहने बाचा गर्छु ।’

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने उनको अभियान गत अप्रिलमा चीनको सिसापाङ्गमा हिमाल आरोहणसँगै सुरु भएको थियो । उक्त लक्ष्य ९२औँ दिनमा माउण्ट केटुको आरोहणसँगै पूरा भएको छ । बयानब्बे दिनमै १४ वटा हिमाल चढ्न कति सहज भयो त ? सञ्चारकर्मीको जिज्ञाशामा हरिलाले भनिन्, ‘हिमाल आरोहण सहज वा गाह्रो कस्तो हुन्छ भन्ने त्यहाँको मौसम र परिस्थितिले निर्धारण गर्छ, गत वर्ष हिमाल आरोहण सहज थियो भने यसवर्ष भने बाक्लो हिउँ परेकाले केही अप्ठ्यारो पनि भयो ।’

हरिला र शेर्पाले प्राप्त गरेको सफलता पहिलो प्रयासमै प्राप्त भएको भने होइन । सन् २०२२ को अप्रिलमा पहिलो पटक कीर्तिमानका लागि प्रयास गर्नुभए पनि कोरोना भाइरसको महामारीलगायतले सफल हुन सकेको थिएन । पहिलो प्रयासमा १४ मध्ये १२ हिमाल मात्रै आरोहण गरेकी थिइन् । हरिलाको हिमाल आरोहणको यात्रा सन् २०१५ देखि सुरु भएको थियो । हरिला र शेर्पाको यो कीर्तिमानी आरोहणका पछाडि मुख्य भूमिका भने ‘सेभेन समिट ट्रेक्स’ले गरेको थियो । पर्वतारोहणमा अग्रणी यस कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले विश्वमा नेपालको पर्वतीय पर्यटनको प्रबद्र्धनमा शेर्पा समुदायको विशेष योगदान रहेको चर्चा गर्दै सरकारले पनि विशेष सहयोग गर्नुपर्नेमा जोड दिए ।

सम्मान ग्रहण गर्दै उनले आफ्नो सफलतामा साथ र हौसला दिने नेपाली सहहृदयी नागरिकप्रति विशेष धन्यवाद समेत दिइन् ।

आजको सम्मान कार्यक्रममा १७ वर्षको उमेरमा सगरमाथा र केटु हिमाल आरोहण गरी कान्छो आरोहीको कीर्तिमान बनाउने निमा रिन्जी शेर्पालाई पसिन पदक र कदरपत्र प्रदान गरिएको थियो । साथै सो अवसरमा केटु हिमाल आरोहण गर्ने एकै परिवारका चार आरोहीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पर्यटन विभागका निर्देशक राकेश गुरुङले मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सबै सरोकारवाला साझेदारिताका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया